बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको भन्दै स्थानीयले प्रदर्शन गरेका छन् । दोगडाकेदारको खोचलेक बजारमा स्थानीय र सनातन धर्म माविका विद्यार्थीले प्रदर्शन गरेका हुन् ।
किशोरीको बलात्कारपछि हत्या गरिएकाले दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको अनेरास्ववियुका नेता भुवन कार्कीले जानकारी दिए । उनीहरूले खोचलेक बजारमा प्रदर्शन गर्दै भागरथीको हत्या गरिएकाले हत्यामा संलग्न जो सुकै भए पनि कारबाहीको दायरमा ल्याउन माग गरेका छन् ।
मृतक भागरथीका तस्बिर अंकित प्लेकार्ड बोकेर विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । ‘भागरथीलाई न्याय दे’, ‘हत्यारालाई फाँसी दे’ लगायतका नारा लगाएर विद्यार्थी प्रदर्शनमा उत्रिएका हुन् ।
बुधबार विद्यालय गएकी भागरथी बिहीबार साँझ मृत अवस्थामा फेला गरेकी हुन् । भागरथीको बलात्कारपछि हत्या गरिएको परिवारजनले आशंका गरेका छन् । किशोरी खोचलेकस्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन् । उनको हत्यामा संलग्न जो सुकै भए पनि कारबाहीका लागि विभिन्न पार्टीले माग गरेका छन् ।
किशोरीको मोबाइल विश्लेषण गर्दै प्रहरी
घटनास्थललाई नियन्त्रणमा लिएर ‘सिल’ गरेको प्रहरीले घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर प्रयोग गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले घटनाको गाम्भीर्यलाई ध्यानमा राखेर सोहीअनुसार अनुसन्धान भइरहेको बताए ।
सिंहकाअनुसार जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशी र सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता भानदेव जोशी पनि घटनास्थल पुगेका छन् ।
शवको परीक्षण, बलात्कारपछि हत्या भएको आशंकामा परीक्षणका लागि आवश्यक पर्ने भेजाइनल स्वाब लगायतका अन्य आवश्यक नमुना संकलन गर्न प्रहरीले डाक्टरलाई घटना स्थलमै बोलाइएको जनाएको छ ।
यस्तै, सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता जोशी पनि घटनाको वास्तविक वस्तुस्थिति बुझ्न घटनास्थल पुगेका थिए ।
घटनास्थलमै रहेका बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले किशोरीको शव भेटिएकै स्थानमा उनले प्रयोग गर्ने मोबाइल समेत फेला परेको बताए । उनले मोबाइलको समेत सुक्ष्म तरिकाले अनुसन्धान भइरहेकाले त्यसबाट समेत केही कुरा खुल्ने विश्वास व्यक्त गरे । उनले किशोरीको बलात्कारपछि हत्या गरिएको आशंका भए पनि शव परीक्षण र थप अनुसन्धानपछि मात्र बाँकी कुरा खुल्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।