शहीद स्मृति विद्यालय : द्वन्द्वपीडित बालबालिकाका लागि ‘घर नै स्कूल, शिक्षक बाबुआमा’

‘शहीद स्मृति विद्यालयभित्र छिर्दा म २/३ वर्षको थिए । अहिले १२ वर्षको भए । आमाको गर्भमा हुँदा नै मेरा बाबुलाई युद्धले लगिदियो । न मैले बाबुको मुख हेर्न पाएँ, न मायाँ, ममता, स्नेह नै । सानैमा आमाले पनि छोडिन् । म एक्लो भएँ । युद्धमा बाबु गुमेकाले म शहीद स्मृति विद्यालय आएँ, मेरो स्कूल भनेपनि यही विद्यालय भयो, मेरो बाबुआमा भने पनि यहीँका शिक्षक, शिक्षिका भए । सानैदेखि स्कूलमै शिक्षक, शिक्षिकाहरुसँग खेल्दै हुर्कँदै, बढ्दै गरेर होला अहिले स्कूललाई घर र शिक्षक, शिक्षिकालाई बाबुआमाको जस्तै माया लाग्छ ।’ 

यो भनाइ शहीद स्मृति आवासीय माध्यमिक विद्यालय तुलसीपुर–१७ वनकट्टीमा कक्षा ६ मा अध्ययनरत डोल्पाका जनक बुढाथोकीको हो । बुढाथोकीका बाबुु सशस्त्र जनयुद्धका क्रममा मृत्यु भएको थियो । 

बाबुुको मृत्युपछि आमाले पनि अर्काे बिहे गरेर गएसँगै बुढाथोकीले त्यो बाल्यकालको सम्झँदै भने – ‘मेरा आफन्तहरु कोही छैनन्, बाबुको मृत्युपछि मेरो अभिभावक र घर बनि उभियो शहीद स्मृति विद्यालय । जसले मलाई पढ्न लेख्न मात्रै होइन, घर र बाबुआमा समेतको तृष्णा मेटाइदिएको छ ।’ 

बुढाथोकीको मात्रै होइन, दाङ दंगीशरण–६ बागरकी कल्पना शाहीको पनि कथा उस्तै छ । कल्पनाले सानैमा आमा गुमाइन् । आमाको मृत्यु भएको केही समयपछि बाबु बेपत्ता भए । अहिलेसम्म बाबुको पत्तो छैन् । 

बाजे बज्यैका एउटा मात्रै सन्तान कल्पनाका बाबु । आमाको मृत्यु, बाबु बेपत्ता र कल्पनाकोे बाल्यावस्था, न पाल्ने भेटिए, न पढाउने, जेनतेन केही समय मामाघरमा बसिन् । केही समय मामाघर बसेर उनी शहीद स्मृति विद्यालय पुगिन् ।



३ वर्षको उमेरमा विद्यालय पुगेकी उनी अहिले कक्षा ६ मा पढ्दैछिन् । शहीद विद्यालयमै उनी बढिन् । ‘के सोच्न सक्थेँ र जीवन र पढाइ लेखाइबारे बाबुआमा नभएको छोरीले, शहीद स्कूल मेरा लागि बाबुआमा नै बनेर उभियो । जहाँ अहिले म मेरो जीवनको सुनौलो सपनाहरु सजाउँदै आइरहेकी छु ।’ 



यति भन्दैमा उनको अनुहार मलिन भयो । उनले थपिन्, ‘सानैदेखि विद्यालयमा हुर्के बढेकाले होला, घरको जस्तै माया स्कूलका प्रत्येक भवन र बाबुआमा जस्तै सर र मेडमहरुको लाग्छ ।’

जनक र कल्पना मात्रै होइन शहीद स्मृति विद्यालयमा आवासीय शिक्षा आर्जन गरिरहेका साढे चार सय विद्यार्थीहरु अधिकांशको पीडा पनि यिनै हुन्, खुशी पनि उस्तै छन् । विद्यालयमा दश वर्षे जनयुद्धका क्रममा मृत्यु भएका, युद्धका क्रममा घाइते÷अपाङ्ग भएका, युद्धका क्रममा बेपत्ता पारिएका परिवारका छोराछोरीले आवासीय सुविधासहित शिक्षा आर्जन गरिरहेका छन् । 

जहाँ कसैका बाबुआमा कोही छैनन्, कसैका बाबु छैन्, त कसैका आमा । तर, शहीद स्मृति विद्यालय उनीहरुलाई बाबुआमाको झल्को मेटाउँदै जीवनको नयाँ गन्तव्य खोजी गरिरहेको छ । उक्त विद्यालयमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साढे चार सय द्वन्द्वपीडित बालबालिका अध्ययन गर्दै आइरहेका छन् ।

‘आँखा देख्ने भयौँ, जीवन पाल्ने भएनौँ’ 
‘आवासीय सुविधासहित प्लस–टुसम्मको शिक्षा सरकारले हामीलाई दिएको छ । तर, प्लस–टुपछिको उच्च शिक्षा अझै कसैले पाएका छैनौँ । हामीले जति सक्दो प्लस–टुसम्म मात्रै पढ्ने हो । त्यसपछि कोही विदेश जान्छन्, कोही गाउँ फर्किन्छन् । द्वन्द पीडितका छोराछोरीलाई राज्यले आँखा देख्ने होइन जीवन धान्ने शिक्षा दिन अझै सकेको छैन । पढ्न राज्यले पढाएको छ, तर अधुरो शिक्षा मात्रै दिएको छ ।’ विद्यालयमा अध्ययनरत जितेन्द्र बिएमले भने, ‘अधुरो शिक्षाले हामी अपाङ्ग बनेका छौँ ।’


 
फेरिँदै शिक्षा र संरचना
दश वर्षे जनयुद्धका क्रममा मृत्यु भएका, घाइते÷अपाङ्ग र बेपत्ता पारिएका परिवारका छोराछोरीले आवासीय सुविधासहित पढिरहेको शहीद स्कूलमा यसअघि संरचना पनि दया लाग्ने खालका थिए । 

तर, अहिले शहीद विद्यालय लोभ लाग्दो बन्दै गएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज शर्मा (डायमण्ड)ले भने, ‘प्लस–टूसँगै विद्यालयमा प्राविधिक शिक्षा पनि सुरु गरेका छौँ ।’ 

प्राविधिक दक्ष जनशक्ति उत्पादनमा यसले ठूलो टेवा पुर्याउन सक्ने विश्वास शर्माको छ । विद्यालयमा अहिले डिप्लोमा इन सिभिल इन्जिनियरिङ र छोटो अवधिका तालिम (प्लम्बिङ र डकर्मी) सञ्चालन सुरु गरिएको छ । 
 
द्वन्द्व पीडितहरूको जीवन बदल्ने थलो : शर्मा 
लुम्बिनी प्रदेशसभा सदस्य दामा शर्माले शहीद स्मृति विद्यालय द्वन्द्वपीडित समुदायको जीवन बदल्ने थलोका रुपमा स्थापित भएको बताए । शर्माले शहीद विद्यालयले शहीद, घाइते, अपाङ्ग र बेपत्ता परिवारका बालबालिकाहरूको पढ्ने, लेख्ने सपना पूरा गर्ने विश्वास व्यक्त गरे ।

  • प्रकाशित मिति : माघ २५, २०७७ आइतबार ८:२३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया