कार्यकर्ताले एमसिसीविरुद्ध नारा लाएपछि छाडेर हिँडे प्रचण्ड (भिडियो)

काठमाडौं : अमेरिकी परियोजना एमसिसीलाई लिएर नेपालमा अझै पनि विवाद जारी छ। यदि संसद विघटन नभएको भए अहिलेकै सिजनमा एमसिसी पारित भइसक्नु पर्ने थियो। करिब ५८ अर्बको यो परियोजना संसदबाट पास गरेमा मात्रै लागु हुने अडान अमेरिकाले राख्दै आएको छ।

यो परियोजनाको रकम आउने विश्वाससहित १० अर्ब हाराहारीमा नेपालले आफ्नै स्रोतबाट खर्च गरिसकेको छ। एमसिसीलाई लिएर नेकपा र कांग्रेसमा अझै अलमल छ। बिहीबार गरिएको नेपाल बन्दका क्रममा अमेरिकी परियोजनालाई लिएर कार्यकर्ता र नेताबीच पनि मत बाझिएको देखियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा नियुक्ति गरेपछि विरोधमा उत्रिएको नेकपा नेपाल-दाहालका अध्यक्ष पुष्पकमल दाहाल बिहीबार बिहान ल्यान्ड क्रुजर गाडी चढेर अघिपछि सुरक्षाकर्मीसहित ललितपुरको पुल्चोक पुगे। जहाँको कमान्डर थिइन् नेतृ पम्फा भुसाल। आफ्ना अध्यक्ष आएपछि कार्यकर्ता उत्साहित हुने नै भए। 

अध्यक्ष आएको थाहा पाएपछि कार्यकर्ताले नारा लगाउन थाले प्रतिगमन मुर्दाबाट, प्रतिगमन मुर्दा। यस बेलासम्म दाहालले कार्यकर्तासँग सार मिलाइ नै रहेका थिए। मुठ्ठी उठाउँदै झार्दै मुर्दावाद मुर्दावाद भनिरहेका दाहाल माइकमा एमसिसी चाहिँदैन भनेपछि अचानक झस्किए। 

भिडियो



कार्यकर्ताले माइकबाट धेरैले सुन्ने गरी नारा लगाए, 'एमसीसी खारेज गर', 'एमसिसी खारेज गर', 'एमसिसी चाहिँदैन', 'एमसिसी चाहिँदैन'... यति नारा लागिनस्कदै दाहालले छेउमै रहेकी नेतृ भुसालले उक्त नारा रोक्न निर्देशन दिए। उनले अहिले प्रतिगमनविरुद्ध नारा लगाउनुपर्ने बताउँदै उक्त नारा रोक्न भुसाललाई हात र मुखले एकसाथ इशारा गरे। प्रचण्डको इसारापछि केन्द्रीय सदस्य हरि दाहालले उक्त नारा रोक्न भनेका थिए। 

एक पटकको आग्रहपछि कार्यकर्ताले उक्त नारा रोकेका थिए। तर केही बेरमा नै उनीहरुले फेरि नारा लगाए एमसिसी खारेज गर, खारेज गर....।



फेरि एमसिसीविरुद्ध नारा लगाइएपछि अध्यक्ष प्रचण्ड र विदेश विभाग उपप्रमुख विष्णु रिजाल अलमलमा परे। अर्थात एउटा विषयमा भएको आन्दोलनमा अर्को नारा लागेपछि उनीहरु अप्ठेरो मानेर उभिइरहे।  तर दोस्रो पटक पनि चर्को स्वरमा एमसिसीविरुद्ध नारा लागेपछि अफ्ठेरोमा परेका प्रचण्डले हतार हतार पम्फा भुसालतिर फर्किएर नमस्ते गर्दै बाटो लागे। अफ्ठेरो शारीरिक हाउभाउ देखाउँदै उनी मुन्टो निहुर्‍याएर पुल्चोकको प्रदर्शनस्थल छाडेर सुरक्षाकर्मीसहित त्यहाँबाट अन्यत्र हिँडे। 

  • प्रकाशित मिति : माघ २२, २०७७ बिहीबार १८:३२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया