बादललाई वर्षमानको काउण्टर : चिडियाखानामा थुन्‍ने धम्की नदिनू, जनताले गल्लीमा घिसार्छन्
पहिले आफ्नै भ्रष्टाचारको फाइल खोल्न चुनौती

तनहुँ : नेकपा दाहाल-नेपाल समूहका स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले आफूहरुलाई चिडियाखानामा थुन्ने धम्की दिने गृहमन्त्री रामबहादुर थापा बादललाई आन्दोलन सफल भएपछि जनताले गल्लीमा घिसार्ने चेतावनी दिएका छन्। 

दमौलीमा शनिबार तनहुँका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पुनले संविधान मिचेर निरङ्कुशता लाद्न खोज्ने प्रधानमन्त्री केपी ओलीलाई पनि जनताले नछाड्ने चेतावनी दिए। 

'ओली–थापाको अन्त्य राज्य सत्ताको दुरुपयोग गरेर असहमत हुनेलाई तह लगाउन खोज्ने इतिहासका तानाशाहको जस्तै हुनेछ', उनले भने, 'सरकारमा तीन वर्षसम्म सँगै बस्दा जनसरोकारका विषयमा एक शब्द नबोल्नेहरुले अहिले आएर आफ्नै पूर्वसहकर्मीविरुद्ध मुख छाड्नु निन्दनीय छ।'

ओली समूहले शुक्रबार राजधानीमा गरेको शक्ति प्रदर्शनमा गृहमन्त्री थापाले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहलाई लक्षित गर्दै ‘मांसाहारी आन्दोलन गर्छु भन्नेलाई जावलाखेलको चिडियाखानामा थुन्ने’ अभिव्यक्तिप्रति पुनले कडा जवाफ दिएका हुन्।

आफ्नो नेता कार्यकर्तालाई भ्रष्टाचार मुद्दामा कारवाहीको धम्की आउन थालेको भन्दै पुनले त्योसँग नतर्सिने पनि बताए। अख्तियार, लोकसेवा, निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा असंवैधानिक रुपमा गरिएका नियुक्ति बदरविरुद्ध दलहरु, नागरिक अगुवा र सञ्चारमाध्यमले आवाज उठाइरहेका बेला विरोधी तर्साउन तिनको दुरुपयोग गर्ने धम्की आएको पुनले जिकिर गरे।

ओली समूहका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले धुलो लागेका भ्रष्टाचारका फाइल टकटक्याउन थालेको अभिव्यक्तिको जवाफ दिँदै पुनले पहिला आफ्नो गुटका भ्रष्टाचारका फाइल खोलेर देखाउन चुनौती दिए। 



‘पार्टीका प्रवक्ता, सरकारका वरिष्ठ मन्त्रीले ‘धुलो लागेका फाइल छिट्टै टक्टक्याउँछौं भनेर धम्की दिनुभएको सुनेँ’, पुनले भने, ‘मित्र धुलो लागेका फाइल तपाईँहरुका बढी छन् । ओम्नी काण्ड, यती काण्ड र अरु काण्डका आफ्नै भ्रष्टाचार र क-कृत्यका फाइल त्यहाँ छन्, धुलो टक्टक्याएर काम सुरु गर्नुस् जनताले स्वागत गर्छन्।’ 

सत्ताको दुरुपयोग गरेर दिइने धम्कीबाट निरंकुशताविरुद्ध युद्ध, क्रान्ति र जेलनेल सहेर आएका, नेता कार्यकर्ता त्यस्ता धम्कीबाट नतर्सने उनले बताए। 



धम्की नदिनु

त्यस्तै धम्की दिने ज्ञानेन्द्र शाहको अहिलेको अवस्था हेर्न सुझाव दिँदै उनले ओली र थापाको हालत पनि त्यस्तै हुने उल्लेख गरे। धम्की दिन र सडकमा पञ्च र्‍याली शैलीमा प्रदर्शन छाडेर जनताका पक्षमा लोकप्रिय काम गरे विरोधी आफैँ तह लाग्ने उनले बताए। 

‘केपी–रामबहादुर थापा गुटको धम्कीले कोही डराएको छैन, हामी डराएका छैनौं’, पुनले भन‍े, ‘ओली र थापाजस्ता शासकहरु यो गल्लीमा लतारिन्छन्, पछारिन्छन् कसैले हेर्दैनन् । इतिहासमा कति शासक लतारिए, कति मारिए हामीले धेरै देखेका छौँ। प्रतिस्पर्धा गर्ने भए जनतामा विचार लिएर आउनुस् । धम्की नदिनु।’ 

ओली समूहलाई राज्यको साधनस्रोत दोहन गरेर गुटका कार्यकर्ता पोस्ने काम बन्द गर्न पुनले चेतावनी दिए। आफैँले निर्वाचन घोषणा गरेको सरकारले आचार संहिताविपरीत ७७ वटै जिल्लामा आफ्ना गुटका  कार्यकर्तालाई सह-सचिव सरहका सुविधा पाउने गरी भूमि आयोगको नियुक्ति दिइएकामा आपत्ति जनाए। 

२ हजारमा मोटरसाइकल र्‍याली

पुनले ओली समूहले व्यक्ति पिच्छे एकदेखि दुई हजार रुपैयाँ दिएर राजधानीमा मोटरसाइकल र्‍याली गरेको पनि आरोप लगाए।  ‘पञ्च र ज्ञानेन्द्र शाहले जस्तो राज्यको ढुकुटीबाट पैसा बाँडेर शासन गर्ने बाटोमा नलाग्नुसु, मति सुधार्नुस्’, पुनले भने, ‘ पैसा बाँडेर सत्तामा टिकिरहन खोज्दा ठूल्ठूला तानाशाह पछारिए जसरी पछारिनु होला ।’

सत्तामा नहुनेले सडकमा प्रदर्शन र राज्यलाई खबरदारी गर्ने भन्दै पुनले ओली आफैं जुलुस लिएर हिँडेको भन्दै व्यंग्य गरे। ‘सरकारमा बसेर काम गर्ने हो, तर, ओलीले जुलुस गर्दै हिँड्ने होइन’, उनले भने, ‘महँगी नियन्त्रण, बलात्कारीमाथि कारबाही, राष्ट्रघाती सन्धिहरुको खारेजी, रोजगारी सिर्जना गर्नुस् । सरकारी कार्यालयमा जाँदा खुरुखुरु काम हुने वातावरण बनाउनुस् । कसैलाई गाली गर्नै पर्दैन, विरोधीहरु आफैँ सिद्धिन्छन्।’ 

  • प्रकाशित मिति : माघ २४, २०७७ शनिबार १९:२७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया