बख्तरबन्द गाडीसहित सेनाको अभ्यास : माघ १९ संयोग मात्रै
सैनिक प्रवक्ता भन्छन् : नियमित अभ्यास हो, शंका नगर्नू

आज माघ १९ अर्थात तत्कालीन राजाले ‘कु’ गरेको दिन। यो दिनलाई नेपाली इतिहासमा नबिर्सिने कालो दिनको रुपमा लिइन्छ। २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले सैनिक शासनसहित कू गरेका थिए।  

राजा ज्ञानेन्द्रले गद्दीबाट झरेर सैनिक शासनसहित आफैँले कार्यकारी अधिकार लिएका थिए। कू सँगै सेना खटाएर नागरिक स्वतन्त्रतामाथि लगाम लगाएका राजाले मिडिया हाउसमा पसेर सञ्चारकर्मीमाथि कडा निगरानी गर्न लगाएका थिए। त्यसबेला उनको कदमको विरोधमा उत्रिने धेरैलाई नजरबन्द गरिएको थियो। 

त्यहीकारण यो दिनलाई नेपालको इतिहासमा लोकतन्त्र पक्षधरहरुले कालो दिनका रुपमा लिन्छन्। राजालाई सत्ता सुम्पिन भूमिका खेलेकाले अहिले पनि सेनाप्रति नागरिकको नजरमा शंकास्पद दृष्टि कायमै छ। त्यही बेलादेखि सेनाका हरेक गतिविधिलाई नागरिक गम्भीर चासोसहित हेर्छन्। अझ अहिलेको जस्तो राजनीतिक अस्थिरताका बेला सेनामै धेरैका ध्यान गएको हुन्छ।

मुलुकमा राजनीतिक उतारचढाव भएको समय सेनाले केही गर्न सक्ने शंकासहित नागरिकहरूमा चिन्ता छाइरहेको हुन्छ। राजनीतिक तथा शासकीय उथलपुथल हुँदा विगतमा निरंकुशतालाई सघाएका कारण सेनामाथि नागरिकको सन्देहास्पद नजर बनेको हो।

माघ १९ को साइत किन?



मुलुकमा राजनीतिक अस्थिरता हुँदा माघ १९ लाई सम्झेर विभिन्न टिप्पणी गर्ने गर्छन्। प्रतिनिधिसभा विघटनपछिको राजनीतिक जटिलताका कारण अहिले झन् यस्ता कुरामा बल मिलेको छ। प्रधानमन्त्री केपी शर्मा ओली समूहको सभा यही माघ २३ मा नारायण हिटी अगाडि तय, सेनाको बख्तरबन्द गाडी चक्रपथमा निकाल्ने कुरा आइतवार एकै दिन सार्वजनिक भएपछि अनेक अनुमान भइरहेका छन्। 

राजनीतिक अस्थिरताको यो बेला माघ १९ लाई नै साइत मानेर सेनाले बिरलै गरिने बख्तरबन्द गाडी र हतियारसहित ‘रिङ रोड’ परिक्रमाले अनेक प्रश्न जन्माएका छन्। 
सेनाको यो कार्यक्रमले अनेक शंका पैदा गरेको छ। चिया पसलदेखि घरघरमा सन्देहको नजरले चर्चा भइरहेको छ। सेनाले यही बेला नै यो दुर्लभ अभ्यास किन गर्न लागेको होला? धेरैलाई यो जिज्ञासाले सताइरहेको छ।



सेना भन्छ रूटिन वर्क 

नागरिकस्तरमा अनेक प्रश्न र शंका उब्जिरहेका बेला सेनाले भने यसलाई नियमित तालिम अभ्यास भनेको छ। चक्रपथ परिक्रमाबारे सोधिएको प्रश्नमा सेनाले यसलाई सामान्य भनेको छ। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार यो केबल ‘रूटिन वर्क’ हो। 

‘यस्तो अभ्यास पहिले पनि हुन्थ्यो, आज पनि हुने हो, भोलि पनि हुनेछ। त्यसैले यसमा अरु केही सोच्नु पर्दैन’, सेनाका एकजना अधिकारी भन्छन्, ‘फरक यति मात्र हो, पहिले दिउँसै हुन्थ्यो, कसैलाई चासो थिएन, अहिले राति गर्न लागिएकाले धेरै चर्चा गरिएको छ।’ 

आज माघ १९ गते राति र पर्सि २१ बिहान पनि सेनाको बख्तरबन्दले सडकमा अभ्यास गर्ने कार्यक्रम छ। आज १० वटा बख्तरबन्दले चक्रपथ परिक्रमा गर्ने छन् भने पर्सि ६ वटा बख्तरबन्द सीतापाइलादेखि पाँचखालसम्म जाने छन्।

सेनाका निमित्त प्रवक्ता पदमबहादुर बुढाले यसलाई नियमित अभ्यास भनेका छन्। ‘यो नियमित सैन्य अभ्यास हो’, उनले भनेका छन्, ‘आम जनतालाई शंका नहोस भनेर सार्वजनिक सूचना पनि निकालेका छौँ।’

बख्तरबन्दका दुवै अभ्यास नितान्त रूटिन वर्क रहेको सेनाले जनाएको छ। सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौड्यालले यसबारे जानकारी दिएका छन्। उनले पनि यसलाई नियमित अभ्यास नै भनेका छन्। 

‘नेपाली सेनाको नियमित अभ्यास योजना अनुसार यही माघ १९ गते राति बख्तरबन्द गाडीहरूले काठमाडौंस्थित चक्रपथको चक्कर लगाउने योजना छ’, उनले भनेका छन्, ‘त्यसैगरी ८ वटै पृतना अन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानमा बख्तरबन्द गाडीको अभ्यास गर्ने योजना रहेको जानकारी गराउँछौँ।’

राति १० बजेदेखि अभ्यास

सेनाका अनुसार आज राति १० बजेदेखि चक्रपथमा १० वटा बख्तरबन्द गाडी निस्कने छन्। दिउँसो ट्राफिक जाम हुने भएकाले राति अभ्यास गर्न लागिएको सेनाले जनाएको छ। सेनाका अनुसार चालकहरूको  अभ्यासका लागि चक्रपथ परिक्रमा कार्यक्रम तय गरिएको हो।

  • प्रकाशित मिति : माघ १९, २०७७ साेमबार १३:२०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया