म्यानमारको सेनाले सुकीसहितका नेतालाई रिहा नगरे कारबाही गर्ने  बाइडेनको चेतावनी
फाइल तस्बिर

अमेरिकाले म्यानमारमा सेनाले चालेको कदमको विरोध गरेको छ । म्यानमारमा सोमबार बिहानै सेनाले शासन सत्ता आफ्नो हातमा लिएर उच्च पदस्थ नेताहरुलाई गिरफ्तार गरेको छ । 

सेनाको उक्त कदम जनमत विरोधी भएको र राजनीतिक संक्रमणको अवस्था लम्बिए अमेरिकाले हस्तक्षेप गर्ने राष्ट्रपति जो बाइडेनले चेतावनी दिएका छन् । बाइडेनले उक्त घटनामा संलग्नहरुलाई कारबाहीको चेतावनी दिएको हो । 

म्यानमारका जनताले दिएको मतको अवहेलना हुन नहुने अमेरिकाको तर्क छ । उसले अहिलेको चुनावी शक्तिमा फेरबदल गर्ने तथा जनमत नमाने अवस्थामा कारबाहीको चेतावनी दिएको हो ।

केही समययता त्यहाँ सरकार र सेनाबीच विवाद बढेको थियो । त्यही विवादका कारण म्यानमारमा सैन्य कू भएको बताइएको हो ।

यही विवादबीच सुकीलाई गिरफ्तारी गरेकाले म्यानमारमा सेनाको निकै ठूलो आलोचना पनि सुरु भएको बिबिसीले जनाएको छ । गत नोभेम्बरमा भएको निर्वाचनमा नेसनल लिग फर डेमोक्रेसी पार्टीले प्रचण्ड बहुमतका साथ जित निकालेको थियो ।

तर, सेनाले यो निर्वाचनमा धाँधली भएको बताउँदै आएको थियो । 



यसअघि सेनाले सोमबार हुने भनिएको म्यानमारको संसद बैठक पनि स्थगित गर्न आह्वान गर्दै आएको थियो ।

समाचार एजेन्सी रोयटर्सलाई नेसनल लिग फर डेमोक्रेसी पार्टीका प्रवक्ताका अनुसार सुकी मात्र होइन, सेनाले त्यहाँका राष्ट्रपति विन मिन्ट र अन्य नेताहरुलाई पनि हिरासतमा लिएको छ ।



उनले अन्य नेताहरुलाई पनि हिरासतमा लिन सकिने आशंका जनाएका छन् । 

बिबिसीका अनुसार अहिले म्यानमारका विभिन्न सहरमा सेनाहरु सडकमा निस्किएका छन् । त्यहाँ टेलिफोन र इन्टरनेट सेवाहरु काटिएका छन् ।

८ नोभेम्बरमा भएको निर्वाचनमा सुकीको पार्टीले ८३ प्रतिशत मत ल्याएको थियो । यसलाई सुकीको सरकारका लागि जनमतसंग्रहका रुपमा समेत लिइएको थियो । 

सन् २०११ मा त्यहाँ सैनिक शासन अन्त्य भएपछि भएको यो दोस्रो निर्वाचन थियो ।

तर, त्यहाँको सेनाले यो निर्वाचनमा धाँधली भएको भन्दै सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेको थियो । यो मुद्दा त्यहाँका राष्ट्रपति तथा निर्वाचन आयोगका प्रमुख आयुक्तविरुद्ध जारी गरिएको थियो । दुवैले यो अस्वीकार गर्दै आएका छन् ।

म्यानमार स्वतन्त्रताका नायक मानिने आङ साङकी छोरी हुन्, आङ साङ सुकी । बेलायती उपनिवेशबाट म्यानमार सन् १९४८ मा स्वतन्त्र हुनुभन्दा केहीअघि मात्र आङ साङको हत्या गरिएको थियो । त्यति बेला सुकी दुई वर्षकी मात्र थिइन् ।

सन् १९९१ मा सुकीलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो । उनी त्यति बेला पनि नजरबन्दमा रहेकी थिइन् ।

  • प्रकाशित मिति : माघ १९, २०७७ साेमबार ९:५६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया