logo-img

माइतीघर धर्ना : प्रचण्डको खुट्टो सूर्य चिन्हमाथि, हिन्दु राज्यको डर, सरकार पाकेको फल
ओलीले माघ २३ मा कुनै अप्रिप कदम चाल्ने अनुमान

आइतवार मध्यान्ह १२ बजे माइतीघर मण्डलमा नेकपा दाहाल-नेपाल समूहको धर्ना कार्यक्रम थियो। पुस ५ को संसद विघटनविरुद्ध आयोजित धर्ना कार्यक्रममा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित सहभागी भए। धर्नामा वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी थिए। 

धर्ना कार्यक्रममा माइतीघरको  सडकमै आयोजना गरिएको थियो। उक्त धर्ना कार्यक्रममा सुरुमा अध्यक्ष प्रचण्ड आइपुगे। त्यसबेलासम्म प्रवक्ता नारायणकाजी श्रेष्ठले सडकमा बस्न उनका लागि कार्टुन ओछ्याइदिएका थिए। आफ्नो दाहिनेतर्फ प्रचण्डका लागि आसन बनाएर नारायणकाजी बसिसकेका थिए। 

त्यस अवस्थामा निलो ज्याकेटमा सजिएका प्रचण्ड पछाडिबाट आएर नारायणकाजीको दाहिनेतर्फ पलेँटी कसेर धर्नामा बसे। उनै अगाडिको भुइँमा सेतो कपडामा रातो रंगले कोरिएको सूर्य चिन्ह अंकित झण्डा ओछ्याइएको थियो। उनी कार्टुनमाथि पलेँटी कसेर बसेपछि उनको देब्रे खुट्टो सूर्य चिन्ह अंकित झण्डामाथि पर्न पुग्यो। 



सूर्य चिन्ह आफूहरुले पाउनै पर्ने दाबी गर्दै आएका प्रचण्डलाई आफ्नो खुट्टो उक्त झण्डामाथि परेको थाहा पाएर या अरु कसैले भनेर उनी तत्कालै हर्कतमा आए। सूर्य चिन्ह अंकित झण्डामाथि उनको दाहिने खुट्टाले कुल्चिरहेको थियो। कालो छालाका जुत्ता लगाएको खुट्टाले केही बेर कुल्चिरहेका उनले त्यसपछि झण्डालाई त्यहाँबाट हटाए। खुट्टाले कुल्चिएको झण्डालाई हटाउँदै उनले आफ्नो सामुन्ने भुइँमा ओछ्याए। 

प्रचण्ड पलेँटी कसेर बसिसकेको केही समयपछि अर्का अध्यक्ष माधवकुमार नेपाल आइपुगे। रत्नपार्कको सडकमा सोफामाथि बसेर विरोधसभा गरेका दाहाल-नेपालले त्यहाँ कार्टुनमाथि नै बसेर कार्यकर्तालाई पनि साथ दिए। धर्नामै दुई अध्यक्षबीच बेला बेला भलाकुसारी पनि भइरहेको थियो। 



ओलीको दिनगन्ती

धर्ना कार्यक्रममै वरिष्ठ नेता झलनाथ खनालले पनि पत्रकारहरुसँग आफ्ना कुरा राखे। खनालले त्यसक्रममा प्रधानमन्त्री ओलीको दिनगन्ती सुरु भइसकेको बताए। वरिष्ठ नेता खनालले प्रतिनिधि सभा पुनःस्थापनाको विकल्प नभएको पनि उल्लेख गरे। 
'नेपाली जनताले प्राप्त गरेका अधिकार र संविधानको रक्षाको निम्ति संसद पुनर्स्थापना गर्नुपर्छ', उनले भने। खनालले प्रधानमन्त्री ओली फेल भइसकेको पनि बताए।  'प्रधानमन्त्री ओली फेल भइसकेका छन्। उनको दिनगन्ती शुरु भइसकेको छ', उनले भने, 'अब सरकार पाकेको फलझैँ झर्ने निश्चित छ।'



हिन्दु राज्यका कुरा 

त्यही धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै दाहाल-नेपालका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओलीमाथि शंकाको गम्भीर तीर हाने। पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले माघ २३ गते हिन्दु राष्ट्र घोषणा गर्न सक्ने दाबी गरे। प्रतिनिधिसभा विघटनविरुद्ध आइतवार माइतीघर मण्डलमा आयोजित दाहाल-नेपाल समूहको धर्ना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

‘यही माघ २३ गते नै ओलीले हिन्दू राष्ट्र घोषणा गर्छन् भन्ने चर्चा चल्दैछ', उनले सम्बोधनका क्रममा भने, 'प्रधानमन्त्री ओलीले यो गर्न सक्छन्।’ पाण्डेले ओली पक्षको जनसभामा राजावादीहरू सहभागी हुन लागेको दाबी गरे। 

‘ओलीको कदमले दक्षिणपन्थीहरू खुशी भएका छन्, उनीहरू ओलीजस्ता राजनेता कोही छैनन् भन्दै छन्', उनले भने, 'हिजो ऋषि देवकोटा आजादको हत्या गर्नेहरु नै ओलीको प्रशंसा गरिरहेका छन्। मैले सुनेको हुँ-२३ गतेको कार्यक्रममा राजावादी पनि उर्दी जारी गरेर सहभागी हुँदैछन्।’

पाण्डेले प्रधानमन्त्री ओली हिन्दु राज्य बनाउने प्रयासमा लागेको बताउँदै संविधान मार्ने कुचेष्टा गरेर गलत बाटोमा लागेको पनि उल्लेख गरे। उनले सम्बोधनका क्रममा नेपाली जनताले प्रतिगामी कदम परास्त गर्ने पनि दाबी गरे।

ओलीको प्रदर्शन 

नेकपा ओली पक्षले यही माघ २३ गते नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि जनसभा गर्ने सन्दर्भमा नेता पाण्डेको भनाइलाई अर्थपूर्ण मानिएको छ। नेपालमा राजतन्त्र र हिन्दु राज्यको बहस बढिरहेका बेला ओली पक्षले नारायणहिटी दरबार अगाडि नै आमसभा गर्दैछ। 

नेकपा ओली पक्षका बागमती प्रदेश संयोजक आनन्द पोखरेलले २३ गतेको आमसभा नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि गर्न लागिएको बताइसकेका छन्। यसो गर्नुमा शंका गर्ने कारण नरहेको बताउँदै उनले त्यस क्षेत्रमा फराकिलो सडक भएकाले रोजिएको जिकिर गरे। 

नारायणहिटीमै किन ? 

पोखरेलले नारायणहिटी अगाडि आमसभा गरिनुपर्नेका दुई-तीन कारण दिए। 'नारायणहिटी अगाडि गर्नुपर्ने कारण त्यस्तो केही होइन, यसलाई विशेष अर्थ लगाएर व्याख्या गर्नु जरुरी छैन', उनले भने, 'नारायणहिटी अगाडिको क्षेत्रमा आमसभा गर्दा उपस्थित भएका जनतालाई बस्ने र उभिने ठाउँ प्रशस्त छ।'

उनले आमसभाका लागि कयौँ विकल्पबारे सोचिएको पनि बताए। 'हामीले रत्नपार्कबारे सोच्यौँ तर त्यहाँ गर्दा उपत्यकाको ट्राफिक अस्तव्यस्त हुने देखियो। सैनिक मञ्चमा राजनीतिक कार्यक्रम गर्नु भएन। खुलामञ्चको अवस्था हामीलाई थाहै छ', उनले थपे, 'भृकुटीमण्डपमा गर्दा पनि ट्राफिक व्यवस्थापन बिग्रिने देखियो।'

उनले दुई लाख मानिस २३ गते उतार्न लागिएको बताए। 'दुई लाख मानिस अट्ने ठाउँको खोजी गर्दा उपयुक्त विकल्प त्यही लाग्यो', उनले भने, 'नारायणहिटी दरबारदेखि घण्टाघर, सञ्चयकोष र जय नेपाल हलसम्मको क्षेत्रलाई हामीले कार्यकर्ता राख्न प्रयोग गर्दैछौँ।'

ओलीको धर्म कार्ड

प्रधानमन्त्री शनिबार मात्रै हिन्दु मतदाताको ध्यान खिच्ने गरी चितवनमा भगवान राम कार्ड ओलीले भगवान रामको जन्मभूमि चितवनको अयोध्यापुरी नै भएको कुरा फेरि दोहोर्‍याएका थिए। भरतपुरमा शनिबार आयोजित आफूपक्षीय जनसभालाई सम्बोधनका क्रममा ओलीले भगवान रामको जन्मभूमि चितवनको अयोध्यापुरी नै भएको कुरा राखेका थिए।

उनले भगवान रामको जन्मभूमि नेपालमै भएको कुरा बोल्न दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गाह्रो भएको पनि टिप्पणी गरे। 'रामको जन्म अयोध्यापुरीमा भएको कुरा बोल्न किन डराएको होला?', उनले प्रचण्डप्रति लक्षित गर्दै भनेका थिए, 'मयूरको प्वाँख लाउँदैमा कुन्नि के चरो मयूर हुँदैन भनिन्छ। त्यस्तै उहाँ (प्रचण्ड) यसबारे बोल्न सक्नु हुन्न। उहाँको राष्ट्रवाद हामीले देखिसकेका छौं।'

अयोध्यापुरीलाई रामको जन्मभूमिका रुपमा स्थापित गर्न सरकारले मास्टर प्लान बनाइसकेको पनि जानकारी दिएका थिए। 'अयोध्यापुरी विकासका लागि मास्टर प्लान बन्दैछ', उनले भनेका थिए, 'यो साल सकिएन, अर्को साल हामी राम जन्मभूमि अयोध्यापुरीमा प्राण प्रतिष्ठा गर्ने छौँ।'

पशुपति दर्शन 

ओली यही १२ माघमा पशुपतिनाथ पुगेका थिए। पशुपतिनाथको दर्शनलाई अप्रत्याशित मान्न नसकिने हिन्दु धर्मका अभियन्ताहरु बताएका थिए। पशुपति दर्शनको चर्चा सेलाउन नपाउँदै उनले चितवन पुगेर अर्को धार्मिक कार्ड फ्याँके। 

प्रधानमन्त्री ओलीले माघ १२ मा पशुपति मन्दिरको दर्शन मात्रै गरेनन् लाखबत्तीसहित पूजा पनि गरे। पत्नी राधिकासहित सल्लाहकार राजन भट्टराई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल र काठमाडौं प्रमुख जिल्ला अधिकारीसहित सोमबार बिहानै पशुपति पुगेका ओलीले दर्शन र पूजा गरेका थिए।

प्रतिक्रिया 

हिन्दु राज्य र राजतन्त्र पुन:स्थापना अभियान चलाइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका एकजना नेता मोहन श्रेष्ठ प्रधानमन्त्रीको पशुपतिनाथ यात्रासहितको धार्मिक गतिविधिलाई सकारात्मक मानेका छन्। उनले प्रधानमन्त्री श्रीमतीसहित पशुपतिनाथ जानुलाई धार्मिक आस्था भनेका छन्।

प्रधानमन्त्रीको पशुपति यात्रा र धार्मिक गतिविधिलाई पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिव डा. गोविन्द टण्डनले अहिलेको राजनीतिक संकटसँग पनि जोडेर हेरेका छन्। 'संसद विघटन गरेर देशमा नयाँ चुनावको मिति घोषणा भइसेको छ। तथापि उहाँ पनि चर्को घेराबन्दीमा पर्नु भएको छ। अहिलेको संकटपूर्ण राजनीतिक माहोलमा उहाँले पशुपति पुगेर शक्ति आर्जनका लागि पूजा गर्नु भएको हो', उनले भने, 'म धर्म पनि मान्छु, संस्कृति पनि मान्छु भनेर उहाँले यसलाई चुनावी एजेन्डा पनि बनाउनु खोज्नु भएको छ। अदालतले सरकारको पक्षमा निर्णय गरिदियो भने हिन्दु धर्म चुनावी एजेन्डा बन्ने अवस्था आउन सक्छ।'

उत्साह

ओलीको धार्मिक गतिविधि र धार्मिक कार्डलाई लिएर राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी र हिन्दुवादीहरु उत्साहित भएका छन्। राजतन्त्र र हिन्दु राज्य पुन:स्थापनाको पक्षमा लागिरहेको राप्रपाले पुस ५ मा भएको संसद विघटनको विरोधमा भन्दा पनि यी दुई एजेन्डालाई लिएर कार्यक्रम गरिरहेको छ।

राप्रपा अध्यक्ष कमल थापा यी दुई एजेन्डामै केन्द्रित भएर कार्यक्रममा सहभागी भइरहेका छन्। उनले आफ्ना भौतिक उपस्थिति र भर्चुअल बैठकमा पनि नेता कार्यकर्तालाई पनि हिन्दु राज्य र राजतन्त्रको पक्षमा माहोल बनाउन हौस्याइरहेका छन्। 

एक/डेढ महिना अघि देशमा ठूला सहरमा राजतन्त्रको पक्षमा प्रदर्शन पनि भए। नागरिकस्तरमा भएका ती प्रदर्शनलाई राप्रपाले क्यास गर्दै आन्दोलन चर्काउने निर्णय गरेको थियो। तर पुस ५ मा संसद विघटन भएसँगै नेकपाको एउटा पंक्ति सडकमा पुगेकाले उनीहरुको आन्दोलन सेलाएको छ। पछिल्लो समय प्रधानमन्त्री ओलीले लगातार धार्मिक कार्ड फ्याकिरहेपछि राप्रपा र अन्य हिन्दुवादी-राजावादीहरु फेरि जुरमुराउन थालेका छन्। 

माइतीघरमा धर्नाका तस्बिर

 

  • प्रकाशित मिति : माघ १८, २०७७ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया