सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्ष छोराको तुलनामा छोरी थोरै जन्मिएको तथ्यांकले देखाएको छ ।
जन्मको आधारलाई हेर्दा छोराको तुलनामा छोरीको संख्या ५० प्रतिशतबाट तल झरेको छ । एक दशक अघिसम्म सुदूरपश्चिम प्रदेशमा छोरीको जन्म अनुपात छोराको तुलनामा अधिक रहे पनि अहिले कमी आएको हो ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकअनुसार आर्थिक वर्ष ०७४/७५ मा प्रदेशमा ४३ हजार ८६४ शिशुको जन्म भएको थियो । त्यस वर्ष शिशु जन्ममध्ये २३ हजार ४ जना छोराको जन्म भएको थियो भने २० हजार ८६० छोरीको जन्म भएको थियो । प्रादेशिक स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार त्यस वर्ष प्रदेशमा छोरीको जन्म अनुपात ४७ दशमलव छ प्रतिशत रहेको थियो ।
त्यस्तै, अघिल्लो आव ०७५/७६ मा सुदूरपश्चिममा छोरीको जन्म अनुपातमा थप कमी आएको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार उक्त आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा ४५ हजार १९० शिशुको जन्म भएकोमा छोरीको जन्म अनुपात ४६ दशमलव एक प्रतिशतमा झरेको थियो । त्यस आवमा प्रदेशमा २४ हजार ३६९ जना छोरा र २० हजार ८२१ छोरी जन्मिएका थिए ।
त्यस्तै, गत आव ०७६/७७ मा प्रदेशमा ४५ हजार २२२ शिशु जन्मिएका थिए । सो वर्षमा यहाँ छोरीको जन्म ४५ दशमलव ९ प्रतिशतमा पुगेको थियो ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आव ०७६/७७ मा सुदूरपश्चिम प्रदेशमा २४ हजार ४७२ छोराको जन्म भएको थियो भने २० हजार ७५० छोरीको जन्म भएको थियो ।
त्यस्तै, चालु वर्ष ०७७/७८ को पुस महिनासम्म सुदूरपश्चिम प्रदेशमा कुल नवजात शिशु जन्ममध्ये छोरीको जन्मदर ४५ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको पुस महिनासम्म प्रदेशमा २७ हजार ७१३ शिशु जन्मिएकोमा १५ हजार २३४ जना छोरा र १२ हजार ४७९ छोरीको जन्म भएको थियो ।
सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर सामाजिक, शैक्षिक तथा आर्थिक रूपमा विकसित मानिन्छ । तर, यी दुई जिल्लामै पनि कुल जन्ममध्ये छोरीको जन्मको अनुपात हरेक वर्ष कम हुँदै गएको तथ्यांकले देखाएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकअनुसार कैलालीमा ०७४/७५ मा १५ हजार ३५६ शिशु जन्मिएकोमा छोरीको जन्म अनुपात ४७ दशमलव ३ प्रतिशत रहेको थियो ।
त्यस्तै, ०७५/७६ मा प्रदेशमा १६ हजार ४७५ शिशुको जन्म भएकोमा छोरीको जन्म अनुपात ४३ दशमलव ३ प्रतिशत रहेको थियो ।
आव ०७६/७७ मा १६ हजार ४०५ जना शिशु जन्मिएकोमा छोरीको जन्म अनुपात ४४ दशमलव छ प्रतिशत रहेको थियो ।
चालु वर्ष ०७७/७८ को पुस महिनासम्म कैलालीमा ९ हजार ९६७ जना शिशु जन्मिएकोमा छोरीको जन्म अनुपात ४२ दशमलव आठ प्रतिशत रहेको छ ।
कञ्चनपुरमा ०७४/७५ मा ५ हजार ७८४ शिशुको जन्म भएकोमा छोरीको जन्म अनुपात ४६ प्रतिशत रहेको थियो ।
अघिल्लो वर्ष ०७५/७६ मा कञ्चनपुरमा ५ हजार ८७४ शिशुको जन्म भएकोमा छोरीको जन्म अनुपात ४५ दशमलव ९ प्रतिशत रहेको थियो ।
आव ०७६/७७ मा कञ्चनपुरमा ६ हजार २५७ जना शिशुको जन्म भएकोमा छोरीको जन्म अनुपात ४४ दशमलव ३ प्रतिशत रहेको थियो । भने चालु वर्ष ०७७/७८ को पुस महिनासम्म कञ्चनपुरमा ३ हजार ९०१ शिशुको जन्म भएकोमा छोरीको जन्म अनुपात ४६ दशमलव ५ प्रतिशत रहेको छ ।
‘पहिलो सन्तान जे भए पनि हुन्छ । अधिकांश दम्पती दोस्रो सन्तान पहिचान गराएर नै आउने गर्छन्’ धनगढीस्थित सेती प्रादेशिक अस्पतालका प्रसूति गृह विभाग प्रमुख यशोदा ढकालले भनिन्, ‘प्रविधिको विकास भएसँगै लिङ्ग पहिचान गराउने दम्पतीको संख्या बढेको छ । छोरा भए सहज रूपमा लिन्छन् । छोरी भए प्रायः पहिले नै गर्भपतन गराउँछन् ।’
कैलालीमा आव ०७४/७५ मा २० वर्ष मुनिका १८८ आमाले औषधी सेवन गरी गर्भपतन गराएका थिए । भने सर्जिकल विधिबाट २८८ जना आमाले गर्भपतन गराएका थिए ।
आव ०७५/७६ मा औषधी सेवनबाट १३० जनाले र सर्जिकल विधिबाट १११ जना आमाले गर्भपतन गराएका थिए ।
त्यस्तै, गत वर्ष ०७६/७७ मा औषधी सेवन र सर्जिकलबाट गर्भपतन गराउने आमाको संख्या ९१/९१ रहेको कैलाली स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।
मुलुकी ऐन–२०२० ले महिलाको चाहनाअनुसार सामान्य अवस्थामा १२ सातासम्मको गर्भपतन गर्न कानुनी मान्यता दिएको छ । बलात्कारबाट गर्भवती हुँदा भने स्वास्थ्य संस्थाले १८ महिनासम्म गर्भपतन गराउन सक्छन् ।
अन्यत्र निजी क्लिनिक वा अस्पतालमा गई भ्रूण पहिचान गरेपश्चात् गर्भपतन गर्न आएको हुन सक्ने हुँदा लिंग पहिचान गरी गर्भपतन गराउन आएको हो/होइन भन्ने स्वास्थ्य संस्थालाई जानकारी नहुने सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेयले बताए ।
सेती प्रादेशिक अस्पतालका प्रसूति विभागकी प्रमुख ढकालले भनिन्, ‘गर्भपतन गराउनेमा पढे, लेखेका र आर्थिक रूपमा सम्पन्न भएका नै बढी रहेका छन् ।’ उनले प्रविधिको विकास भएसँगै छोराछोरीमा विभेद पनि बढेको बताइन् । उनले भनिन्, ‘अहिले निजी स्वास्थ्य संस्थामा लुकिछिपी भ्रूण जाँच भइरहेका छन् ।
कानुनतः सरकारले भ्रूण जाँचलाई मान्यता दिएको छैन । भ्रूण पहिचान गरी गर्भपतन गरे अधिकतम् पाँच वर्षसम्म जेल सजायको व्यवस्था गरिएको छ ।’ मुलुकी ऐनले गर्भपतन गराउने उद्देश्यले लिंग पहिचान गरेको खुले ६ महिनादेखि २ वर्ष कैद सजाय हुने व्यवस्था पनि गरेको छ । तर, कानुनको प्रभावकारी कार्यान्वयन हुन नसकेको उनी बताउँछन् ।
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले विगतमा उपकरण नहुँदा छोराछोरी जन्मदरमा प्रभाव नपरेको बताए । उनले भने, ‘पछिल्लो समय प्रविधिको विकास र कानुनी रूपमा केही खुकुलो हुँदा छोरीको जन्मदरमा कमी आउँदै गरेको छ ।’ उनले पितृसत्तात्मक सोचका कारण पनि समाजमा अहिले पनि छोराको चाहना कायमै रहेको बताए ।
छोराछोरीको जन्म अनुपातमा बढ्दै गएको अन्तरले भविष्यमा लैङ्गिक अनुपातमा प्रभाव पर्ने स्वास्थ्य कार्यालय प्रमुख धामीले बताए । उनले भने, ‘यसरी नै छोरीको जन्मको अनुपातमा कमी आउने हो भने विवाहका लागि भोलि पुरुषले महिला नपाउने अवस्था आउन सक्छ ।’ उनले महिलाको जन्मदर घट्दा भविष्यमा जबरजस्ती करणी, महिलामाथिका हिंसा लगायतका घटना पनि बढ्न सक्ने बताए ।
उनले छोरीको जन्म अनुपात वृद्धि गर्न समाजमा सचेतना फैलाउनुपर्ने, छोराछोरी बराबरी भन्ने सन्देश सबैलाई बुझाउनुपर्ने र सरकारले बनाएका कानुनको प्रभावकारी कार्यान्वयन गरे केही सुधार हुने बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।