'प्रधानमन्त्रीले संकटकाल घोषणा गरेर १७ साल दोहोर्‍याउने खतरा'

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधि सभा विघटन मध्यावधि चुनाव गराउनको निम्ति नभएको बताएका छन् । सोमबार राष्ट्रिय जनमोर्चाले आयोजना गरेको संसद विघटन र प्रतिगमनको खतरा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले मध्यावधि चुनाव गराउनको निम्ति संसद विघटन नगरिएको जिकिर गरेका हुन् । 

चुनाव गराउने समय नै नभएको भन्दै उनले चुनाव गराउन नसकेपछि संकटकाल घोषणा गरेर सत्र साल ल्याउने खतरा भएको उनको भनाइ छ । नेपालमा स्थिर सरकार र पार्टीहरु नैतिकवान् भए भने विदेशी शक्तिकेन्द्रले हस्तक्षेप गर्न नसक्ने पनि उनको भनाइ छ ।

समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधालाई विश्वकै उत्कृष्ट संविधान भन्ने पार्टीको प्रधानमन्त्रीले संविधान उल्लंघन गरेको बताए । आफुहरुले संविधानको निर्माणकालमै संविधानको विरोधमा संविधान जलाएको भए पनि संविधानको रक्षाको निम्ति उभिनुपर्ने अवस्था आएको उनको भनाइ छ । यो संविधानमा भएका संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र मौलिक हकलाई टेकेर अघि नबढे प्राप्त उपलब्धि पनि गुम्ने भएकाले यो संविधानलाई टेकेर अघि बढ्नुपर्ने पनि उनले बताए ।

नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटनको कदम अलोकतान्त्रिक, अधिनायकवादी र असंवैधानिक भएको बताए । यसको परीक्षण गर्ने थलो अब अदालत भएकाले अदालतले यसको वैधानिकता, कानुनी पक्ष, औचित्य र सान्दर्भिकता सबै सर्वोच्च अदालतले निरुपण गर्ने उनको भनाइ छ । सर्वोच्च अदालतले निष्पक्षतापूर्वक तथा स्वतन्त्रतापूर्वक निर्णय गर्नेमा उनको विश्वास छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका नेता तथा राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले पार्टीसँगको झगडाका कारण प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको बताए । अविश्वासको प्रस्ताव आउने सम्भावनाको कारण विघटन गरिएको तर्क प्रधानमन्त्री ओलीले दिने गरेको भन्दै उनले प्रधानमन्त्री ओलीले फट्याइँ गरेको बताए । 

पूर्वसभामुख दमननाथ ढुंगानाले जनताको बलिदान र संघर्षको अपमान गर्ने राजनीतिक कदम अहिलेको प्रतिनिधि सभा विघटनभन्दा अर्को नभएको जिकिर गरे । प्रधानमन्त्री ओलीले शासकीय दम्भ देखाएको उनको भनाइ थियो । संसद पुनर्स्थापना गर्न आवश्यक रहेको उनले बताए । 



वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री ओलीलाई बहुमत, अल्पमतको कुनै अर्थ नरहेको बताए । प्रधानमन्त्री ओलीलाई एकलौटि चाहिएको भन्दै उनले ओलीसँग आफूबाहेक अरुलाई कुर्सी नछाड्ने राजनीतिक अभीष्टता रहेको आरोप लगाए । 

कार्यक्रममा बोल्दै सबै वक्ताहरुले संसद विघटनको कदमप्रति विरोध जनाउँदै पुनर्स्थापनामा जोड दिएका थिए । 



  • प्रकाशित मिति : माघ १९, २०७७ साेमबार २०:०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया