नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएसँगै सुदूरपश्चिममा कसको पक्ष बलियो भन्ने चर्चा सुरु भएको छ । दुवै समूहले आ–आफ्नो शक्ति प्रदर्शन गरिसकेपछि कसको पक्ष बलियो बन्नेबारे राजनीतिकवृत्तमा चर्चा सुरु भएको हो ।
दुवै समूहले आ–आफ्नो बलियो उपस्थिति रहेको दाबी गर्दै आएका छन् । त्यसमा पनि प्रदेशमा ओली पक्षका नेता लेखराज भट्ट र प्रचण्ड–नेपाल पक्षका नेता भीम रावलमध्ये को बलियो भन्ने कुराले अझ व्यापकता पाएको छ ।
शनिबार प्रचण्ड–नेपाल पक्षको जनप्रदर्शनमा सोचेभन्दा बढी जनसभागिता देखिएपछि उक्त समूह उत्साहित देखिएको छ । सुदूरपश्चिमको जनसभागिता देखेर नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले सुदूरपश्चिमवासीलाई धन्यवाद दिए । प्रचण्डले भने, ‘विशाल उपस्थिति जनाएर ओलीलाई ‘फुच्चे’ बनाइदिएकोमा सुदूरपश्चिमका जनतालाई धन्यवाद छ ।’ धनगढीमा आयोजना गरेको भेलापछि ओलीको फुर्ती बढे पनि अहिले उनको घमण्ड तोडिएको दाबी गरे । प्रचण्डले धन्यवाद दिइरहँदा मञ्चमा बसेका प्रचण्ड–नेपाल पक्षका सुदूरपश्चिम इन्चार्ज भीम रावलको अनुहारमा मुस्कान छाएको थियो ।
नेता रावल धनगढीमा भएको विरोध प्रदर्शनकै लागि जनसभागिता जुटाउन हप्ता दिनदेखि यहाँ रहेका थिए । उनकै नेतृत्वमा शनिबार धनगढीमा र्याली निकालिएको थियो ।
जनप्रदर्शनका लागि नौवटै जिल्लाबाट नेता तथा कार्यकर्ता धनगढी पुगेका थिए । यातायात व्यवस्थापन समितिका संयोजक वीरमान चौधरीले आमसभामा सुदूरपश्चिमका नौ वटा जिल्लाबाट ७० हजारभन्दा बढी जनता सहभागी भएको दाबी गरे । प्रदेशका सबै जिल्लाबाट नेता–कार्यकर्ता एक दिन अघिदेखि नै धनगढी आउन सुरु गरेका थिए । अझै यातायातको समस्याका कारण सबैले आउन नसकेको प्रचण्ड–नेपाल समूहले जनाएको छ । धनगढीको खुलामञ्चमा कार्यक्रमको अन्तिम समयसम्म पनि बसबाट मानिस आई नै रहेका थिए । धनगढीको खुलामञ्च खचाखच भरिएपछि धेरै मानिस सडकमै उभिन बाध्य थिए ।
आफ्नो बलियो उपस्थिति रहेको भन्दै ओली पक्षले यसअघि पुस २४ मा जनप्रदर्शन गरेको थियो । सो समूहका सुदूरपश्चिम इन्चार्जसमेत रहेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जनसहभागिता देखाउन हदैसम्मको प्रयास गरेका थिए । ओली सरकारमा सुदूरपश्चिमबाट संघीय सरकारमा वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्ना छन् । ओली पक्षमा जनसहभागिता जुटाउन यी चार मन्त्रीसहित सोही समूहका प्रदेश अध्यक्ष कर्णबहादुर थापा पनि जुटेका थिए । पुस २४को कार्यक्रममा समूहको जनसभागिता देखेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षका नेता लेखराज भट्टलाई धन्वाद दिएका थिए ।
नेकपा ओली समूहले धनगढीमा आयोजना गरेको बृहत् आमसभामा कम्तीमा ४० हजार संख्यामा जनसहभागिता जुटाएको त्यतिबेला आकालन गरिएको थियो । यतिसम्म कि कतिपयले साविक एमाले वा एकीकृत नेकपाकै कुनै कार्यक्रममा पनि यति संख्या पुग्न नसकेको सहभागीको भनाइ थियो । नेता लेखराजले समेत सुदूरपश्चिममा कसको जनमत रहेको पुस २४ गतेको जनसभाले प्रमाणित गरेको भन्न भ्याएका थिए ।
माओवादी युद्धको पृष्ठभूमिबाट आएका भट्ट पहिले अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र मानिन्थे । पार्टी एकीकरणका बेला उनलाई कुनै पनि पद दिइएन । सुदूरपश्चिमको इन्चार्ज बनाइए, साविक एमालेका नेता भीम रावल । दाहालकै मनसायबाट रावललाई च्यापेर आफूलाई किनारीकृत गरिएको ठहरपछि उनी असन्तुष्ट थिए । त्यसको रिसले पनि उनी ओली पक्षमा गएको धेरैको बुझाइ छ ।
नेकपाको दुई समूह हुनुभन्दा पहिले पनि यहाँ नेता भीम रावल र लेखराज भट्टबीच समुधर सम्बन्ध हुन सकेको थिएन । दुई नेताको राजनीतिक धार पहिलेदेखि नै फरक देखिन्थ्यो । रावल ओलीका पहिलेदेखि कट्टर विरोधी देखिन्थे । दुई पक्षबीच आफ्नो पक्षमा कार्यकर्ता तान्न दुवै पक्षले विभिन्न प्रपञ्च गरेका छन् ।
शक्ति प्रदर्शनका लागि दुवै पक्षले पहाडी जिल्ल्लाबाट जनता ओसारेकै हुन् । धनगढीको खुलामञ्च दुवै पक्षले भरिभराउ गरे पनि स्वस्र्फुत रुपमा पनि अझै जनता सहभागी नभएको पनि धेरैको भनाइ छ । दुवै पक्षले आफ्नो पक्षमा जनता बढी भएको दाबी गरे पनि कसको पक्षमा बढी छन् भन्ने बुझ्नका लागि भने निर्वाचन नै पर्खिनुपर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।