हिल्सा नाका नखुल्दा हुम्लाबासी मारमा
हुम्लाको हिल्सा नाका । तस्बिर : हुम्ला प्रहरीको फेसबुकबाट ।

कोरोना भाइरसको माहामारी सुरु भएयता कर्णालीलाई चीन जोड्ने हिल्सा नाका बन्द छ । २०७६ चैत्रमा नेपाल सरकारले लकडाउन गर्नु पहिलाबाटै बन्द रहेको हिल्सा नाका झण्डै ११ महिनाभन्दा बढी हुँदा पनि खुल्न सकेको छैन । चीन सरकारले अझै पनि कोरोनाको जोखिम कायम नै रहेको भन्दै नाका खोलेको छैन । नेपालका तर्फबाट पनि नाका खोल्न कुनै प्रयास हुन सकेको छैन ।

यसरी एक देशबाट अर्को देशलाई जोड्ने नाका बन्द हुँदा राज्यको लाखौँ राजस्व गुमेको छ भने हुम्लाका व्यवसायी तथा स्थानीय मारमा परेका छन् । दैनिक उपभोग्य वस्तु चीनबाट ल्याउने स्थानीय अहिले चर्को महङ्गी खेपिरहेका छन् ।

हुम्ला उद्योग वाणिज्य संघले गएको असोजमा नै हिल्सा नाका खोल्न सरकारलाई आग्रह गरेको थियो । नाका बन्द हुँदा यस क्षेत्रमा चीन र नेपालको मैत्रीपूर्ण लगानी रोकिएको छ । साना, मझौला, ठूला व्यवसायहरू आर्थिक संकटको घेराबन्दीमा परेका छन् ।

अर्कोतर्फ व्यवसायका लागि लिइएको कर्जा समेत तिर्न नसक्ने अवस्था आएको गुनासो उनीहरूले गरेका छन् । सरकारले चार महिनासम्म माग सम्बोधन नगरेको हुम्ला उद्योग वाणिज्य संघले बताएको छ । हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नामग्याल तामाङले प्रदेश सरकार नाका खोल्ने विषयमा कुनै पहल समेत नगरेको बताए ।

अन्तर्राष्ट्रिय सीमा नाकाहरू केन्द्र सरकारको मातहतमा पर्ने भन्दै प्रदेशले नाका खोल्नका लागि पहल गर्न नसक्ने कर्णाली प्रदेश सरकारले बताउँदै आएको छ । प्रत्येक वर्ष चैत्र–वैशाखदेखि असोज कात्तिकसम्म धेरैजसो समय खुला रहने हिल्सा नाका पुनः खुलाउने काम केन्द्र सरकारको हातमा रहेको हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताए । 

सीमा नखुल्दा अवैध कारोबार



यसरी लामो समयसम्म सीमा नाका नखुल्दा हुम्लामा अवैध कारोबार बढ्दै गएको छ । हिल्सासँगै चीनसँग जोडिएका हुम्लाका चारवटा नाकाहरू बन्द छन् । जिल्लाको नाम्खा गाउँपालिका ५ मा हिल्सा नाका, नाम्खाकै ६ मा लिमी ल्याप्चा, सिमकोट गाउँपालिका १ मा च्वाँखोला नाका र चंखेली गाउँपालिका ५ मा टाँके नाका छन् । नाकाहरू बन्द भए पनि हुम्लाबासीले दैनिक उपभोग्य वस्तु चीनबाटै खरिद गर्छन् ।

राष्ट्रिय राजमार्गसँग नजोडिएको हुम्लाको माथिल्लो क्षेत्रका नागरिकले वर्षौंदेखि आफ्नो क्षेत्रमा उत्पादन हुने वस्तुहरू उवा, जौ, स्थानीय फल चुलीका बोक्रा, यार्सागुम्बु, चिराइतो, गुच्ची च्याउ, सतुवा आदि बिक्री गरेर तिब्बतबाट चामल, घिउ, मैदा, नुन, लत्ता कपडा, रक्सी लगायतका दैनिक उपभोग्य वस्तु ल्याउने गरेको पाइन्छ । तर, भन्सार नतिरी ल्याएका सामानहरू सरकारले अवैध भन्दै जफत गरेर नष्ट गर्छ । अन्य उपभोग्य वस्तुभन्दा हरेक वर्ष मदिराजन्य पदार्थ सरकारको निशानामा पर्छ ।



केही दिनअघि मात्रै प्रहरीले हुम्लामा अवैध रूपमा चीनबाट भित्रिएको चिनियाँ मदिरा नष्ट गरेको घटना एउटा उदाहरण हो । गतवर्ष मात्रै प्रहरीले हुम्लामा झण्डै १३ करोड बराबरको अवैध मदिरा नष्ट गरेको हुम्ला प्रहरीले यो वर्ष झण्डै १० लाख ४० हजार बराबरको मदिरा नष्ट गरिसकेको प्रहरी प्रमुख सूर्यप्रकाश सुवेदीले बताए ।

हुम्लासँगै डोल्पा र मुगुको माथिल्लो क्षेत्रका नागरिकहरूले चीनबाट भित्र्याएको मदिरा पनि प्रहरीले नष्ट गरेको छ । मुगुको नाग्चेनाग्ला, डोल्पाको मौरिल्ला र क्याटो नाकाबाट भित्र्याइएको मदिराजन्य पदार्थ उसैगरी जफत र नष्ट गर्ने गरेको छ ।

सरकारले नाकाहरु औपचारिक रुपमा खुला गर्न नसक्ने तर आयात गरिएका उपभोग्य वस्तुलाई अवैध भन्दै नष्ट गर्नथालेपछि सीमाबासी मर्कामा पर्ने गरेको अदानचुली गाउँपालिका–५ का स्थानीय मदमराज हमालले बताए । कि सरकारले भन्सार कार्यालय खोल्नुपर्ने कि त चीनबाट ल्याइएका उपभोग्य वस्तु अवैध भन्न नहुने उनको भनाइ छ । 


चीनबाट अवैध रुपमा भित्रिएको मदिरा नष्ट गर्दै हुम्ला प्रहरी । 

  • प्रकाशित मिति : माघ २०, २०७७ मंगलबार १७:५४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया