चीनले पनि दिने भयो तीन लाख डोज कोरोना खोप

उत्तरी छिमेकी चीनले पनि नेपाललाई कोरोनाविरुद्धको तीन लाख डोज भ्याक्सिन उपलब्ध गराउने भएको छ। काठमाडौंस्थित चिनियाँ दूतावासले अनुदानस्वरुप ३ लाख डोज खोप उपलब्ध गराइने जनाएको छ। उक्त खोप एक लाख ५० हजार नेपालीलाई लगाउन पुग्ने जानकारी पनि दूतावासले दिएको छ।

दूतावासले देशभित्र र विश्वभर खोपको चर्को माग भइरहेका बेला नजिकको छिमेकीलाई उक्त डोज बराबरको खोप अनुदानमा उपलब्ध गराइएको जनाएको छ। नेपाल असल छिमेकी मित्र रहेको जनाउँदै दूतावासले भूकम्प र कोरोना महामारी जस्ता चुनौतीको दुवै देश मिलेर सामना गर्दै आएको पनि बताएको छ।

चीनले अनुदानमा दिएको उक्त खोप सिनोफर्मले विकास गरेको हो। उक्त खोपले चीनमा स्वीकृति पाइसकेको छ। चीनले आफ्ना नागरिक र सेनाहरूलाई उक्त खोप लगाइरहेको छ। दुई खुराक इनोकुलेसन प्रक्रियापछि खोपले कोरोनाविरुद्ध ७९.३४ प्रतिशत प्रभावकारी काम गर्ने बताइएको छ। एन्टिबडी विकसित गर्ने सेरोक्रोनस दर ९९.५२ प्रतिशत पुगेको छ।

हालसम्म उक्त खोपले पाकिस्तान, युएई, इजिप्ट, हंगेरी जस्ता देशहरूमा आपतकालिन प्रयोगको लागि अनुमति पाइसकेको छ। चिनियाँ दूतावासले आपतकालीन प्रयोग र खोप प्राप्तिका लागि दर्ता गर्नेबारे नेपाली अधिकारीसँग समन्वय भइरहेको जनाएको छ।

‘यो खोप नेपालमा कोरोनाविरुद्ध लड्न चाँडोभन्दा चाँडो पुर्‍याउन चाहन्छौं। यसले महामारीविरुद्धको लडाइँ जित्न सहयोग पुग्नेछ', दूतावासले भनेको छ, 'चिनियाँ पक्ष सबैका लागि स्वास्थ्य समुदाय निर्माण गर्न दुवै पक्षको विकास र समृद्धिको लागि चिरस्थायी मित्रता रहेको रणनीतिक साझेदारीलाई थप सुदृढ र बढावा दिन मिलेर काम गर्न तयार छ।

यसअघि भारतले नेपाललाई १० लाख डोज कोभिशिल्ड खोप दिएको थियो। उक्त खोप फ्रन्टलाइनमा स्वास्थ्यकर्मीसहित करिब ४ लाख जनालाई लगाउन पुग्ने छ। 





  • प्रकाशित मिति : माघ १८, २०७७ आइतबार २०:६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया