आगोको निशानामा कर्णालीका विकट बस्ती
आगोले जलेको जुम्लाको तिला गाउँपालिका–७ मा रहेको गोठीगाउँ ।

जुम्लाको तिला गाउँपालिका–७ मा रहेको गोठीगाउँमा मंगलबार आगलागी हुँदा गाउँ नै सखाप भयो । माघ १३ गते साँझ साढे ५ बजेतिर लागेको भीषण आगलागीबाट ३० घर पूर्ण रुपमा र दुई घर आंशिक रुपमा जलेर नष्ट भए । आगलागीबाट सयौँ पशुचौपाय जलेका छन् । जुम्ला सदरमुकामदेखि झण्डै ५० किलोमिटर पश्चिममा पर्ने गोठीगाउँका स्थानीयहरु आगोले घर जल्दा विचलित भएका छन् । 

हिउँदको समयमा अत्यधिक चिसो हुने जुम्लामा उनीहरु अधिकांश खुला आकाशमुनि त्रिपाल टाँगेर बस्न बाध्य छन् । आगलागीबाट ३ करोडभन्दा बढीको क्षति भएको प्रहरीले बताएको छ ।  

यस्तै, गएको मंसिर १३ गते शनिबार कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुली गाउँको दलित बस्तीमा आगलागी हुँदा ३ वटा घर जलेर नष्ट भए । ३ घरका १३ परिवार विस्थापित भएका थिए भने ७६ लाखबराबरको क्षति भएको प्रहरीको मुचुल्कामा उल्लेख गरिएको थियो । स्थानीय बिउरी विकको धुवाँरहित फलामको चुल्होको पाइपबाट निस्केको आगोको झिल्को त्यसैसँग जोडिएको घरको काठ तथा खरको छानामा परेपछि आगलागी भएको प्रहरी रिपोर्टले देखाएको थियो । 

०७७ भदौमा हुम्लाको सर्केगार्ड गाउँपालिका–७ को रोडिकोटको एक गाउँमा आगलागी हुँदा ६ घर पूर्ण रुपमा जलेर नष्ट भएका थिए भने ७ घरमा आंशिक क्षति पुगेको थियो । आगलागीबाट झण्डै ६० लाखबराबरको क्षति भएको थियो । 

माथिका केही उदाहरण मुलक घटना मात्र हुन् । कर्णाली प्रदेशका विकट बस्ती बेला–बेलामा आगोको निशानामा पर्ने गरेका छन् । घरहरु जोडेर बनाइएका कारण एउटा आगलागी हुँदा गाउँ नै सखाप हुने गरेको छ । 



कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दिएको तथ्यांकअनुसार चालू आर्थिक वर्षको माघसम्ममा कर्णालीमा ४६ वटा आगलागीका घटनाबाट ७४ घर जलेर नष्ट भएका छन् । आर्थिक वर्ष ०७४–०७५ यता चार आर्थिक वर्षमा ६ सय ५ वटा आगलागीका घटना भएका छन् । त्यसबाट १९ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । एक सय ४० भन्दा बढी पशुचौपाय मरेका छन् । प्रहरीले यो तथ्यांक बढ्दै गएको बताएको छ । 

बर्सेनि अर्बौंको क्षति



यसरी बर्सेनि हुने आगलागीका घटनाबाट कर्णालीमा ठूलो जनधनको क्षति हुने गरेको छ । आर्थिक वर्ष ०७४–०७५ देखि ०७७–०७८ को माघसम्ममा आगलागीबाट एक अर्ब ७१ करोड ३१ लाख ११ हजार ४ सय १४ रुपैयाँको क्षति भएको प्रहरीको तथ्यांक छ । आर्थिक वर्ष ०७४–०७५ मा आगलागीबाट ८ करोड ६६ लाख ६४ हजार ७ सय रुपैयाँको क्षति भएको छ भने आर्थिक वर्ष ०७५–०७६ मा ४ करोड ६३ लाख ४२ हजार ९ सय ८० रुपैयाँ, आर्थिक वर्ष ०७६–०७७ मा एक अर्ब ५१ करोड ५६ लाख ४८ हजार ८ सय ७० रुपैयाँ र चालू आर्थिक वर्ष ०७७–०७८ मा ६ करोड ४४ लाख ५४ हजार ८ सय ६४ रुपैयाँको क्षति भएको छ । 

साविक कर्णाली अति प्रभावित

आगलागीबाट विशेष गरी साविकको कर्णाली अञ्चल धेरै प्रभावित भएको छ । साविक कर्णालीका जुम्ला, कालिकोट, हुम्लालगायत जिल्लामा धेरै मात्रामा आगलागीका घटना भएको पाइन्छ । स–साना काठले बनेका, खरले छाएका, एकैठाउँमा जोडिएका घर भएका कारणले पनि बेला–बेलामा आगलागीका घटना हुने गरेका छन् । कर्णालीमा धेरैजसो आगलागीका घटना हिउँदमा हुने गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एसपी माधवप्रसाद श्रेष्ठले बताए । 

‘साविक कर्णालीका जिल्लाहरुमा हिउँदको समयमा अत्यधिक मात्रामा आगलागीका घटना घट्ने गरेका छन्,’ एसपी श्रेष्ठले भने, ‘स–साना एकै ठाउँमा जोडिएका घर भएका कारण एउटा घरमा आगलागी हुँदा गाउँ नै सखाप हुने अवस्था छ । अहिलेसम्मको घटना हेर्दा खाना पकाउने क्रममा, गाई–बस्तुका लागि गोठमा बालेको आगोबाट धेरै आगलागीका घटना भएका छन् ।’ विकट जिल्लामा आगो नियन्त्रणमा लागि चाहिने सामग्रीहरु नहुनु र सडकको सुविधा नभएका कारण प्रहरी पुग्न दिनभर लाग्ने भएका कारण पनि धेरै क्षति हुने गरेको उनको भनाइ छ । 

कर्णालीका जिल्लामा आगलागीको जोखिम घटाउन प्रहरीले विभिन्न जनचेतनामूलक कार्यक्रम गरिरहेको उनले बताए । सरोकारवालासँगको सहकार्यमा विभिन्न चेतनामुलक कार्यक्रम भइरहेको उनको भनाइ छ । 

  • प्रकाशित मिति : माघ १७, २०७७ शनिबार १७:२५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया