आइपिएल-२०२१ : फ्रेन्चाइज ​टिमले रुचि नदेखाएका १० उत्कृष्ट खेलाडी !

इण्डियन प्रिमियर लिग (आइपिएल) को नयाँ संस्करणका लागि खेलाडी किनबेच (अक्सन) यही फेब्रुअरी १८ मा चेन्नईमा हुँदैछ । सन् २०२१ संस्करणको अक्सनमा विभिन्न देशबाट १ हजार ९७ जनाले आफ्नो नाम दर्ता गराएका छन् । 

जसमध्येबाट ६१ खेलाडीलाई फ्रेन्चाइज टिमले खरिद गर्न पाउने छन् । जसमा २२ विदेशी खेलाडी हुनेछन् । 

१ हजार ९७ जना मध्य ५१ जना फ्रेन्चाइज टिमहरुले टिमबाट रिलिज गरेका खेलाडी छन् । तीमध्ये यहाँ १० ठूला नामहरुको चर्चा गरिएको छ ।

१. स्टिभ स्मिथ (ब्याट्सम्यान)
अस्ट्रेलियन ब्याट्सम्यान स्मिथलाई राजस्थानले रिलिज गर्दा धेरैलाई अचम्म लागेको थियो । किनकि, उनले गत सिजन टिमको कप्तानी गरेका थिए ।

सन् २०१२ देखि आइपिएलको हिस्सा बनिरहेका स्मिथले ९५ आइपिएल खेलमा २ हजार ३३३ रन बनाएका छन् । जसमा १ शतक र ११ अर्धशतक सामेल छ ।

गत सिजन राजस्थानका लागि स्मिथले १४ खेलमा ३ अर्धशतक सहित ३११ रन प्रहार गरेका थिए । उनको टिम १२ अंकका साथमा अन्तिम स्थानमा रहेको थियो ।



२. ग्लेन म्याक्सवेल (अलराउन्डर)
आइपिएल फ्रेन्चाइजले नपत्याएको अर्को ठूलो नाम हो अस्ट्रेलियन अलराउन्डर ग्लेन म्याक्सवेल । उनलाई किंग्स ११ पञ्जाबले रिलिज गरेको छ । 

सन् २०१२ देखि आइपिएलमा सहभागी हुन थालेका उनले ८२ खेलमा १ हजार ५०५ रन प्रहार गरेका छन् । जसमा ६ अर्धशतक समावेश छ ।



गत सिजन म्याक्सवेलका लागि खासै सम्झन लायक रहेन । उनले १३ खेल खेल्दा मात्र १०८ रन बनाए । 

उनले ८२ खेलबाट १९ विकेट हात पारेका छन् । गत सिजन उनले ३ विकेट लिएका थिए । गत सिजन पञ्जाब १२ अंकका साथ छैटौँ स्थानमा थियो ।  

३. लासिथ मालिंगा (बलर)
श्रीलंकाली बलर लासिथ मालिंगा आइपिएलमा सर्वाधिक विकेट लिने खेलाडी हुन् । सन् २००९ देखि आइपिएलको हिस्सा बनेका उनले १२२ खेलमा १७० विकेट हात पारेका छन् । 

त्यस्तै, उनले १२२ खेलबाट ८८ रन प्रहार गरेका छन् । उनलाई लिगको साविक विजेता मुम्बई इण्डियन्सले रिलिज गरेको हो । मालिंगाले गत सिजनको आइपिएल भने खेलेका थिएनन् । 

४. हरभजन सिंह (अलराउन्डर)
भारतीय अलराउन्डर हरभजन सिंहलाई चेन्नई सुपर किंग्सले रिलिज गरेको छ । पहिलो संस्करण (सन् २००८) देखि नै आइपिएलमा सहभागी भएका उनले १६० खेलमा ८२९ रन प्रहार गरेका छन् 

सिंहले एउटा अर्धशतक पनि बनाएका छन् । उनले १६० खेलबाट १५० विकेट हात पारेका छन् । चेन्नई गत सिजन १२ अंकका साथ सातौँ स्थानमा थियो । 

५. आरोन फिन्च (ब्याट्सम्यान)
आरोन फिन्च अस्ट्रेलियन टिमका एकदिवसीय र टि–२० का कप्तानसमेत हुन् । उनलाई रोयल च्यालेन्जर्स बेङ्ग्लोरले रिलिज गरेको हो । 

सन् २०१० देखि आइपिएल खेल्दै आएका उनले ८७ खेलमा २ हजार ५ रन प्रहार गरेका छन् । जसमा १४ अर्धशतक समावेश छ ।
 
बेङ्ग्लोर गत सिजन इलिमिनेटर राउण्डमा पराजित भएको थियो । फिन्चले गत सिजन १२ खेलमा १ अर्धशतकको मद्दतले २६८ रन प्रहार गरेका थिए । 
 

६. पियुष चावला (बलर)
भारतीय बलर पियुष चावला आइपिएलमा सर्वाधिक विकेट लिने स्पिनर हुन् । उनलाई चेन्नई सुपर किंग्सले रिलिज गरेको हो । पहिलो संस्करण (सन् २००८) देखिनै आइपिएलमा सहभागी हुँदै आएका उनले १६४ खेलमा १५६ विकेट लिएका छन् । 

गत सिजन उनले ७ खेलबाट ६ विकेट हात पारेका थिए । उनले समान खेलमा ५८४ रन प्रहार गरेका छन् । चेन्नई गत सिजन १२ अंकका साथ सातौँ स्थानमा थियो । 

७. क्रिस मोरिस (अलराउण्डर)
दक्षिण अफ्रिकी अलराउण्डर क्रिस मोरिसलाई रोयल च्यालेन्जर्स बेङ्ग्लोरले रिलिज गरेको हो । सन् २०१३ देखि आइपिएलको हिस्सा बन्दै आएका उनले ७० खेलमा ५५१ रन प्रहार गरेका छन् । जसमा २ अर्धशतक समावेश छ । 

उनले समान खेलबाट ८० विकेट हात पारेका छन् । गत सिजन उनको प्रदर्शन मध्यम थियो । ९ खेल खेल्ने मौका पाएका मेरिसले ११ विकेट हात पार्नुका साथै ३४ रन प्रहार गरेका थिए । 

८.जेम्स प्याटिनसन (बलर)
अस्ट्रेलियन बलर जेम्स प्याटिनसनले गत वर्ष डेब्यू सिजनमै उत्कृष्ट प्रदर्शन गरेका थिए । उनलाई लिगको साविक विजेता मुम्बई इण्डियन्सले रिलिज गरेको हो । 

मुम्बईलाई विजेता बनाउनेक्रममा प्याटिनसनले १० खेलबाट ११ विकेट हात पार्नुका साथै १५ रन प्रहार गरेका थिए । 

९. सेन वाटसन (अलराउण्डर)
अस्ट्रेलियन अलराउण्डर सेन वाटसनलाई चेन्नई सुपर किंग्सले रिलिज गरेको हो । पहिलो संस्करण (सन् २००८) देखि नै आइपिएलमा सहभागी हुँदै आएका उनले १४५ खेलमा ३ हजार ८७४ रन प्रहार गरेका छन् ।

वाटसनले आइपिएल ४ शतक र २१ अर्धशतक बनाएका छन् । गत सिजन उनले ११ खेलमा २ अर्धशतकको मद्दतले २९९ रन बनाएका थिए ।
उनले समान खेलबाट ९२ विकेट हात पारेका छन् । 

१०. सन्दीप लामिछाने
नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई गत सिजनको उप विजेता दिल्ली क्यापिटल्सले रिलिज गरेको हो । दिल्लीले गत वर्ष फाइनलसम्मको यात्रा तय गर्दा सन्दीपले भने एक खेल पनि खेल्न पाएनन् ।
 

सन्दीपले ३ सिजन दिल्लीमा रहँदा ९ खेल मात्रै खेल्ने अवसर पाए । तर, ती खेलमा उनले आफूलाई प्रमाणित गरेर देखाए । उनले १३ आइपिएल विकेट हात पारेका छन् । 

माथि उल्लेखित बाहेक, डेल स्टेन, उमेश यादव, एलेक्स केरी, सेलडन कोट्रेल, नाथन कुल्टर नाइल, मोइन अली जस्ता विश्व क्रिकेटमा नाम चलेका खेलाडीहरुलाई पनि फ्रेन्चाइज टिमहरुले रिलिज गरेका छन् ।  

  • प्रकाशित मिति : माघ २५, २०७७ आइतबार १२:४२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया