नारायणहिटी अगाडि आमसभा : ओलीको अर्को राजनीतिक ‘स्टन्ट’
कांग्रेस नेताहरु भन्छन् : यसले अनेक आशंका जन्माएको छ

नेकपा ओली पक्षले यही माघ २३ गते नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि आमसभा गर्दैछ। वैशाखमा हुने भनिएको मध्यावधि निर्वाचन तयारीमा जुटेको ओली समूहले तत्कालीन शाह वंशीय राजाको दरबार (अहिले सङ्ग्रहालय) अगाडि आमसभा गर्न लागेपछि अनेक कोणबाट टिप्पणी भइरहेका छन्। 

पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएसँगै विभाजित नेकपा अहिले शक्ति प्रदर्शनको होडमा छन्। दाहाल–नेपाल समूहले त्यसलाई प्रतिगमन भन्दै सडक आन्दोलन गरिरहेको छ। अर्कातिर ओली समूहले आगामी वैशाखमा हुने भनिएको चुनावको रिहर्सल रुपमा जनप्रदर्शनलाई अघि बढाइरहेको छ।

चासो 

देशका विभिन्न स्थानमा पुगेर ओली समूहले ठूला सभा गरिसकेको छ। कैलाली, चितवन, सिरहासहितका ठाउँमा प्रधानमन्त्री ओली आफैँ पुगेर ठूला जनसभालाई सम्बोधन गरिसकेका छन्। यस्तोमा ओली समूहले बागमती प्रदेश कमिटीको आयोजनामा काठमाडौंमा २ लाख मानिस उतार्ने गरी शक्ति प्रदर्शन तयारी गरिरहेको छ।

नेकपा ओली समूहका बागमती प्रदेश अध्यक्ष आनन्द पोखरेलले करिब २ लाख मानिस अटाउने क्षेत्र रहेकाले नारायणहिटी अगाडिको सडकमा आमसभा गर्न लागिएको बताएका छन्। 

प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने भनिएको २३ गतेको आमसभास्थल चयनले अहिले अनेक आशंका संशय पैदा गरिरहेको छ। ओलीले हिन्दु धर्मतिर झुकाव बढाइरहेका बेला नारायणहिटी अगाडि आगामी आइतवार यो आमसभा गर्न लागेको हो।  



प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने भनिएको आमसभा किन नारायणहिटी अगाडि नै गर्न लागिएको हो त ? त्यसबारे तर्कसहित उनले त्यहाँ भन्दा फराकिलो ठाउँ अन्यत्र नभएको, उपत्यकाको ट्राफिक व्यवस्थापनमा पनि कम असर पर्ने भएकाले रोजिएको बताएका छन्। 



हिन्दु धर्मबारे आशंका

प्रतिनिधिसभा विघटनपछि अलग भएका दाहाल–नेपाल अहिले ओलीविरुद्ध अहिले सबैभन्दा आक्रमक छन्। उनीहरुले ओलीमाथि अनेक शंकाका तीर हानेका छन्। 

आइतवार माइतीघर मण्डलमा भएको धर्ना नेता सुरेन्द्र पाण्डेले नारायणहिटी अगाडि आमसभा हुने दिन नै ओलीले हिन्दु राष्ट घोषणा गर्न सक्ने बताएका थिए। उनले त्यो सम्भावना बलियो रहेको गाइँगुइँ आफूले सुनिरहेको बताएका थिए। यद्यपि ओली पक्षका नेताहरुले त्यसको खण्डन गरिरहेका छन्।

ओलीको धर्म रुचि

गत माघ १२ गते प्रधानमन्त्री ओली पत्नी राधिकासहित पशुपतिनाथ मन्दिर पुगे। दोस्रो कार्यकाल प्रधानमन्त्री बनेपछि उनी हिन्दुहरुका आराध्यदेव दर्शन र लाखबत्ती बाल्न पत्नीसहित पुगेका थिए। उनी पहिलो पटक प्रम हुँदा पनि एक पटक पशुपति पसेका थिए।

पशुपतिमा लाखबत्ती बालेका ओलीले त्यहाँ सुनको जलहारी बनाउन करिब एक अर्ब बजेट दिने घोषणा गरे। त्यसपछि उनी यही शनिबार पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला चितवन पुगे। जहाँ उनले अयोध्यापुरीमै भगवान रामको जन्म भएको तर्क फेरि दोहो¥याउँदै अर्को वर्ष प्राण प्रतिष्ठा गर्ने बताए। 

चितवनको अयोध्यापुरीमै राम जन्मिएकाले त्यस ठाउँको मास्टर प्लान बनाएर धार्मिक पर्यटक भित्र्याउने तर्क उनले चितवनमा गरे। प्रमले सोमबार मात्रै धनुषाको ढल्केबर पुगेर आफूले पशुपतिमा पुगेर पूजा गर्दा आलोचना गरिएको भन्दै पत्रकारहरुको विरोधमा मन्तव्य दिए। एनले त्यहाँ आफूले चाँदीको ठाउँमा सुनको जलहारी लगाउँछु भन्दा कही मानिसलाई खपिनसक्नु भएको टिप्पणी गरे। 

धर्मनिरपेक्ष देशमा एकपछि अर्को धार्मिक गतिविधि र घोषणा गर्दै गएपछि ओली पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जस्तै दक्षिणपन्थी धारतिर लम्किन थालेको विश्लेषकहरू बताउँछन्। 

के भन्छ कांग्रेस?

नारायणहिटी अगाडि ओली समूहको प्रदर्शनलाई लिएर कांग्रेसमा पनि अनेक आशंका देखिएका छन्। कांग्रेस उपसभापति विमलेन्द्र निधि अहिले नै यसबारे टिप्पणी नगर्ने बताउँछन्। उनले पहिले प्रधानमन्त्रीले त्यसबारे बोल्ने नबोल्ने हेरेर मात्रै थप भन्न सकिने अडान राखे। 
गलत
उता कांग्रेसकै सह–महामन्त्री डा. प्रकाशशरण महत नारायणहिटी दरबार सङ्ग्रहालय अगाडिको सडकलाई कार्यक्रमस्थल चुन्नु गलत भएको बताउँछन्। ‘ओली पक्षीय नेकपाले नारायणहिटी अगाडि आमसभा राख्नु गलत हो’, उनले भने, ‘यो राम्रो निर्णय हो जस्तो मलाई लागेन।’ 

कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी नेपालको राजनीतिमा सकारात्मक भन्दा नकारात्मक काम गर्ने बढी चलन देखिएकोमा चित्त दुखाउँछन। ‘संविधान हामीले मात्रै बनाएको हो र?,’ भण्डारीले भने, ‘अरुमा संविधान नै बनेको छैन र? त्यहाँ संविधान नै छैन जस्तो हामीले ठानिरहेका छौँ।’

संविधानमाथि कोही नभएको भन्दै उनले त्यसो हुन खोजे अस्वीकार्य हुने पनि बताए । प्रतिनिधिसभा विघटनपछि नेकपा शीर्ष तहका नेताहरुको लडाइँ सडकमा पुगेको छ। त्यो अरुले सुन्दा–हेर्दा लाजमर्दो भएको बताउँदै उनले यसको जवाफ जनताले दिने टिप्पणी गरे।

स्टन्ट

भण्डारीले प्रधानमन्त्री राजनीतिक रुपमा स्टन्ट गर्ने तहमा उत्रिएको भन्दै यसले देश र राजनीति दुवैलाई फाइदा नगर्ने बताए । ‘नेकपामा अहिले भइरहेको छ, त्यो सबैमा जगजाहेर छ’, उनले भने, ‘यसले हाम्रो राजनीतिक स्तरलाई पनि दर्साउँछ।’ 

हिन्दुवादीमा ध्यान

विश्लेषकहरू प्रधानमन्त्री ओली नेपालमा रहेको हिन्दुवादी शक्ति र राजावादी धारको मनोविज्ञानलाई पछिल्लो समय आफूतिर तान्न प्रयास गरिरहेको बताउँछन्। त्यही रणनीति अनुसार नारायणहिटी दरबार अगाडि आमसभा गर्न खोजेको हुन सक्ने उनीहरुको राय छ। 

नेपालमा हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी, अन्य केही राजावादी समूह र साना दलहरु मात्रै औपचारिक रुपमा देखिएका छन्। 

प्रधानमन्त्री ओली केहीले दिन अगाडि मात्रै राप्रपाका एकजना अध्यक्ष कमल थापासँग भेट गरेका थिए । यद्यपि राप्रपाले औपचारिक रुपमा प्रधानमन्त्रीले ५ पुसमा गरेको प्रतिनिधिसभा विघटनको विरोध गरेको थियो। 

राप्रपाका एकजना नेता मोहन श्रेष्ठ ओलीको हिन्दुवादी पाइलाले चुनावमा समेत सहकार्यको वातावरण बन्न सक्ने बताउँछन्। एजेण्डा मिल्ने अवस्था आएमा हिन्दु राज्यका लागि ओलीसँग सहकार्यको सम्भावना उनले देखेका छन्। 

  • प्रकाशित मिति : माघ १९, २०७७ साेमबार १९:४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया