हतियारको अपराध : सजिलै नेपाल आइपुग्छन् अमेरिकन र चिनियाँ पेस्तोल
प्रहरी अपरेसन रिभ्यू हुनुपर्छ : पूर्व डिआइजी हेमन्त मल्ल

नेपालमा अत्याधुनिक हतियार प्रयोग बढ्दै गएको छ। ‘होम मेड’ हतियारसँगै विदेशी हतियारको पनि प्रयोग बढ्दै गएको हो। दुई वर्षयता प्रहरीले बरामद गरेका विभिन्न हतियारमध्ये अमेरिकन र चिनियाँ पेस्तोलसमेत बरामद गरेको तथ्यांक छ। 

काठमाडौं प्रहरीले यही बुधबार राजधानीबाट एक थान पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गर्‍यो। काठमाडौं महानगरपालिका वडा नम्बर २६ स्थित टिफिन रेष्टुरेण्ट नजिकैबाट सिन्धुपाल्चोक मेलम्ची नगरपालिका निवासी कृष्ण चौलागाई पक्राउ परे। 
विशेष सूचनाका आधारमा प्रहरीले उनलाई राजधानीमा पेस्तोल बोकेर  हिँडिरहेका उनलाई पक्राउ गरेको थियो। यो घटनाको ठीक एक दिनपछि अर्थात बिहीबार जनकपुर प्रहरीले एउटा भरुवा बन्दुक बरामद गर्यो। धनुषाधाम नगरापालिका–९ थाकलघारीबाट प्रहरीले भरुवा बन्दुक बरामद गरेको जनाएको छ। 

जंगली जनावर मार्न पासो थापेको बन्दुक पड्केर एकजना घाइते भएको प्रहरीले थाहा पाएपछि खोजी गर्दै जाँदा प्रहरीले भरुवा बन्दुक बरामद गरेको थियो। 

पछिल्लो समय साना हतियार काठमाडौं र जनकपुरबाट मात्रै नभइ अन्य ठाउँबाट पनि उत्तिकै बरामद भइरहेको छ। यी दुई ठाउँबाट बरामद भएका उदाहरण मात्रै हुन्। प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार पछिल्लो तीन वर्षमा साढे पाँच सयभन्दा बढी हतियार बरामद भएका छन्। 

कुन वर्षमा कति ?
आर्थिक वर्ष ०७५/०७६ देखि ०७७/०७८ सम्ममा ५५८ वटा विभिन्न खाले हतियार बरामद भएको तथ्यांक प्रहरीसँग छ। नेपालमा हतियार बरामद हुने क्रम प्रत्येक वर्ष बढ्दो क्रममा छ। 

प्रहरी प्रधान कार्यालयको आँकडा अनुसार आर्थिक वर्ष ०७५/०७६ मा १ सय ४८, ०७६/०७७ मा २ सय ८४ र चालू आर्थिक वर्षको पाँच महिनामै १ सय २६ वटा विभिन्न हतियार बरामद भएका छन्। 



प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष ०७५/०७६ सम्म पेस्तोलसम्मका अवैध हतियार बरामद भएको देखिन्छ। यो वर्षसम्म नेपालमा पेस्तोल, रिभल्वर, कटुवा, बन्दुक र भरुवा बन्दुक मात्रै बरामद हुने गरेको प्रहरी तथ्यांक छ। 

भरुवा बन्दुक बढी



यो तथ्यांकमा सबैभन्दा बढी भरुवा बन्दुक बरामद भएको देखिन्छ। आर्थिक वर्ष ०७५/०७६ देखि ०७७/०७८ सम्ममा ३६० वटा भरुवा बन्दुक बरामद भएका छन्। बरामद अन्यको तुलनामा झण्डै दुईतिहाइ भरुवा बन्दुक बरामद भएका छन्। आर्थिक वर्ष ०७५/०७६ मा ८९, ०७६/०७७ मा १६९ र ०७७/०७८ मंसिर मसान्तसम्म १०२ भरुवा बन्दुक बरामद भएको प्रहरी तथ्यांक छ।     

१८ अमेरिकन र चिनियाँ पेस्तोल

आर्थिक वर्ष ०७६/०७७ देखि भने नेपालमा अत्याधुनिक हतियार पनि भित्रिन थालेको प्रहरीसँग  तथ्यांक छ। यो वर्षदेखि नेपालमा अमेरिकन र चिनियाँ पेस्तोल भित्रिएका छन्। यो वर्षमा मात्रै प्रहरीले अमेरिकन पेस्तोल १५ वटा र २ वटा चिनियाँ बरामद गरेको छ। त्यसैगरी ०७७/०७८ को मंसिर मसान्तसम्म प्रहरीले अमेरिकन पेस्तोल एक थान बरामद गरेको छ  । यो आँकडाले विदेशी हतियार भित्रिरहेको पुष्टि गरेको छ। 

पछिल्लो दुई वर्षमा अमेरिकन पेस्तोल १६ वटा र चिनियाँ पेस्तोल २ वटा बरामद भएको प्रहरी तथ्यांक छ। तर यही दुई वर्षको अवधिमा यी दुवै बन्दुकमा प्रयोग हुने गोली ४१ वटा बरामद भएको छ। 

प्रहरी मुख्यालयको आँकडा अनुसार अमेरिकन पेस्तोलमा प्रयोग हुने गोली  ३० वटा र चिनियाँ पेस्तोलमा प्रयोग हुने गोली ११ वटा बरामद भएको छ। यो तथ्यांक केलाउँदा बरामद भएको हतियार दोब्बरभन्दा बढी गोली बरामद भएको देखिन्छ। 

प्रहरी यसो भन्छ
मुलुकभित्र घरेलु तथा विदेशी हतियार बरामद हुने क्रम बढे पनि प्रहरी प्रधान कार्यालयले भने फरक कुरा गरेको छ। प्रहरी प्रधान कार्यालयका प्रवक्ता वसन्त कुँवरका अनुसार यो आँकडा प्रहरीको गतिशीलता कारण बढेको हो। 

विभिन्न अप्रेशनमा प्रहरी सक्रिय भएपछि यी हतियार बरामद हुने गरेको उनी बताउँछन्। यसको अलावा खुल्ला सिमानाका कारण पनि मुलुकभित्र सजिलै विदेशी हतियार भित्रिने गरेको उनी बताउँछन्। 

यता एक पूर्व प्रहरी अधिकारी सजिलै छिटो पैसा कमाउने लोभले मुलुकमा हतियारको अपराध बढेको अनुभव सुनाउँछन्। पूर्व डिआइजी हेमन्त मल्लले बरामद हतियारको अप्रेसन ‘रिभ्यू’ गर्नुपर्ने सुझाउँछन्। उनी भन्छन्, ‘यो हो के? किन यस्तो भइरहेको छ? सबै जान्नका लागि अप्रेसन रिभ्यू गर्नुपर्ने जरुरी छ।’       

  • प्रकाशित मिति : माघ १८, २०७७ आइतबार ६:५३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया