जसपाले माघभित्रै समायोजन गरिसक्ने, बाबुरामको वरीयता अलपत्र

पार्टी एकताको १० महिनापछि जनता समाजवादी पार्टीले समायोजनको कामलाई समय तालिका बनाएर अघि बढाएको छ । गत साउनमा बसेको जसपाको पहिलो कार्यकारी बैठकले पार्टी समायोजनको काम मंसिरभित्र टुङ्ग्याउन शीर्ष पाँच नेतालाई जिम्मा दिएको थियो । तर, उक्त बैठकको ६ महिना बिते पनि जसपाको समायोजन सकिएको छैन ।

समायोजनको काम नहुँदा पछिल्लो समय जसपाका पूर्व घटकहरू राजपा नेपाल र समाजवादी पार्टीको ब्यानरमै कार्यक्रम हुन थालेपछि जसपाले समायोजनको काम तत्काल पूरा गर्ने गरी तल्लो तहलाई सोमबार परिपत्र गरेको हो ।

तत्कालीन राजपा र समाजवादी समूहको छुट्टाछुट्टै कार्यक्रमहरूमा उक्त खेमाका शीर्ष नेताहरू नै सहभागी हुँदै आएका थिए । गत शनिबार मात्रै जनकपुरमा पूर्व राजपा पक्षका युवाले गरेको सम्मेलनमा महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका शीर्ष नेता मञ्चमा देखिएका थिए ।

केही समय पहिला समाजवादी पार्टीको युवा संगठनको ब्यानरमा कार्यक्रम भएको थियो । जसको प्रमुख अतिथिमा उपेन्द्र यादव सहभागी थिए । यसरी शीर्ष तहकै सहभागितामा दुवै पक्षले छुट्टा छुट्टै कार्यक्रम हुन थालेपछि जसपाको वृतमा चिन्ता व्यक्त गरिएको थियो।

दुई पक्षका बीचमा सार्वजनिक टकराव देखिन थालेपछि जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले सोमबार सबै जिल्ला र स्थानीय तहलाई परिपत्र पठाउँदै समायोजन सक्न निर्देशन दिएका हुन् ।

कार्यकारी समिति सदस्य रामसहाय यादव भन्छन्, ‘विभिन्न कारण पूर्व घोषित मितिमा समायोजन हुन नसकेपछि हामीले पुनः यही माघको अन्तिमसम्म समायोजन गर्न नयाँ परिपत्र पठाएका छौं।’



उनले सोमबार परिपत्र गरिएअनुसार २९ माघभित्र सबै वडा, पालिका, निर्वाचन क्षेत्र र जिल्ला तहको समायोजन सक्ने दाबी गरे । मुख्य गरी तराई मधेशमा २० जिल्लामा पूर्व राजपा र सपाको आन्तरिक प्रतिस्पर्धाले समायोजन गर्न शीर्ष तहलाई गाह्रो परेको नेताहरूले अनौपचारिक रूपमा बताउने गरेका छन्।

नेता यादवले पनि यस पटक तराईमधेशका सबै जिल्लामा दुवै पक्षको समान उपस्थितिमा कार्यदल बनाएर समायोजन गर्न लागेको बताए । अध्यक्षद्वय ठाकुर र यादवले गरेको परिपत्रमै सबै जिल्लामा दुवै पक्षको समान सहभागितामा एउटा कार्यदल निर्माण गरिएको छ। 



केन्द्र र प्रदेश समायोजनमा पनि गृहकार्य

जिल्ला तह सम्मको समायोजनका लागि सोमबार परिपत्र गरेको जसपाको केन्द्रमै पूर्ण समायोजनको काम सकिएको छैन । कार्यकारणी समिति र केन्द्रीय समिति बाहेक अन्य काम हुन सकेका छैनन्।

पदाधिकारी चयनमा ठूलो सकस परेपछि शीर्ष नेताहरूले निर्वाचन आयोगमा दल दर्ताका बेला बनाइएको कार्यकारणी समितिबाहेक अन्य पदाधिकारी नै चयन नगर्ने निष्कर्षमा पुगेका छन् । निर्वाचन आयोगमा दर्ताका बेला जसपाले दुई नेता अध्यक्ष र तीन जना वरिष्ठ नेताको मात्रै मर्यादाक्रम तोकेका थिए।

आयोगमा दर्ताका बेला नेताहरूले पछि पदाधिकारी चयनदेखि सचिवालय निर्माणको कुरा गरेका थिए । जुन जसपाको विधानमा व्यवस्था गरियो । तर दुवै तिरका नेताहरूको तीव्र प्रतिस्पर्धाका कारण शीर्ष नेतृत्व अहिले भ्रातृ संगठन, विभागहरू र प्रदेश कमिटी समायोजन तर्फ अघि बढेको छ।

जसपा नेता लक्ष्मणलाल कर्णले पार्टीका सबै तहको समायोजन काम अब चाँडै सकिने गरी कामहरू भइरहेको बताए । ‘एकीकरणपछि पार्टी समायोजनमा ढिला हुँदै गर्दा अनेकन समस्या उत्पन्न हुन सक्ने भएकाले यसलाई प्राथमिकतामा राखेर गर्नुपर्छ’, कर्णले फरकधारसँग भने, ‘पार्टीका शीर्ष पाँच नेतालाई त्यसको जिम्मा दिइएको छ।’

एक शीर्ष नेताका अनुसार गत बिहीबार र शुक्रबार पनि जसपाका अध्यक्षद्वय ठाकुर र यादवसहित वरिष्ठ नेताहरू डा. बाबुराम भटराई, अशोक राई र राजेन्द्रसहितको अनौपचारिक बैठक भएको थियो। 

पूर्वप्रम भटराईको वरीयता पनि अलपत्र 

१० वैशाखमा तत्कालीन समाजवादी पार्टी र राजपा नेपाल बीचमा एकीकरण हुँदा सबै कुरा समान हैसियतमा टुग्याउने गरी जसपा नेपाल गठन गरिएको थियो।

त्यसपछि निर्वाचन आयोगको दर्ताकै बेला पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको वरीयतालाई लिएर चर्चा भयो । पार्टीको कार्यकारी अध्यक्षमा ठाकुर र यादवलाई राखियो । पूर्वप्रम भट्टराईलाई संघीय परिषद् अध्यक्ष भनियो । तर नेता ठाकुरले आफ्नो वरीयता पहिलो नम्बरको भएको दाबी गरेपछि भट्टराईको वरीयतामा समस्या उत्पन्न भयो।

संघीय परिषद्को अध्यक्षका रूपमा पछि भट्टराईलाई दोस्रो वरीयतामा राखेर निर्वाचन आयोगको कागजात तयार पारिएको थियो । तर आयोगमा जाने बेला टिपेक्सले मेटेर भट्टराई वरिष्ठ नेताका रूपमा चौथौ नम्बरमा राखियो । त्यति बेला भट्टराई निकटका नेताहरूले पूर्वप्रमको वरीयता पछि तय हुने र उहाँ पहिलो नम्बर कै वरीयतामा रहने बताएका थिए।

तर त्यसपछि जसपाले अहिलेसम्म त्यस बारेमा कुनै निर्णय गरेका छैन । जसपाको विधानमा संघीय परिषद अध्यक्षलाई पार्टीको पहिलो वरीयतामा राख्ने व्यवस्था भए पनि औपचारिक रूपमा जसपाले अहिलेसम्म उक्त परिषद नै गठन गरेका छैन।

जसपा स्रोतका अनुसार अध्यक्ष ठाकुरले आफूभन्दा माथि कुनै वरीयता हुन नसक्ने अडान लिएपछि पूर्वप्रम भट्टराईले संघीय परिषद अध्यक्ष बन्न इन्कार गरेको र त्यही कारण जसपाले संघीय परिषद समेत गठन नगरेको बताएका छन् । यद्यपि जसपाका नेताहरूले अहिलेसम्म त्यसबारेमा औपचारिक रूपमा बोलेका छैनन्।

  • प्रकाशित मिति : माघ २१, २०७७ बुधबार ७:१८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया