खानेपानी तथा सरसफाई मन्त्री मणि थापाले श्री ५ को सरकार भनेकोमा माफी मागेका छन् । शनिबार पार्टीको कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले नेकपा स्थायी समितिको तर्फबाट साथै श्री ५ को सरकारका तर्फबाट पनि आभार प्रकट गर्दछु भनेका थिए। सँगै बसेका अर्का व्यक्तिले सम्झाएपछि नेपाल सरकार भनेर सच्याएका थिए ।
आइतबार बिहान फेसबुकमा लेख्दै मन्त्री थापाले आफूले भुलबस त्यसो भनेको र तत्काल सच्चाइएको स्पष्टिकरण दिएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आइतबार सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा मन्त्री थापाले श्री ५ को सरकार भनी उच्चारण गरेका हुन् ।
‘मेरो पूरै राजनीतिक जीवन क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु’ थापाले फेसबुकमा लेखेका छन्, ‘भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु।’
आम नेपाली नागरिक, शुभचिन्तक र पार्टीका नेता कार्यकर्ताहरूलाई दुविधामा नपर्न थापाले आग्रह गरेका छन्।
झुक्किएर श्री ५ सरकार उच्चारण गरेपछि मन्त्री थापालाई सामाजिक सञ्चालमा अहिले उडाइरहेका छन्। प्रतिनिधिसभा विघटन गरी निरंकुशताको बाटोमा लागेका ओलीलाई आफ्नै मन्त्रीले श्री ५ ठान्न थालिसकेको भन्दै धेरैले व्यंग्य गरिरहेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।