प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले ५ पुसमा संसद विघटन गरेपछि यो पार्टीमा दुई चिरा देखिएको छ । ओली समूह र प्रचण्ड–माधव समूह त्यसपछि एक अर्कालाई आरोपप्रत्यारोपमा व्यस्त हुन थालेका छन् ।
संसद विघटन भएलगत्तै देशका विभिन्न ठाउँमा दुवै समूहले कार्यक्रम गर्दै आएका छन् । यी कार्यक्रमहरुमा सम्बोधन गर्न कहिले प्रधानमन्त्री ओली र प्रचण्ड–माधव समूहका अध्यक्षहरु माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड दैनिक विभिन्न जिल्लामा पुगिरहेका छन् ।
यहीबीच धनगढीमा शनिबार आयोजित कार्यक्रममा पुगेका नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डले संसद विघटन नभएको बताएका छन् । उनले केपी ओलीको सरकार चाहिँ विघटन भएको तर्क गरेका छन् । ‘संसद विघटन भएको छैन,’ कार्यक्रममा प्रचण्डले भने, ‘केपी ओलीको सरकार विघटन भएको हो ।’
कार्यक्रममा उनले अहिले अदालतमा यो विषयमा मुद्दा नचलेको भए आफूहरुले संसद अधिवेशन बोलाउने र यसमा आफूहरुलाई अरु दल नेपाली काङ्ग्रेस, जनता समाजवादी पार्टीले पनि साथ दिने निश्चित रहेको बताएका छन् । साथै, उनले सुदूरपश्चिममा आफ्नो पक्षमा अधिकांश नेता रहेको पनि कार्यक्रममा दाबी गरेका छन् ।
सुदूरपश्चिमका नेता लेखराज भट्ट पछिल्लो समय नेकपामा ओली समूहमा छन् । यही कारण पनि प्रचण्डले अहिले पनि सुदूरपश्चिमका अधिकांश नेता आफ्नो पक्षमा रहेको दाबी गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।