नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल-नेपाल समूहले बिहीबार आह्वान गरिएको नेपाल बन्द सफल भएको दाबी गरेको छ। दाहाल-नेपाल नेकपाका केन्द्रीय संघर्ष समिति संयोजक नारायणकाजी श्रेष्ठले बिहीबार साँझ विज्ञप्ति निकालेर आमहड्ताल देखिएको समर्थनले उत्साहित बनाएको बताएका छन्।
आन्दोलनलाई बदनाम बनाउन जनतालाई उत्तेजित बनाउने कोसिस भए पनि आफूहरूले संयमता अपनाउँदा कुनै अप्रिय घटना हुन नपाएको प्रवक्ता श्रेष्ठले उल्लेख गरेका छन्।
दाहाल-नेपालले आन्दोलनमा सहभागी नेता कार्यकर्ता र नागरिकलाई पनि धन्यवाद दिएका छन्। नेपाल बन्दका क्रममा पक्राउ नेतृ अष्टलक्ष्मी शाक्य, नेताहरु हितमान शाक्य र विजय पौडेल लगायतलाई तत्काल रिहा गर्न पनि यो समूहले माग गरेको छ।
दाहाल-नेपाल समूहले शान्तिपूर्ण आन्दोलनमार्फत वर्तमान केपी ओली नेतृत्वको सरकारका प्रतिगामी कदमलाई पराजित गर्न आन्दोलनमा गोलबन्द भएर अघि बढ्न पनि आग्रह गरेको छ। उसले आन्दोलनका क्रममा भएका केही घटना र पत्रकारमाथिका दुर्व्यवहारलाई लिएर दु:ख जनाएको छ। प्रवक्ता श्रेष्ठले माघ २८ को प्रदर्शनलाई विशाल बनाउने पनि बताएका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।