सुरेन्द्र केसीको निष्कर्ष : मिर्गौला फेरेर केपी ओली बाँच्ने भएपछि नेकपामा भाँडभैलो
चुनावी सरकारको नेतृत्व सुन्दरमणिलाई दिन आग्रह

'चुनावी सरकारको प्रधानमन्त्री सुन्दरमणि दीक्षितलाई बनाऊँ' राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले आगामी वैशाखमा कुनै हालतमा निर्वाचन नहुने बताएका छन्। उनले आगामी मंसिरमा निर्वाचन हुनसक्ने उल्लेख गरेका छन्। 

शनिबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै डा. केसीले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएकोले टिप्पणी गर्न नहुने उल्लेख गरे। तर, दलका नेताहरुले जथाभावी टिप्पणी गरेको उनले गुनासो गरेका छन्। 

सुन्दरमणिलाई दिऊँ

उनले मंसिरमा निर्वाचनका लागि चुनावी सरकारको नेतृत्व नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितलाई दिनुपर्ने समेत बताए। ‘मेरो नेता उहाँ हो । हामी निष्पक्ष निर्वाचन गराउन सक्छौं । तर, मुलुकलाई निकास चाहियो नि', उनले भने, 'अहिलेको समयमा डा. दीक्षित उपयुक्त पात्र हो। मुलुकलाई अनिर्णयको बन्दी बनाउन पाइँदैन। अदालतको निर्णय चाँडो हुनुपर्छ, सबैले त्यसलाई मान्नुपर्छ ।’

उनले जसका कारण संसद विघटन भयो, उनीहरुले नै अदालत र निर्वाचन आयोगलाई धम्काएको भन्दै नेकपा दाहाल-नेपाल समूहप्रति आक्रोश पोखे। केसीले,‘दलका नेताहरु आज निर्वाचन आयोग पुगेर चुनाव चिन्ह हामीलाई दिइनस् भने ठीक हुँदैन भनिरहेका छन्। यो गलत हो।’ 

संविधान नै विवादको जड



उनले अहिलेको विवाद उत्पन्न हुनुमा सबैभन्दा बढी दोष संविधानको भएको बताए। संविधान संशोधन गरेर दुई जना प्रधानमन्त्री बनाउनुपर्ने भन्दै नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डमाथि व्यङ्ग्यात्मक टिप्पणी गरे। 



'संविधान सबभन्दा ठूलो त्रुटी हो । यिनीहरुले संविधान संशोधन गरेर दुई जना प्रधानमन्त्री हुने व्यवस्था गर्नुपर्दथ्यो। एकजनाले आन्तरिक गृह चलाउने र अर्कोले विदेश हेर्ने गर्नुपर्दथ्यो', उनले भने, 'यिनीहरुले पार्टीमा त दुईजना अध्यक्ष बनाए । तर, दुई जना प्रधानमन्त्री हुने व्यवस्था गरेको भए अहिले लडाईँ हुँदैनथ्यो।’

उनले सत्तारूढ नेकपाको विवादको चुरो नै पदीय भागबण्डा भएको तर्क गरे। नेकपाले अहिले आएर लोकतन्त्रमाथि नांगो नाच देखाएको पनि उनले टिप्पणी गरे । केसीले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिशोध साँध्ने व्यक्ति भएको बताए। 

ओलीको मिर्गौला

‘ओलीमा प्रतिशोधी भावना छ। उनी शक्तिको लागि जुनसुकै हदसम्म पनि जान सक्छन्।,’ उनले भने। केसीले मुलुक मध्यावधि निर्वाचनमा जानुको प्रमुख कारण प्रधानमन्त्री ओली भएपनि भित्री कारण प्रचण्ड नै रहेको आरोप लगाए ।

केसीले नेकपाका केही नेता मिर्गौलाका कारण केपी ओली नबाँच्ने निचोडमा रहे पनि त्यस्तो नभएपछि भाँडभैलो गरिएको दाबी पनि गरे। ओली र दाहालबीचको सहमति गोप्य राखिँदा पनि समस्या उब्जिएको उनको तर्क थियो।

‘उनीहरुबीच अढाई-अढाई वर्ष सरकारको नेतृत्व गर्ने सहमति थियो । तर, उनीहरुले त्यो सहमति गोप्य राखे', केसीले भने, 'केपी ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि अझै दश वर्ष बाँच्ने भएकाले यो बबण्डर भएको हो। समस्याको जड हो।’

  • प्रकाशित मिति : माघ २४, २०७७ शनिबार २१:३३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया