अमेरिकाले म्यानमारमा सेनाले शक्ति त्याग्दै गिरफ्तार गरिएका राष्ट्रपति विन मिन्ट, नेतृ आङ सान सुकीसहितका नेताहरुलाई रिहा गर्न भनेको छ । आफ्नो पहिलो विदेश नीति सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले सेनाले शक्ति छाड्नुपर्ने बताएका छन् ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले म्यानमारको परिस्थितिमा गहिरो ध्यानाकर्षण भएको बताएलगत्तै अमेरिकाले सेनाले शक्ति त्यागेर जनमतका आधारमा चल्नुपर्ने बताएको हो ।
बाइडेनले एकाबिहानै शक्ति हत्याएर जननिर्वाचित नेताहरुलाई पक्राउ गर्नु जनभावना तथा जनमतविपरीत भएको र प्रजातन्त्र पुनःस्थापना हुनुपर्ने अमेरिकाको प्रष्ट अडान भएको बताएका छन् ।
अमेरिकाले म्यानमारको सैन्य कू को विषयमा आफ्नो गठबन्धन तथा सहयोगी देशहरुसँग छलफलमा रहेको भन्दै सैन्य कदमको विपक्षमा आफूलाई उभ्याएको छ । बाइडेनले सैन्य कदम चालिएकै दिनमा फिर्ता लिनका लागि चेतावनी दिएका थिए ।
बाइडेनले म्यानमारको सेनाले शक्ति त्यागेर गिरफ्तार गरिएका अधिवक्ता, अभियान्ता र अधिकारीहरुलाई रिहा गर्दै सञ्चारमा लागेको प्रतिबन्ध हटाउनुपर्ने बताएका अलजजिराले लेखेको छ ।
गत सोमबार म्यानमारमा सेनाले शासनसत्ता आफ्नो हातमा लिँदै राष्ट्रपति मिन्ट, नेतृ सुकीसहितका सत्तारुढ दलका प्रभावशाली नेताहरुलाई गिरफ्तार गरेको थियो । त्यसयता म्यानमारमा प्रजातन्त्र डिरेल भएको भन्दै विभिन्न राष्ट्रले सेनालाई कदम सच्याउन भनिसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।