महिला लिग : कसले रोक्ला साम्बाको बेग

सावित्रा भण्डारी (साम्बा) नेपाली फुटबलका लागि नौलो नाम होइन । यति बेला उनी आफ्नो करियरको उच्च लयमा छिन् र त्यो लय राजधानीमा जारी राष्ट्रिय महिला लिगमा प्रष्टै देखिएको छ । उनकै उच्च प्रदर्शनमा नेपाल एपिएफ क्लब अपराजित रहँदै लिगको शीर्ष स्थानमा कायम छ । लिगको पहिलो चरण सकिँदासम्म उनको बेगलाई कुनै टिमले रोक्न सकेका छैनन् ।

उनले लिगका ६ खेल सकिँदा २४ गोल गरिसकेकी छन् । उनले आर्मीसँग बाहेकका सबै खेलमा गोल गरेकी छन् ।

सावित्रालाई विदेशी खेलाडीको आगमनले लिगमा केही रौनक थपेको र नगरपालिकाका टिम केही बलियो बनेको जस्तो लाग्छ ।

उनले फरकधारसँगको कुराकानीमा भनिन्, ‘विदेशी खेलाडी राखेकाले नगरपालिका अघिल्ला सिजनमा भन्दा केही बलिया देखिएका छन् । उनीहरूले विभागीय टोलीलाई टक्कर दिन सफल भएका छन् ।’

उनले स्याङ्जाको वालिङ नगरपालिकाको उदाहरण दिँदै भनिन्, ‘वालिङलाई हामी अघिल्ला सिजन १४–१५ गोल हान्थ्यौँ तर यो सिजन ३ गोल मात्र गर्न सक्यौं ।’ उसले अन्य विभागीय टोलीलाई पनि सहजै खेल जित्न दिएको छैन । विराटनगर र चन्द्रपुर पनि पहिलाको भन्दा केही बलिया भएका छन् ।

लिगको पहिलो चरण सकिँदासम्म उच्च गोलकर्ताको सूचीमा सवित्राको आसपास कुनै खेलाडी छैनन् तर उनलाई आशा छ दोस्रो चरणमा कुनै खेलाडीले उनलाई टक्कर दिने छन् ।



‘मैले सबै खेलाडीलाई प्रतिस्पर्धीका रूपमा हेरेको छु आशा छ दोस्रो चरणमा कुनै खेलाडीले मलाई टक्कर दिनेछन् ।’ विशेष गरेर विदेशी खेलाडीहरू अगाडि आउँछन् होला’ सावित्राले भनिन् ।

‘मेरो वा टिमको लक्ष्य भनेको उपाधि नै हो । लिग खेल्ने हरेक टोलीले उपाधिकै लागि प्रतिस्पर्धा गरिहेका छन्’ सवित्राले थपिन्, ‘अहिले नै यसले जित्छ भन्ने यकिन भइसकेको छैन । पहिलो चरणमा हामी नै अगाडि छौं । दोस्रो चरणका खेल निकै महत्त्वपूर्ण छन् आशा छ उनीहरूले पनि राम्रो प्रदर्शन गर्छन् । 



सोमबार १२ गोल गरेको खेलका बारेका उनको धारणा

हिजो हाम्रा लागि कुनै प्रतिस्पर्धा नै थिएन । यस्ता एकतर्फी खेलले खासै खुसी पनि दिँदैन । 

कति गोल हान्यो भन्दा पनि कुन टिमविरुद्ध गोल हानियो भन्ने कुराले महत्त्व राख्छ । मैले जुनियर टिमविरुद्ध गोल गरेकी हुँ तर उनीहरूले पनि आफ्नो ठाउँबाट सक्दो प्रयास गरेका थिए । 

लिगमा सावित्राको हाल सम्मको प्रदर्शन

सावित्रा एपिएफले खेलेका ६ खेलमध्ये ३ खेलमा ‘प्लेयर अफ दि म्याच’ चुनिएकी छन् । उनी विराटनगर महानगरपालिका, नेपाल पुलिस क्लब र चौदाण्डीगढी नगरपालिकासँगको खेलमा ‘प्लेयर अफ दि म्याच’ चुनिएकी थिइन् । 

एपिएफले हालसम्म ६ खेलमा ४३ गोल गर्दा एक गोल पनि खाएको छैन । एपिएफका लागि सावित्राले २४ गोल गर्दा, अनु लामाले ५, अनिता बस्नेतले ४, सरु लिम्बूले ३ ,अनिता केसी, प्रिती राई र अञ्जलीकुमारी योञ्जनले समान २–२ र रेनुका नगरकोटीले १ गोल गरेका छन् ।

एपिएफले रौटहटको चन्द्रपुर नगरपालिकाविरुद्ध ६–० को सहज जित हात पार्दै सान्दार सुरुवात गर्दा सावित्राले ३ गोल गरेकी थिइन् । दोस्रो खेलमा विराटनगर महानगरपालिकामाथि ७–० जितमा सावित्राले ४ गोल गरिन् । 

तेस्रो खेलमा आर्मीविरुद्ध २–० जित हात पार्दा सावित्राले कुनै गोल गरिनन् तर दुवै गोलका लागि उनैले अवसर सिर्जना गरेकी थिइन् ।

चौथो खेलमा नेपाल पुलिस क्लबलाई ३–० ले हराउँदा तिनै गोल गरेकी उनले वालिङ नगरपालिकामाथि निकालेको ३–० कै जितमा २ गोल गरेकी थिइन् । 

छैटौं खेलमा चौदाण्डीगढी नगरपालिकालाई २२–० ले हराउँदा सावित्रा एक्लैले १२ गोल गरेकी थिइन् ।

  • प्रकाशित मिति : माघ २०, २०७७ मंगलबार १७:१०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया