आफूले नपढेरै छोराछोरी पढाएँ, अब मलाई पढाउने पालो उनीहरूको

१३ वर्षको कलिलो उमेर । संगीसाथीसँग हाँस्दै खेल्ने बेला । आफूभन्दा १० वर्ष जेठासँग आफैंले बनाएकी झुम्राकी पुतली झैं बिहे भयो, ताप्लेजुङकी कल्पना लिम्बूको । उनलाई त्यतिबेला लोकन्तीहरूले पिठ्युमा बोकेर खोला तारेको धमिलो सम्झना छ । दुलाहाले सिन्दुर हालिदिएको सपनाजस्तै लाग्छ, कल्पनालाई आफ्नै बिहेको सम्झना पनि ।

ताप्लेजुङको थर्पुमा जन्मिएकी कल्पना सानैदेखि जुझारु स्वभावकी थिइन् । उनका बुवा आमाका ६ बैनी छोरी । पहिलो छोरो बितेपछि कल्पनाका दुई दिदीहरू जन्मिए । कल्पना उनकी आमाको पेटमा आउँदा उनका बा–आमाले छोराको कल्पना गरेका थिए । त्यसैले उनको नामै कल्पना राखिदिए ।

त्यो समयमा पनि कल्पनाका बुवामा छोरीलाई पढाउनु पर्छ भन्ने चेतना थियो । ताप्लेजुङकै ऐँसेलु स्कुलका हेडमास्टर उनका पिताले उनलाई हात समातेर स्कुल पुर्‍याए । अक्षर चिनाए । कल्पनालाई स्कुल लगे वापत उनका बुवाले समाजको भनाइ नखाएका होइनन् । समाजसँग लड्दै ९ कक्षासम्म पढाए । त्यसपछि भने कल्पनाका बुवाले समाजसँग विद्रोह गर्न सकेनन् ।

कल्पनाको उमेर समाज बुझ्ने भएकै थिएन । समाज नबुझ्दै थर्पुबाट अन्मिएर श्रीमान्को घर फाखोला पुगिन् । फाखोलामा उनका साथी थिएनन् । बा–आमा थिएनन् । खेल्ने खेलौना थिएनन् । उनी माइती आउन चाहन्थिन् । तर, घरमा रोगी सासू, बुढा ससुरा छोडेर हिँड्न पाइनन् । घरकै सानातिना काम गरेर २ वर्ष गुजारिन् ।

बिहे गरेको २ वर्ष बित्यो । कल्पनाको जीवन यात्राले १५ वर्षका हिउँद बर्खा गुजारे । १६ वर्ष टेक्नै लाग्दा उनी पहिलोपटक आमा बन्ने भइन् । त्यो पनि कल्पनाले कसरी जान्नु ? उनी त दिनभरि सुतिदिन्थिन् । खाना खान्नथिन् । थाहा थिएन के भयो । एकदिन उनकी सासूले भनिन्, ‘कान्छी त दुई जिउकी भइ की क्या हो ?’

त्यो समय अहिलेको जस्तो सहज कहाँ थियो र ? आज सम्झेर ल्याउँदा आफैंले बाँची आएको जिन्दगी कहाली लाग्छ कल्पनालाई । उनलाई अस्पताल कस्तो हुन्छ थाहै थिएन । त्यतिबेला भन्थे, ‘भारी जिउ भएपछि झन् काम गर्नुपर्छ । नत्र बच्चा जन्माउन गाह्रो हुन्छ ।’ कल्पनाले पनि गर्भवती हुँदा सधैं गरेका सबै काम गरिन् । भान्सामा जे पाक्थ्यो त्यही खाइन् ।



आँतले मागेको कुरा कहाँ पाउनु त्यो समय । मन लागेजति नखाएरै उनी आमा भइन् । उनको छोरो जन्मियो । घरमा उनी भाग्यमानी भइन् । ‘पहिलो सन्तान नै छोरो जन्मनु हाम्रो समाजमा छोरीहरू भाग्यमानी हुनु रहेछ’, कल्पनाले सुनाइन् । 

कच्चा उमेर । अशिक्षाले जकडिएको समाज । कल्पनाले कसरी बुझ्नु आमा बन्दाका जटिलता र बच्चा हुर्काउनका लागि अवलम्बन गर्नुपर्ने तरिका । उनलाई छोरो सुताउँनै डर लाग्थ्यो । भन्छिन्, ‘किचिएर मर्छकी झैं लाग्थ्यो । भित्तामा सुताएर छेउमा सुत्थेँ ।’ छोरो जन्मिँदा साथमा सासू थिइन् । छोरो सजिलै हुर्किँदै थियो, सासूको मृत्यु भयो । त्यसपछि सुरु भएका कल्पनाका संघर्षका दिन ।



६ वर्षमा छोराको काख छुट्यो

बाँदर लाग्ने पाखो । पढ्नु पर्छ भन्ने चेतनाको विकास नभएको समाज । ६ वर्ष टेक्दै गरेका उनका छोरा । बेरोजगारी श्रीमान् । कल्पनाको मन छोराको भविष्य के होला भन्ने त्रासले भतभती पोल्थ्यो । उनका साना छोरा गाउँकै केटाकेटीसँग बाँदर धपाउँदै हिँड्थे । कल्पनाले सोचिन्, ‘आफूले त पढ्न पाइएन । छोरालाई पढाउनु पर्छ ।’

गाउँमा स्कुल नजिक थिएन । छोरालाई काठमाडौं पठाउने निधो गरिन् । उनका भतिजा पहिले नै पढ्न काठमाडौं आएका थिए । भतिजाकै साथ लगाएर कल्पनाले ६ वर्षीय छोरालाई आफ्नो काखबाट छुटाइन् । सानो झोला भिराएर काठमाडौं पठाइन् ।

छोरो काठमाडौं पठाउँदा कल्पना भारी जिउकी थिइन् । छोराको यादले उनको निद्रा लामो समय बिथोलियो । छोरो सम्झेर रातभरि रुन्थिन् । सम्झिन्थिन्, ‘बालखैमा काख छुटाएर पठाएको छोराले मेरो कति अभाव महसुस गर्दो हो ।’ समय अहिले जस्तो थिएन । चिठ्ठीको भरमा आफ्नाको खबर थाहा हुन्थ्यो । उनका छोरा सानै थिए । न चिठी बुझ्थे । न लेख्न जान्दथे । ‘त्यही पनि गाउँ आउने जानेका हातमा चिठी लेखेर पठाउँथें’ कल्पनाले पुराना दिनको सम्झना गरिन् ।

मरेर बाँचेकी छोरी

कल्पनाले दोस्रो सन्तानका रूपमा छोरीलाई जन्म दिइन् । छोरीका पालामा पनि उनले अस्पताल देख्न पाइनन् । यो उनको मात्रै समस्या होइन । त्यतिबेला आमा बनेका प्रायः महिलाले अस्पताल टेक्न पाएनन् । कल्पनाकी छोरीको नाबी काट्दा खै के मिलेनछ, उनको नाइटो पाक्यो । छोरी रातदिन रुन्थिन् । कल्पनाको भोक निद्रा हराउँथ्यो । न अस्पताल, न औषधी । घरमा सिकाउने सासू पनि थिइनन् । उनलाई यतिबेला सासूको अभाव खड्कियो ।

घरेलु उपचारले छोरीको नाइटो झन् धेरै पाक्यो । पिप र रगतमा डुबेकी हुन्थिन् उनकी छोरी । रातभरि पनि छोरी काखमा राखेर अनिदै बस्थिन् कल्पना । उनलाई लाग्थ्यो ‘यही घाउले लाने भयो छोरीलाई ।’ पछि उनकी आमाले खै के को पाउडर पठाइदिइन् । छोरी निकी भइन् । कल्पना हल्का भइन् ।

श्रीमान् बेपत्ता

नाबालक छोरा आफन्तको साथमा काठमाडौंमा पढ्दै थिए । काखमा बालख छोरी । घरमा श्रीमान् थिए । अलिअलि अभाव । कल्पनाको जीवन ठिक्कैको लयमा चल्दै थियो । एकदिन उनका श्रीमान् पैसा कमाउन घरबाट निस्किए । त्यसपछि कहिल्यै फर्किएनन् । सुरुका केही वर्ष कल्पनाले लोग्नेको खोजी गरिन् । कतैबाट उनको खबर आएन । न त श्रीमान् नै फर्किए । छोरी अलि ठूली भइन् । केही समय ताप्लेजुङमै बसेर बाख्रा पालन गरेर सहरमा छोरालाई खर्च पठाइन् ।

ताप्लेजुङबाट मोरङको यात्रा

कल्पनालाई ताप्लेजुङमा बसेर छोराछोरीलाई राम्रो शिक्षा दिन सकिन्छ जस्तो लागेन । २०४६ सालतिर उनी ताप्लेजुङबाट मोरङ झरिन् । मोरङमा पनि उनले सुरुमा भैंसीपालन गरिन् । दूध, दही, घ्यू बेचिन् । आम्दानी ठिकै भयो । अलि पछि छोरीलाई पनि कल्पनाले शिक्षाका लागि काठमाडौं पठाइन् । छोराछोरीको पढाइ जति उकालो लाग्यो । खर्च पनि बढेर गयो ।

कल्पनाले ‘आस्था गल्ला स्टोर’को सुरु गरिन् । त्यहाँबाट सिजनमा धान किन्ने र अफसिजनमा बेच्ने काम सुरु गरिन् । ‘छोराछोरी नभएका भए म कसरी पो बाँच्थे हुँला र ? छोराछोरी भनेका संघर्ष गर्ने बल पो रहेछन्’, कल्पनाले भनिन् ।

आम्दानी रामै्र थियो । मोरङ रहँदा बस्दा कल्पनामा समाज सेवाको चेत पलाउँदै गएको थियो । बिहेपछि प्राइभेट भरेर एसएलसी पास गरेकी कल्पनालाई आफ्नै पढाइ पनि अगाडि बढाउन मन थियो । तर, २ छोराछोरीको जिम्मेवारी एक्ली कल्पनाको काँधमा । उनले पढाइ अगाडि बढाउन सकिनन् ।

मोरङको बेतौनामा कल्पनाको ‘गल्ला स्टोर’ राम्रै चलेको थियो । उनको सोचाइ थियो ५० वटा जति रिक्सा किनेर विराटनगरमा भाडामा दिने । ‘त्यो बेला सवारी साधन भनेकै रिक्सा थियो’, कल्पनाले सम्झना गरिन् । तर, मोरङमा छोराछोरी रमाएनन् । छोराछोरीका लागि दुःख गरिरहेकी कल्पना पनि रमाउन सकिनन् । ‘बच्चाहरू नरमाएपछि एक्लै किन बस्ने भन्ने भयो’, कल्पनाले भनिन् । उनी मोरङबाट काठमाडौं सरिन् । 

फर्निचर हुँदै ढाका व्यापारमा

२०४८ सालतिर काठमाडौं आएकी कल्पना लामो समय आफन्तको साथ लागेर बसिन् । त्यतिबेला अहिलेको संसद् भवन भएको ठाउँ खाली थियो । त्यही खाली जग्गाको अगाडिपट्टि कल्पनाले किराना पसल सुरु गरिन् । यति बेलासम्म पनि कल्पनाले मोरङको गल्ला स्टोर पूर्णरूपमा छोडेकी थिइनन् । जाने आउँने गर्थिन् । दुई वर्ष किराना पसल चलाएपछि उनले त्यो किराना पसल पनि छाडिन् ।

त्यसपछि ललितपुरको बिएमचोकमा फर्निचर सोरुम सुरु गरिन् । यसपछि भने उनले आफैंले काठमाडौं आफ्नै डेरा सुरु गरिन् । छोराछोरी सँगै भए । बल्ल उनी अभिभावक भइन् । ‘छोराछोरी आफूसँगै नहुँदा कति मन कुँडिन्थ्यो । देखाउन पो भएन,’ कल्पनाले सुस्केरा हालिन् । फर्निचर सोरुम खोलेपछि उनले चीनबाट ज्याकेट ल्याएर पनि बेचिन् । आम्दानी राम्रै थियो ।

ललितपुरभन्दा काठमाडौं फराकिलो लाग्यो । छोराछोरी हुर्किए । डेराको जिन्दगी साँगुरो लाग्यो । जोरपाटीमा ४ आना जग्गा किनेर सानो घर बनाइन् । ललितपुरको फर्निचर सो रुम टुसालमा सारिन् । केही वर्ष टुसालमा पनि उनको व्यवसाय फस्टायो । 

त्यतिबेला टुकुचामा समाज कल्याण मन्त्रालयको जग्गा खाली थियो । कल्पनाले त्यो जग्गा भाडामा लिइन् । १८ वटा टहरा निर्माण गरिन् । भाडामा लगाइन् । सधैं सोचेको जस्तो नहुने । ठेकेदारले पैसा खाएर भाग्यो । कल्पनाले दुःखले कमाएको मोटो रकम त्यहीँ डुब्यो । केही समय होस्टल चलाइन् । ‘छोराछोरीको भविष्य बनाउन के मात्रै गरिनन् । आफू मात्रै भए त उहिले मरिसक्थे हुँला’, कल्पनाले आफ्नो विगत सम्झँदै भनिन् ।

युद्ध कालमा खस्कियो जीवनस्तर

व्यवसाय राम्रै चल्दै थियो । आफन्तको डेराबाट सुरु गरेको कल्पनाको जिन्दगीले आफ्नै घरको ओत पाइसकेको थियो । छोराछोरीले क्याम्पस पढ्न सुरु गरिसकेका थिए । कल्पना खुसी थिइन् । तर, देशमा भएको १० वर्षे युद्ध कालमा कल्पनाको व्यवसाय धराशायी मात्रै बनेन । बन्दै गर्नुपर्ने अवस्था आयो । खर्च झन् बढेको थियो । आउने बाटो बन्द भयो । वर्षौं अघि कमाउन हिँडेका श्रीमान्को कुनै खबर थिएन । छोराछोरीको भविष्यका लागि पनि केही गर्नै पर्ने थियो कल्पनाले ।

अनि सुरु भयो ढाकाको व्यापार

संकटको यो समयमा कल्पनाले आफ्नी आमा जसरानी लिम्बूलाई झलझल्ती सम्झिइन् । उनी सानै हुँदा घरमा ३ वटा कपडा बुन्ने तान थिए । उनका आमाहरू त्यही तानमा खाडीका कपडा बुन्थे । त्यतिबेला ढाका हुँदैनथ्यो । त्यही तानमा बुनेको लुगा हटियामा लगेर बेचेर घर खर्च टार्थे । कपडाको तानमा कल्पनाको मन त्यही बेला पनि अल्झिरहन्थ्यो ।

आमासँगै तानमा लाग्दा धागो छिनाएर कतिपल्ट कुटाइ खाइन् त्यसको हिसाब थिएन । आमासँगै उनले कपडा बुन्ने तान सम्झिन् । घरमा एउटा तान ल्याएर कपडा बुन्न सुरु गरिन् । त्यसबेला उनले १५ हजार ऋण लिएर तान किनेकी थिइन् ।

त्यो समय ढाकाको व्यापार थिएन । बल्लबल्ल कपडा बुन्यो बिक्री हुँदैनथ्यो । घर खर्च टार्नै मुस्किल हुन्थ्यो । कल्पना सोच्थिन्, ‘यो व्यापार छाडेर अरु नै केही गरौं ।’ फेरि उनको मनमा आउँथ्यो ‘मेरी आमाले बाँचुन्जेल तान चलाइन् । म मेरा छोराछोरीका लागि चलाउँछु ।’ उनले हिम्मत हारिनन् ।

बरु ढाकाको कपडाको प्रवर्धनमा रात दिन लागिन् । उनका आँखा रसिला देखिए । ती संघर्षका दिन सम्झँदै भनिन्, ‘त्यतिबेला बाटोमा थोरै ठाउँ पाउँदा पनि नाङ्लोमा आफूले बुनेका कपडा राखेर बसेर बेचियो । २४ घण्टामा २२ घण्टा काम गर्थें । जम्मा दुई घण्टा सुत्थेँ ।’

संघर्षको यो समयमा उनलाई उनकी साथी इच्छा लिम्बूले साथ दिइन् । यता तान किनेर कपडा बुन्न बसेकी कल्पनाका लागि इच्छाले अमेरिकाबाट ‘हाडा’ नाम गरेकी एक अमेरिकनलाई नेपाल पठाइदिइन् । हाडाले कल्पनालाई धेरै कुरा सिकाइन् । कपडामा बुट्टा भर्नदेखि कलर म्याचिङ गर्नसम्म सिकाइन् । कुराकानीका क्रममा दराजबाट एउटा रुमाल झिकिन र भनिन्, ‘यो हाडा म्याडमको चिनो हो । अझै राखेकी छु ।’

ढाकाको व्यापारमा लागेपछि पनि उनको जिन्दगीमा धेरै उतार–चढाव आए । तर, जीवनमा जति कठिन र असहज अवस्था आए पनि बाँच्न आँट दिन छोराछोरीको भविष्य उनको आँखा अगाडि आउँथ्यो । बिस्तारै ढाकाको व्यापार फैलिँदै गयो । कल्पनाले तान थपिन् । कामदार राखिन् । फेरि उनको जीवनले सरल लय समात्यो । उनी सफल हुँदै गइन् । छोराछोरी ठूला भए । छोरा हङकङको लाहुरे भए । छोरी पढ्न दक्षिण कोरिया गइन् । कल्पनालाई अझै सहज भयो । 

ढाकाको बजार पनि फैलिँदै गयो । अहिले कल्पनाको ढाका व्यवसायमा ३ सय कामदार छन् । कोडिडका कारण खस्किएको उनको व्यवसाय पुनः पुरानै लयमा फर्कने बाटोमा छ । उनका छोरा पनि लाहुरबाट फर्किए । ताप्लेजुङमै केही गर्छु भनेर अहिले गाउँतिरै छन् । छोरी साथमा छन् । उनको काममा सघाउँछिन् । उनलाई लाग्छ, ‘जिन्दगीका यति बिघ्न हन्डर खेपेर यी छोराछोरी नभएका भए के सोचेर पो संघर्ष गरिन्थ्यो होला र ?’

बाल्यकालको सपना अब पूरा गर्नु छ कल्पनालाई । उनले क्याम्पस पढ्न सुरु गरेकी छन् । ‘मैले नपढेरै छोराछोरी पढाएँ । अब छोराछोरीले मलाई पढाउँछन्’ कल्पनाले भनिन् ।

  • प्रकाशित मिति : माघ २४, २०७७ शनिबार ७:९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया