कांग्रेस सभापति देउवा माथि प्रश्नै–प्रश्न

संवैधानिक परिषदले गरेको निर्णयका आधारमा सरकारले विभिन्न संवैधानिक निकायमा ३८ जनाको नियुक्ति गर्‍यो । कानुनी वैधतामा समेत प्रश्न उठिरहेका बेला राष्ट्रपतिले उनीहरूलाई सपथ खुवाएपछि चौतर्फी विरोध भइरहेको छ ।

त्यही मुद्दामै केन्द्रित रहेर नेकपा प्रचण्ड–माधव पक्षले बिहीबार आमहडताल गर्‍यो । जसपा नेपालले पनि बुधबार नै एक विज्ञप्ति जारी गर्दै विरोध गरेको छ ।

नेपाली कांग्रेसले भने हालसम्म आफ्नो आधिकारिक धारणा सार्वजनिक भएको छैन । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार दिउँसो सामाजिक सन्जालमै लेखेर सभापतिलाई तत्काल केन्द्रीय समिति बैठक गरेर यस बारेमा धारणा सार्वजनिक गर्न आग्रह गरेको उल्लेख गरेका छन् ।

वरिष्ठ नेता पौडेलले सरकारले एकपछि अर्को असंवैधानिक काम गरिरहेको भन्दै त्यसको पछिल्लो कडी संवैधानिक नियुक्ति भएको भन्दै त्यो अस्वीकार्य भएको बताएका छन् ।

हुन त कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार साँझ सामाजिक सन्जालमा राष्ट्रपतिले गराएको सपथ संविधान सम्मत नभएको भन्दै त्यसको विरोध गरेका छन् । प्रवक्ता शर्मा स्वयंले सामाजिक सन्जालमा टिप्पणी गरे पनि कांग्रेसका तर्फबाट बिहीबार दिउँसोसम्म आधिकारिक धारणा सार्वजनिक भएको छैन । न त सभापति शेरबहादुर देउवाको धारणा नै ।

हुन त प्रधानमन्त्री केपी ओलीले अध्यादेश ल्याएर बोलाएको संवैधानिक परिषद् बैठकमा कांग्रेस सभापति देउवा उपस्थित थिएनन् । तर, प्रधानमन्त्रीले गरेका विभिन्न ४५ ओटा नियुक्तिमा १७ जना देउवाका सिफारिसमा रहेको सार्वजनिक भएको थियो । कांग्रेसभित्रै पनि त्यसको विरोध भइरहेको छ । केन्द्रीय समिति बैठकमै सभापति देउवालाई उक्त सिफारिसमा परेकाहरूलाई फिर्ता गराउन माग भएको थियो । तर सभापतिले त्यसलाई खासै वास्ता गरेनन् ।



कांग्रेसमा सभापति इतर पक्षका नेताहरू खुलेर त्यसको विरोधमा छन् । केन्द्रीय सदस्य शेखर कोइराला, गगन थापा, धनराज गुरुङ, प्रदीप पौडेल सहितका नेताले कांग्रेसलाई संवैधानिक परिषदको नियुक्ति अमान्य रहेको भन्दै त्यो तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले पनि सामाजिक सन्जालमा बिहीबार बिहानै कांग्रेस नेतृत्व माथि गम्भीर प्रश्न उठाएका छन् । उनले कांग्रेस नेतृत्वको मौनताले पार्टीले गम्भीर क्षति बेहोर्नुपर्ने चेतावनी दिएका छन् । उनले राजनीतिक रूपमा मुलुक यस्तो गम्भीर रूपमा फसेका बेला पार्टी नेतृत्वले देखाइरहेको ढुलमुले चरित्रले कांग्रेसलाई फाइदा नपुग्ने बताएका छन् । उनले पनि बुधबार राष्ट्रपतिले गराएको संवैधानिक नियुक्तिको सपथलाई गलत भनेका छन् ।



कांग्रेस नेता गगन थापाले संवैधानिक नियुक्तिको साथ दिने र साक्षी बस्ने दुवै जनताको कठघरामा उभिनु पर्ने भन्दै आफ्नै पार्टी नेतृत्वमाथि घुमाउरो पाराले प्रश्न तेर्स्याएका छन् । थापाले गत १६ गते काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा भएको विरोधसभालाई सम्बोधन गर्दा पनि कांग्रेस सभापतिको आलोचना गरेका थिए ।

केन्द्रीय सदस्य धनराज गुरुङले  त सभापति देउवालाई नै ट्विटरमा मेन्सन गरेर आफूहरूले संवैधानिक नियुक्तिहरूको विरोध गरेको र सभापतिले समेत त्यसलाई अस्वीकार गरेर निर्णय फिर्ता लिन माग सहितको विज्ञप्ति निकाल्नु हुन्छ भन्ने पर्खाइमा रहेको टिप्पणी गरेका छन् ।

हुन त प्रवक्ता शर्माले पनि संवैधानिक परिषदसम्बन्धी अध्यादेश, त्यस पछिको बैठक र नियुक्तिको विपक्षमा आफू रहेको उल्लेख गरेका छन् । नेता शेखर कोइरालाले नियुक्तिलाई असंवैधानिक र वदनियतपूर्ण भएको भन्दै नियुक्ति सम्बन्धमा भएको निर्णय आफूहरूलाई मान्य नभएको बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेदेखि नै पार्टीभित्र र बाहिर पनि कांग्रेस सभापति देउवा माथि प्रश्नै प्रश्न उठ्न थालेका हुन् । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भने पनि देउवा तत्काल आन्दोलनमा जान तयार नभएपछि वरिष्ठ नेता पौडेल सहितका पक्षले ९ गतेको केन्द्रीय समिति बैठक नै बहिष्कार गर्ने चेतावनी दिएका थिए ।

त्यसपछि दबाबमा आएर विरोध प्रदर्शन घोषणा गरे पनि देउवाले सर्वोच्च अदालतलाई आफूले दबाबमा नपार्ने बताइरहे । यद्यपि कांग्रेसभित्र पनि देउवाको उक्त विचारको विरोध भइरहेको छ ।

  • प्रकाशित मिति : माघ २२, २०७७ बिहीबार १८:१२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया