काठमाडौं : बेलायत सरकारले नेपाललाई करिब २० लाख डोज कोरोना भाइरसविरुद्धको खोप सहयोग गर्ने भएको छ। नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले बेलायत सरकारले नेपाल सरकारलाई २० लाखभन्दा बढी खोपको डोज फागुनभित्रमा उपलब्ध गराउने बताएकी छन्।
उनले को-भ्यासकलाई बेलायतले करिब साढे सात खर्ब रकम सहयोग गर्न लागेकोले त्यसबाट नेपाललाई पनि खोप सहयोग हुने बताएकी छन्। आगामी महिना उक्त खोप नेपाल पुग्ने भएकाले आफू निकै हर्षित भएको उनले बताएकी छन् ।
राजदूत पोलिटले मंगलबार उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग भेटेर खोप सहयोगको प्रक्रिया अघि बढेको जानकारी दिएकी थिइन्। उक्त भेटका क्रममा पोखरेलले संयुक्त अधिराज्यबाट नेपालको विकासमा भइरहेको सहयोग र कोभिड–१९ का बिरामीको उपचारका लागि उपलब्ध सहयोगप्रति धन्यवाद दिए।
त्यस अवसरमा राजदूत पोलिटले नेपालले जोखिममा रहेका आफ्ना नागरिकका लागि शुरु गरेको कोभिड–१९ विरुद्धको खोप अभियानको सराहना गर्दै नेपाललाई यस अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन्।
नेपाललाई यसअघि सबैभन्दा पहिले भारतले १० लाख डोज कोरोना खोप दिएको थियो। त्यसैगरी चीनले ३ लाख डोज खोप दिने भएको छ। भारतले दिएको खोप करिब ४ लाख स्वास्थ्यकर्मीसहितलाई लगाइँदैछ। चीनले दिन लागेको खोपले १ लाख ७५ हजारलाई लगाउन पुग्नेछ। बेलायतले दिन लागेको खोप १० लाख नागरिकमा लगाउन पुग्नेछ।
बेलायत सरकारको कोभ्याकसलाई करीव रु. साढे सात खरब (५५० मिलियन पाउण्ड) रकमको सहयोगले नेपाललाई २० लाख भन्दा बढी डोज खोप आगामी महिनामा आइपुग्ने भएकोले निकै हर्षित छु। नेपाल सरकारको @mohpnep, @WHONepal र @unicef_nepal संगको हाम्रो सयकार्यले उक्त खोप वितरण हुनेछ । #VaccinesForAll pic.twitter.com/wliBK2exTo
— NicolaPollitt (@NicolaPollittUK) February 4, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।