१२५ प्रतिशत भक्ता दिँदा पनि कर्णालीमा आएनन् डाक्टर

कर्णाली प्रदेशमा विशेषज्ञ डाक्टरको चरम अभाव देखिएको छ । प्रदेश सरकार गठन भएयतादेखि नै कर्मचारीको अभाव झेल्दै आएको कर्णालीमा स्वास्थ्यकर्मीको झनै अभाव देखिएको छ । सबै जिल्लाहरूमा विशेषज्ञ डाक्टरको दरबन्दी तोकिए पनि डाक्टर नआउँदा जनताले सजिलैसँग स्वास्थ्य सुविधा पाउन सकेका छैनन् ।

प्रदेश सरकार मातहत रहेका विभिन्न स्वास्थ्य संस्थाहरूका लागि १६१ जना विशेषज्ञ चिकित्सकको स्थायी दरबन्दी तोकिए पनि हालसम्म जम्मा २८ जना मात्र कार्यरत छन् । भने १३३ जनाको दरबन्दी रिक्त छ ।

यसो त कर्णाली प्रदेश सरकारले चिकित्सकलाई यहाँ ल्याउन कर्णाली प्रोत्साहन भक्ता भन्दै तलब सुविधाको १२५ प्रतिशत प्रोत्साहन भक्ता दिँदै आएको छ । ठाउँ हेरेर तलब सुविधाको दोब्बरभन्दा बढी प्रोत्साहन भक्ता दिँदा पनि चिकित्सक नआएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृष शाहीले बताए ।

उनका अनुसार प्रदेश सरकारले साविकको कर्णालीका जुम्ला, हुम्ला, मुगु, कालिकोट र डोल्पा जिल्लामा जाने चिकित्सकलाई १२५ प्रतिशत कर्णाली प्रोत्साहन भक्ता दिइरहेको छ भने अन्य स्वास्थ्यकर्मीलाई तलब सुविधामा १० हजार थप्ने गरेको छ । चिकित्सकहरूका लागि साविकको भेरी अञ्चलका जिल्लामा काम गर्दा तलब सुविधाको ५० प्रतिशत भक्ता दिने गरेको उनले बताए ।

यसरी ठूलो संख्यामा चिकित्सकको दरबन्दी रिक्त रहेपछि कर्णाली प्रदेश सरकारले करारमा नियुक्ति गरेर जनतालाई सेवा दिने प्रयास गरेको छ । तर, करारमा समेत पर्याप्त मात्रामा चिकित्सकको आवेदन परेको छैन । हालसम्म झण्डै ३० देखि ४० जनासम्म करारमा चिकित्सक नियुक्त गरिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै नर्स २३६ जनाको दरबन्दी भए पनि हालसम्म १५७ जनाको दरबन्दी खाली रहेको छ । प्यारामेडिक्स तर्फ ४५ जना कार्यरत रहेका छन् भने २८ जनाको दरबन्दी अझै रिक्त रहेको छ । ल्याबमा १४ जना कार्यरत छन् भने ३५ जनाको दरबन्दी रिक्त रहेको छ । यस्तै अन्य १३० जना स्थायी दरबन्दीका कर्मचारी कार्यरत छन् भने २३७ जनाको दरबन्दी रिक्त रहेको छ । 



स्वास्थ्यकर्मीको स्थायी दरबन्दीको ६७ प्रतिशत खाली  

कर्णाली प्रदेशका स्वास्थ्य संस्थाहरूमा स्थायी दरबन्दीको ६७ प्रतिशतभन्दा बढी दरबन्दी रिक्त देखिएको छ । भने ३३ प्रतिशत मात्रै स्थायी दरबन्दी पूरा भएको छ । तथ्याङ्कअनुसार प्रदेश अस्पताल वीरेन्द्रनगर सुर्खेतमा २२ दशमलव ५ प्रतिशत मात्रै स्थायी कर्मचारीको दरबन्दी पूरा भएको छ भने ७७ प्रतिशतभन्दा बढी रिक्त रहेको छ ।



स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेतमा ६४ दशमलव ९ प्रतिशत, मेहलकुना अस्पताल गुर्भाकोट, सुर्खेतमा ४७ दशमलव २ प्रतिशत, स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिममा ५४ दशमलव २ प्रतिशत, स्वास्थ्य सेवा कार्यालय सल्यानमा २७ दशमलव ७ प्रतिशत, स्वास्थ्य सेवा कार्यालय डोल्पामा १९ दशमलव १ प्रतिशत मात्रै स्थायी कर्मचारी रहेका छन् ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लामा ८१ दशमलव ३ प्रतिशत, स्वास्थ्य सेवा कार्यालय मुगुमा ३९ दशमलव ६ प्रतिशत, स्वास्थ्य सेवा कार्यालय हुम्लामा १८ दशमलव ८ प्रतिशत, स्वास्थ्य सेवा कार्यालय कालिकोटमा २७ दशमलव ७ प्रतिशत, स्वास्थ्य सेवा कार्यालय दैलेखमा ४३ दशमलव १ प्रतिशत र जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतमा ८६ दशमलव ७ प्रतिशत र प्रदेश आयुर्वेद औषधालय सुर्खेतमा ८७ दशमलव ५ प्रतिशत मात्रै स्थायी दरबन्दी रहेका छन् भने अन्य दरबन्दी रिक्त रहेका छन् ।

रिक्त रहेका मध्ये केही ठाउँमा करारमा स्वास्थ्यकर्मी नियुक्त गरिए पनि धेरैजसो ठाउँमा दरबन्दी खाली नै रहेको स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए । स्वास्थ्यकर्मीको स्थायी दरबन्दीको झण्डै दुई तिहाई रिक्त रहेको उनले बताए । धेरैजसो स्थायी दरबन्दी रिक्त रहेको ठाउँमा करारमा कर्मचारी नियुक्ति गरेर काम सुरु भइरहेको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृष शाहीले बताए । 

‘स्थायी दरबन्दीमा मागअनुसार स्वास्थ्यकर्मी आउनु नै भएको छैन,’ उनले भने, ‘धेरैजसो कर्मचारी केन्द्र सरकार मातहतमा रहेर काम गर्न चाहनु हुन्छ । प्रदेश सरकारले प्रदेशमा आउन भने पनि उहाँहरू आउनु भएन ।’ विशेष गरी स्वास्थ्यकर्मीले कर्णाली नरोज्दा कर्णालीमा स्वास्थ्यकर्मीको अभाव हुने  गरेको उनले बताए । 

  • प्रकाशित मिति : माघ २३, २०७७ शुक्रबार १९:३८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया