संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले वैशाखमा चुनाव हुन्छ कि भन्ने द्विविधा कसैमा नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले सबै राजनीतिक दलहरू विभिन्न बहानामा आफ्ना अभियान जनतामा पुग्ने भावनाका साथ लागिरहेको बताए ।
‘सरकारले वैशाख १७ र २७ गते आम निर्वाचनको घोषणा गरेको छ, त्यसका निम्ति सबै अंगहरू परिचालित छन्’, उनले भने, ‘बाहिर विरोधको कुरा देखाए पनि भित्र निर्वाचन हुन्छ भन्ने कुरामा कसैमा पनि द्विविधा छैन ।’
मन्त्री ढकालले २३ गते हुने जनसभाका लागि ठूलो ठाउँ खोज्दा नारायणहिटी अगाडिको स्थान चयन गरिएको बताए । हैसियत अनुशार दलहरूले आ–आफ्नो ठाउँ रोज्ने गरेको भन्दै उनले जनताको नेतृत्व गर्दै सरकारमा रहेको पार्टीलाई भएसम्म ठूलो, फराकिलो ठाउँ चाहिने भएपछि त्यसलाई रोजिएको बताए ।
यसबाहेक अन्य कुनै कारण छैन । यस्तै सञ्चारकर्मीको जिज्ञासामा उनले आलोचकहरूले समेत विभिन्न अड्कलबाजी गरेर अनेकन भ्रम छरेरै भए पनि जनसहभागिता जुटाउन योगदान पुर्याइरहेको टिप्पणी गरे ।
पशुपतिमा प्रधानमन्त्री केपी शर्मा ओलीले जलहरी लगाउन निर्देशन दिएको गलत प्रचार भएको मन्त्री ढकालले बताए । ‘पहिलेदेखि नै जलहरी लगाउने निर्णय पशुपति क्षेत्र विकास समितिले गरेको छ,’ उनले भने, ‘पशुपति क्षेत्र विकास समितिको कोषमा ५० करोड मात्रै रहेकाले जलहरी लगाउन अपुग रकमको व्यवस्था गर्न समितिले गरेको आग्रहलाई प्रधानमन्त्रीज्यूले ३० करोड दिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।’
उनले सुरुमा तामाको र २०४३ सालमा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यले चाँदीको जलप लगाइदिएको स्मरण गराए । उक्त जलहरी धुजाधुजा परेर भक्तजनले चढाएको जल भित्र जाँदा भौतिक संरचनामा असर पर्ने भएपछि त्यसलाई व्यवस्थित गर्न समितिले नयाँ जलहरी सुनको लगाउने निर्णय गरेको थियो । धातुमध्येमै पवित्र मानिने सुनको जलहरी राख्ने विषय सकारात्मक रहेको भन्दै यस विषयमा केही छलफल हुनुपर्थ्यो भन्ने आवाजलाई पनि सकारात्मक रूपमा नै लिनुपर्ने बताए ।
संवैधानिक परिषदले संसदीय सुनुवाइका लागि पठाएको सिफारिस सभामुख अग्नि सापकोटाले फिर्ता गरेको प्रसङ्गमा उनले सभामुख सापकोटाले व्यक्तिगत रूपमा लेखेर पठाएको चिठीको कुनै महत्त्व नहुने बताए । त्यो राजनीतिक विवाद झिक्न र प्रचारका निम्ति मात्र लेखिएको बताए । कार्यविधि अनुसार ४५ दिनभित्र सुनुवाइ नभएको अवस्थामा सिफारिस भएका व्यक्तिहरू नियुक्ति लिएर आ–आफ्ना काममा खटिने मन्त्री ढकालले बताए ।
महिला नेतृ रामकुमारी झाँक्रीको अभिव्यक्तिको विषयमा बोल्न इन्कार गरे । सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘तीन करोड नेपाली जनता छन् । यसभित्र धामी छन्, झाँक्री छन् । सबै खालका व्यक्तिहरू छन् । अब सबैको बारेमा के बोल्नु ?
मोरङको सुन्दरहरैचामा प्रदेशस्तरीय सरुवा रोग नियन्त्रण अस्पतालको शिलान्यास गर्न मन्त्री ढकाल विराटनगर आइपुगेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।