बन्दका दृश्य : एमसिसीले प्रचण्डलाई अफ्ठ्यारो, सडकमै भात, माधवलाई स्कुटर, काउन्टरमा महेश
प्रहरीले नै रोक्यो सवारी, बन्द सफल भएको दाबी

दाहाल-नेपाल नेकपाले बिहीबार गरेको आम हड्तालका कारण संघीय राजधानी काठमाडौंको जनजीवन आंशिक प्रभावित भयो। आंशिक कुन अर्थमा भने सार्वजनिक सवारीसाधनलाई प्रहरी नै खटिएर मूल सडकमा निस्किन दिएन। तर निजी सवारीसाधन ढुक्कसँग  ओहोरदोहोर गरिरहे। 

सरकारले संसदीय सुनुवाइबिना संवैधानिक नियुक्ति गरेको आरोपमा गरिएको बन्दमा काठमाडौंका १० मुख्य चोकका लागि दाहाल-नेपालले कमाण्डर नै तोकेका थिए।

युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य कलंकी, बेदुराम भुसाल बल्खु, देव गुरुङ सातदोबाटो, लीलामणि पोखरेल कोटेश्वर, हरिबोल गजुरेल र वर्षमान पुन चावहिल, शक्ति बस्नेत महाराजगञ्ज, भीम रावल गोंगबु, रघुजी पन्त बालाजु, नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा रत्नपार्क र पम्फा भुसाललाई पुल्चोकको कमान्डरको जिम्मेवारी दिइएको थियो।

यही अनुसार बिहीबार बिहानैदेखि दाहाल-नेपालका नेता कार्यकर्ता बिहान उज्यालो नहुँदै सडकमा खटिएका थिए। कतिपय नेता कार्यकर्ताहरु दिनभरी सडकका चोकमा तैनाथ देखिएका थिए भने कतिपयलाई प्रहरीले तत्कालै पक्राउ गरेको थियो। 

आमहड्ताल घोषणा गरिएको बिहानै काठमाडौंको गोंगबुमा एउटा ट्याक्सी जलाइएको खबर आयो। बिहानै सडकमा निस्किएको समूहले सोह्र खुट्टे चोकतिर जाने सडकमा रहेको  प्रदेश ३-०१-००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेका थिए। गोंगबुको टाउन पछाडि रोकेर राखेको कुम्भ नारायण श्रेष्ठको ट्याक्सी जलाइएको थियो। यसलाई लिएर  दिनैभरी दाहाल-नेपाल समूहको आलोचना भइरह्यो।



यद्यपि यस घटनामा संलग्नको प्रहरीले अझै पहिचान गरेको छैन। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले घटनामा संलग्नको खोजी भइरहेको बताए।  तर दाहाल-नेपालले यस घटनालाई इन्कार गरेको छ। भीम रावल कमाण्डर रहेको स्थानमा ट्याक्सी जलाइएको हो। नेकपा नेता रामप्रसाद सापकोटा दीपशिखाले यस घटनामा प्रधानमन्त्री केपी शर्मा ओलीकै कार्यकर्ताको संलग्न रहेको आरोप लगाए। 



अष्टलक्ष्मी पक्राउ

कलंकी चोकमा कमान्डरका रुपमा खटिएकी नेतृ अष्टलक्ष्मी शाक्यसहितलाई प्रहरीले बिहानै पक्राउ गर्‍यो। शाक्य प्रदर्शन गर्न बिहानै कलंकी चोकमा पुगेकी थिइन्। उनीसँगै अन्य केही कार्यकर्ता तथा प्रदर्शनकारी कलंकी चोकमा भेला भइसकेका बेला प्रहरीले समातेको थियो। 

नाराबाजी भइरहेका बेला उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरे। सवारी साधन रोक्न खोजेपछि प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लियो। सुरक्षाकर्मीले त्यही क्रममा शाक्यलाई नियन्त्रणमा लिए। प्रहरीको भ्यानमा हालेर उनलाई महाराजगञ्जस्थित सशस्त्र प्रहरी गण-२ मा राखियो। त्यहाँबाट शाक्यलाई प्रहरीले नचिनी समातेको बताइएको छ।

प्रचण्डलाई फसाद 

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा नियुक्ति गरेपछि विरोधमा उत्रिएको नेकपा नेपाल-दाहालका अध्यक्ष पुष्पकमल दाहाल बिहीबार बिहान ल्याण्ड क्रुजर गाडी चढेर अघिपछि सुरक्षाकर्मीसहित ललितपुरको पुल्चोक पुगे। जहाँको कमान्डर थिइन् नेतृ पम्फा भुसाल। आफ्ना अध्यक्ष आएपछि कार्यकर्ता उत्साहित हुने थिए।

अध्यक्ष आएको थाहा पाएपछि कार्यकर्ताले नारा लगाउन थाले प्रतिगमन मुर्दाबाट, प्रतिगमन मुर्दा। यसबेलासम्म दाहालले कार्यकर्तासँग सार मिलाइ नै रहेका थिए। मुठ्ठी उठाउँदै झार्दै मुर्दावाद मुर्दावाद भनिरहेका दाहाल माइकमा एमसिसी चाहिँदैन भनेपछि अचानक झस्किए। 

घरबाटै मकै भटमास बोकेर आन्दोलनमा नारायणकाजी

कार्यकर्ताले माइकबाट धेरैले सुन्ने गरी नारा लगाए, 'एमसीसी खारेज गर', 'एमसिसी खारेज गर', 'एमसिसी चाहिँदैन', 'एमसिसी चाहिँदैन'... यति नारा लागिनस्कदै दाहालले छेउमै रहेकी नेतृ भुसालले उक्त नारा रोक्न निर्देशन दिए। उनले अहिले प्रतिगमनविरुद्ध नारा लगाउनुपर्ने बताउँदै उक्त नारा रोक्न भुसाललाई हात र मुखले एकसाथ इशारा गरे। प्रचण्डको इसारापछि केन्द्रीय सदस्य हरि दाहालले उक्त नारा रोक्न भनेका थिए। 

एक पटकको आग्रहपछि कार्यकर्ताले उक्त नारा रोकेका थिए। तर केही बेरमा नै उनीहरुले फेरि नारा लगाए एमसिसी खारेज गर, खारेज गर....। फेरि एमसिसीविरुद्ध नारा लगाइएपछि अध्यक्ष प्रचण्ड र विदेश विभाग उपप्रमुख विष्णु रिजाल अलमलमा परे। 

अर्थात एउटा विषयमा भएको आन्दोलनमा अर्को नारा लागेपछि उनीहरु अप्ठेरो मानेर उभिइरहे।  तर दोस्रो पटक पनि चर्को स्वरमा एमसिसीविरुद्ध नारा लागेपछि अफ्ठेरोमा परेका प्रचण्डले हतार हतार पम्फा भुसालतिर फर्किएर नमस्ते गर्दै बाटो लागे। अफ्ठेरो शारीरिक हाउभाउ देखाउँदै उनी मुन्टो निहुर्‍याएर पुल्चोकको प्रदर्शनस्थल छाडेर सुरक्षाकर्मीसहित त्यहाँबाट अन्यत्र हिँडे। 

अमेरिकी परियोजना एमसिसीलाई लिएर नेपालमा अझै पनि विवाद जारी छ। यदि संसद विघटन नभएको भए अहिलेकै सिजनमा एमसिसी पारित भइसक्नु पर्नेथियो। करिब ५८ अर्बको यो परियोजना संसदबाट पास गरेमा मात्रै लागु हुने अडान अमेरिकाले राख्दै आएको छ।

यो परियोजनाको रकम आउने विश्वाससहित १० अर्ब हाराहारीमा नेपालले आफ्नै स्रोतबाट खर्च गरिसकेको छ। एमसिसीलाई लिएर नेकपा र कांग्रेसमा अझै अलमल छ। बिहीबार गरिएको नेपाल बन्दका क्रममा अमेरिकी परियोजनालाई लिएर कार्यकर्ता र नेताबीच पनि मत बाझिएको देखियो।

नारायणकाजीको मकै भटमास

नेकपा दाहाल-नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले कुनै न कुनै स्टन्ट गर्न माहिर छन्। यसअघि उनी सार्वजनिक यातायातमा यात्रा गरेको भनेर चर्चा बटुलेका थिए। बिहीबार पनि दाहाल-नेपालका प्रवक्ता तथा नेकपा केन्द्रीय संघर्ष समिति संयोजक नारायणकाजी रत्नपार्कको कमाण्डर रुपमा खटिए। प्रदर्शनको नेतृत्व गरिरहेका नारायणकाजी रत्नपार्कमा मकै भटमास खाँदै बसिरहेका थिए। 

श्रेष्ठले आफैँले घरबाट मकै भटमास ल्याएको जानकारी त्यहाँ दिएका थिए। उनीसँगै बसेका अन्य प्रदर्शनकारीहरूलाई पनि उनी मकै बाँड्दै थिए। रत्नपार्कमा नारायणकाजी श्रेष्ठको अगुवाइमा करिब २ सय नेता कार्यकर्ता बन्द सफल पार्न प्रदर्शन गरिरहेका थिए। नारायणकाजी लगायतले मकै भटमास खाइरहँदा अन्य कार्यकर्ता चाउचाउ बिस्कुट चपाइरहेका थिए। 

स्कुटरमा माधव 

दाहाल-नेपालका कार्यकर्ताले बिहानैदेखि सर्वसाधरणलाई दुई पाङ्ग्रे र चार पाङ्ग्रे दुवै गाडी चढेर सडकमा आउँदा अवरोध गरिरहे। तर दुई अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल भने सवारीसाधनमा सवार भएर सडकमा निस्किए। प्रचण्डले खुमलटारबाट ल्याण्ड क्रुजरमा सवार भए बन्दमा नाराबाजी गर्न चोकचोकमा पुगे। 

नेकपा दाहाल-नेपालका अध्यक्ष नेपाल आमहड्तालको निरीक्षण भन्दै स्कुटरमा सवार भएर सडकमा निस्किए। तर सवारीसाधन नचलेर सर्वसाधारणले सास्ती पाइरहँदा नेपाल भने हड्ताल हेर्न स्कुटरमा चढेर सडकमा निस्किए।

अध्यक्ष प्रचण्ड ल्याण्ड क्रुजरमा सवार भएर अघिपछि सुरक्षाकर्मीसहित आन्दोलन हेर्न सडकमा निस्किएको समयमा नेता नेपाल पनि स्कुटरमा सवार भएका थिए। 

प्रचण्डलाई चिउरा र चाउचाउ 

सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहले आयोजना गरेको आमहड्ताल सफल बनाउन अध्यक्ष दाहाल आफैँ ल्याण्ड क्रुजर चढेर सडकमा उत्रिए। उनलाई पुल्चोकमा कमाण्डर पम्फा भुसालसहितले चाउचाउ र चिउराले स्वागत गरे। 

खुमलटारबाट निस्किएर प्रचण्डले सातदोबाटो, कोटेश्वर हुँदै पुल्चोकको सडकमा बसेर हड्ताल सफल  बनाउन बसे। हड्तालका लागि सडकमा आएका कार्यकर्तालाई त्यहाँ चाउचाउ, चिउरा र पानीको व्यवस्था गरिएको थियो।

प्रचण्ड आफैँ सडकमा आएर हड्तालको नेतृत्व गरिरहँदा उनलाई चाउचाउ, चिउरा र पानीले स्वागत गरेका थिए। उनीसँगै पुल्चोकको हड्तालमा भुषाल र विष्णु रिजाललगायतका नेताहरु बसेर चाउचाउ चिउरा चपाए।

सडकमै खाना 

दाहाल-नेपाल समूहका कार्यकर्ताले आज सडकमै मेस चलाएर सडकमै बसेर भात खाए। बिहीबार गरिएको देशव्यापी आम हड्तालका क्रममा लीलामणि पोखरेलको कमाण्डमा काठमाडौंको कोटेश्वर चोकमा खटिएका नेता कार्यकर्ताले सडकमै मेस चलाएर भात खाए। 

कोटेश्वर चोकको ट्राफिक बिटमुनि ग्यास चुल्हो ल्याएर सडकमै मेस चलाइएको थियो। त्यहाँ दाहाल-नेपालका कार्यकर्ताले दाहाल, भात र भटमासको न्युटोलासहितको तरकारी पकाएर सडकमै खाए थिए।

बिहानभरी सडकमा खटिँदा कार्यकर्ता भोकले तितरबितर हुन थालेपछि कोटेश्वर चोकमै मेस बनाइएको हो। उक्त मेसमा पाकेको भात नेता पोखरेल र रामप्रसाद सापकोटा दीपशिखासहितले खाएका थिए। करिब सयभन्दा धेरै कार्यकर्ताले सडकमै बसेर दाल, भात र तरकारी खाए।

पुलिस आफैंले बन्दकर्ता

भक्तपुरतर्फबाट आउने अरनिको राजमार्ग प्रहरी आफैँले बन्द गरेको थियो। कोटेश्वरमा दाहाल-नेपालका कार्यकर्ता ठूलो संख्यामा बसेपछि ट्राफिक प्रहरीको टोलीले जडीबुटी पेट्रोल पम्प र जडीबुटी चोकमा अवरोध खडा गरेर यात्रुलाई रोके। निजी र सार्वजनिक सवारीसाधनलाई प्रहरीले मूल सडकमा छिर्न दिएनन्। तर दुवै स्थानमा ठूलो भीड बढ्दै गएपछि ट्राफिक प्रहरीले केही मिनेटको फरकमा सवारीसाधन छाडिदिन्थे।

कोटेश्वर चोकमा मेस नै चलाएर दाहाल-नेपालका कार्यकर्ता जुटेपछि ट्राफिक प्रहरीले जडीबुटीबाटै सवारीसाधनलाई भित्री सडकतिर पठाए। माथिको निर्देशन अनुसार सडक नै छेकेर सवारीसाधन अन्यत्र डाइभर्ट गर्नुपरेको जवाफ त्यहाँ खटिएका ट्राफिक प्रहरी र जवानले बताइरहेका थिए। 

काउन्टरमा महेश बस्नेतको मार्चपास 

दाहाल-नेपालको बन्दका बीच प्रधानमन्त्री केपी शर्मा ओलीनिकट युवाहरुले काठमाडौंमा मार्चपास गरे। युवा नेता महेश बस्नेतको संयोजनमा ठूलो संख्याका युवाहरुले सडकमा निस्किएर प्रदर्शन गरेका हुन्। त्यसबेला रत्नपार्कमा दाहाल-नेपालका प्रवक्तासहित ठूलो संख्यामा दाहाल-नेपालका कार्यकर्ता खटिएका थिए। 

नेता बस्नेतको नेतृत्वमा युवा–विद्यार्थीहरूले रातो टोपी र झण्डासहित काठमाडौंमा मार्चपास गरेका थिए। राष्ट्रिय युवा संघ, अनेरास्ववियु, खेलकुद महासंघ, सम्पर्क मञ्चका समन्वय कमिटीका युवाहरुले प्रदर्शनी मार्गबाट पुतलीसडक हुँदै कमलादीसम्म मार्चपास गरे। 

ओली समूहका युवा-विद्यार्थीले कमलादीबाट पुतलीसडक हुँदै प्रदर्शनीमार्गसम्म प्रदर्शन थिए। मार्चपासमा निस्किएका युवा विद्यार्थीले ‘केपी बा आइ लभ यू’ ‘आज होइन भोलिलाई, १० वर्ष ओलीलाई, 'अघि बढ केपी बा, ज्यान दिन तयार छ’ जस्ता अनौठा नारा नारा लगाएका थिए।

तोडफोड र पक्राउ

दाहाल-नेपाल समूहले आमहड‍्तालका क्रममा विभिन्न ठाउँमा तोडफोड भएका छन्। तोडफोड र जवरजस्ती गर्ने कयौंलाई प्रहरीले पक्राउ गरेको छ। दाहाल–नेपाल समूह बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चारवटा ट्रकमा तोडफोड गरे। जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेका दुई र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरे।     

बन्दकर्ताले ना३ख ३९३, ना १ क १४३५ र ना८ख ४४८० नम्बरको ट्रक तोडफोड गरेको प्रहरीले जनाएको छ। मोटरसाइकलमा आएका बन्दकर्ताले भरतपुर महानगरपालिका–१ भतेरीमा ट्रक तोडफोड गरेका थिए। यस्तै टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ८८५५ नम्बरको मालबाहक ट्रकलाई भरतपुर महानगरपालिका–१२ मिलनचोकमा तोडफोड गरेको प्रहरीले जनाएको छ।  


बिहीबार बिहानै काठमाडौंको सामाखुसीमा गुडिरहेको ट्याक्सीमा अज्ञात समूहले आगजनी गरेको थियो। काठमाडौँ महानगरपालिका–२६ आत्मज्ञानस्थित सडकमा आज बिहान ६ः३० बजे प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गर्दा ट्याक्सी जलेर नष्ट भएको थियो।    

प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार उपत्यकाबाट एक सय भन्दा धेरै कार्यकर्ता पक्राउ परे। पक्राउ पर्नेमा उक्त पार्टीका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, नेत्री अमृता थापा मगर र विजय पौडेललगायत थिए।

 गृह मन्त्रालयले नेपालको संविधान र प्रचलित कानुनविपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, सर्वसाधारण नागरिकले प्रयोग गर्ने यातायात सञ्चालनमा अवरोधलगायत ध्वांसात्मक एवं अवाञ्छित गतिविधि नगर्न सम्बद्ध पक्षसँग अनुरोध गरेको थियो।

मातृका र रामचन्द्र घाइते

बन्दका क्रममा सडकमा उत्रिएका पूर्व उद्योगमन्त्री मातृका प्रसाद यादव गम्भीर घाइते भएका छन्। जनकपुरको शिव चोकमा प्रहरीसँगको झडपमा पूर्व मन्त्री यादवको अण्डकोषमा गम्भीर चोट लागेको प्रादेशिक अस्पताल जनकपुरले जानकारी दिएको छ।

बन्द सफल पार्न जनकपुरधामस्थित शिव चोकमा निस्किएका पूर्व मन्त्री रामचन्द्र झाको टाउकोमा गहिरो चोट लागेको छ। उनको टाउकोमा चार टाँका हानिएको छ। प्रहरीसँग झडपका क्रममा यादवको अण्डकोषमा गम्भीर चोट लागेको प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट प्रमोद यादवले बताएका छन्। 

प्रहरीसँगको झडपमा उनको तिघ्रामा पनि चोट देखिएको यादवले बताए। यादवलाई प्रादेशिक अस्पताल जनकपुरमा प्राथमिक उपचारपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको नेकपा संघर्ष समिति धनुषाका संयोजक सुधीर साहले बताएका छन्। 

झडपका क्रममा नेकपा स्थायी समिति सदस्य झाको टाउको फुटेको छ। त्यस्तै शहिदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया र नेता प्रदीप साहको टाउको र शरीरभरी चोट लागेको छ।

उनीहरुलाई पनि थप उपचारका लागि प्रादेशिक अस्पतालबाट काठमाडौं रिफर गरिएको मे.सु. डा. यादवले जानकारी दिए। झडपमा दाहाल-नेपालका जिल्ला अध्यक्ष श्रवण बरबरिया, कारी यादव पनि घाइते भएका छन्। प्रहरीतर्फ जवान लालबाबु राय घाइते भएका छन्।

हेटौँडामा खुकुरी काण्ड

बागमती प्रदेशको राजधानी हेटौंडामा आम हड्तालको प्रभाव आंशिक रूपमा देखियो। हेटौंडाका मुख्य चोकहरू बुद्धचोक र सीमाचोक क्षेत्र पूर्ण बन्द रहे पनि अन्य स्थानमा भने सवारी साधान र केही पसल खुलेका थिए।

आन्दोलनको मोर्चा सम्हालेका प्रदेश सभा सदस्य तथा नेकपा मकवानपुरका सचिव प्रेम पुलामीलाई बन्द गर्दै हिँडेको आरोपमा बिहानै पक्राउ गरिएको थियो। उनलाई आधा घण्टा हिरासत राखी प्रहरीले छाडेको थियो। 

बन्दकै बीचमा मोटरसाइकल लिएर हिँड्ने हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतका छोरा रूपक महतको मोटरसाइकल नियन्त्रणमा लिएर प्रचण्ड–माधव समूहले तोडफोड गर्नुका साथै महतलाई समेत कुटपिट गरे।

आम हड्तालको पक्षमा प्रचण्ड-माधव समूह सडकमा रहेको अवस्थामा दिउँसो बन्दको विरोध गर्दै ओली समूहले पनि प्रदर्शनमा उत्रिएको थियो। दुवै पक्षबीच भिडन्त हुन सक्ने आशंकामा प्रहरीले सुरक्षा सतर्कता समेत बढाएको थियो। 

हुलमै नाङ्गो खुकुरी

नेकपा (प्रचण्ड–माधव) समूहको आम हड्तालमा हेटौंडामा एक जनाले नाङ्गो खुकुरी नचाए । प्रचण्ड–माधव समूहको हुलमा आएर हेटौंडा–५ का दिलीप सञ्जेलले ‘बन्द किन गर्ने ?’ भन्ने प्रश्न गर्दै नेकपाका नेताहरूलाई ताकेर खुकुरी हान्न थालेपछि प्रतिकार भएको थियो। सञ्जेललाई प्रहरीले पक्राउ गरेको छ।

बख्तरबन्दले बन्दकर्ता भागे

धनगढीमा नेकपा प्रचण्ड–माधव समूहको प्रदर्शन चलिरहेका बेला नेपाली सेनाको हतियारसहितको बख्तरबन्द गाडी गुड्यो। सेनाको बख्तरबन्द गुडेपछि प्रदर्शनकारी तितरवितर भएका थिए।

यद्यपि, नेपाली सेनाको जंगीअड्डाले भने प्रदर्शन चलिरहेका बेला सेनाको बख्तरबन्द गाडी गुड्नु संयोग मात्र भएको बताएको छ। बख्तरबन्द गाडीको नियमित अभ्यास चलिरहेको र धनगढीमा आइपुग्नु संयोग मात्रै भएको सेनाको भनाइ छ। 

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार १९ र २१ माघमा सेनाले बख्तरबन्द गाडीको नियमित अभ्यास गरेको थियो। सोहीअनुसार बिहीबार सेनाको अभ्यास सकिएको र नेपालगञ्जबाट फर्किएको बख्तरबन्द गाडी र प्रदर्शनकारीबीच धनगढीमा जम्काभेट भएको थियो। 

 

  • प्रकाशित मिति : माघ २२, २०७७ बिहीबार २१:२९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया