मणि थापाले सुर्खेत पुगेर सम्झिए श्री ५ को सरकार !

काठमाडौं : पुस ५ गते प्रतिनिधिसभा विघटन भएसँगै नेकपा दुई समूहमा विभाजित छ। यसरी विभाजित हुँदा तत्कालीन एमालेका नेताहरु प्रचण्ड समूहतिर तत्कालीन माओवादीका नेताहरु ओली समूहतिर पुगेका छन्। यो अवस्थाले पछिल्लो समयमा भइरहेका कार्यक्रममा सम्बोधनका क्रममा नेताहरु  अल्मलिरहेका छन्। 

एक महिनाअघि सिन्धुपाल्चोकको एक कार्यक्रममा बोल्दै खेलकुद मन्त्री दावा लामाले हाम्रो अध्यक्ष प्रचण्ड भन्दै सम्बोधन गरेका थिए। माओवादी छाडेर ओली समूहमा लागेका उनले सम्बोधनका क्रममा 'हाम्रो अध्यक्ष प्रचण्ड' भन्दै सम्बोधन गरेपछि तत्कालै  सच्याएका थिए। उनले सच्याउँदै 'हाम्रो अध्यक्ष केपी ओली' भनेर सच्याएका थिए।

यसैगरी सुर्खेत पुगेका खानेपानी मन्त्रीको पनि शनिबार जिब्रो चिप्लिन पुगेको छ। सुर्खेतमा ओली पक्षको  कार्यक्रमलाई सम्बोधनको सुरुमै उनको जिब्रो  चिप्लिएर श्री ५ को सरकारलाई सम्झिए। अर्थात् उनले २०६२/६३ को जनआन्दोलन अघि कायम श्री ५ को सरकारलाई स्मरण गरे त्यो पनि झुक्किएर

उनले सम्बोधनको सुरुमा सुर्खेतका जनसमुदायहरूलाई स्वागत गर्दछु भने। त्यसपछि, 'सबैलाई म सम्मान गर्न चाहन्छु, जो मञ्चमा आशिन हुनुहुन्छ। यहाँ उपस्थित सुर्खेतका जनसमुदायहरूलाई नेकपा स्थायी कमिटी र श्री ५ को सरकारबाट स्वागत गर्न चाहन्छु', मञ्चमा बसेकाहरुले  गलत बोलेको भनेपछि उनले सच्याउँदै भने, 'ए सरी नेपाल सरकारको तर्फबाट।'

त्यसपछि उनले त्यहाँ उपस्थित हुनुपरेको कारणबारे बर्णन गरे। 'हामीलाई थाहा छ हामी किन यहाँ उपस्थित भयौँ। नेपालमा राजनीतिक क्रान्ति सकियो। सबै राजनीतिक क्रान्ति र आन्दोलनको अब मिनिङ छैन। २००७ सालदेखिको राजनीतिक क्रान्ति अब सकियो', उनले भने, 'अब आर्थिक क्रान्ति चाहिएको छ। नेपालीले देशमै रोजगार पाउनु पर्यो। राजनीति क्रान्तिको अर्थ अब जुलुस, हड्ताल बन्द गर्नुस्, बन्दुक बोक्नुस् तर देश चेन्ज भएन भने त्यसको कुनै अर्थ हुँदैन। प्रधानमन्त्री फेर्दैमा मात्रै केही हुँदैन।'



उनले नेपालमै रोजगारी नपाएसम्म, शान्ति सुरक्षा नपाएसम्म देश परिवर्तन भएको मान्न नसकिने बताए।  देशमै पढ्न नपाएर विदेशका स्कुल कलेज जानु पर्ने बाध्यता नहटेसम्म देश विकास भएको नमानिने उनले बताए। 



  • प्रकाशित मिति : माघ १७, २०७७ शनिबार १९:५१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया