टि–१० क्रिकेट लिगमा नेपाली खेलाडीको प्रदर्शन

छोटो फर्म्याटको क्रिकेट लिग टि–१० लिग भर्खरै सम्पन्न भएको छ । शनिबार भएको फाइनल खेलमा नर्दन वारियर्सले दिल्ली बुल्सलाई ८ विकेटले हराउँदै उपाधि आफ्नो पक्षमा पार्‍यो ।

यो लिगमा नेपालका ३ खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगितामा सोमपाल कामीले मराठा अरेवियन्स, करण केसीले पुणे डेभिल्स र कुशल मल्लले  टिम अबुधाबीबाट खेलेका थिए ।

लिगमा तीन खेलाडीको प्रदर्शन 

सोमपाल कामी

सोमपालले प्रतियोगिता ८ ओभर बलिङ गर्दा ११६ रन खर्चिएर ३ विकेट हात पारे । उनले १० बल डट राख्दै ९ छक्का र ११ चौका खाए ।

नर्दन वारियर्स विरुद्धको उद्घाटन खेलमै पहिलो ओभर बलिङ गर्न पाएका सोमपालले यो खेलमा दुई ओभर बलिङ गर्दा २८ रन खर्चिए । 



पहिलो ओभरमा ४ डट राख्दै १ छक्का सहित मात्र आठ रन खर्चिएका उनले खेलको १० औं तथा आफ्नो दोस्रो ओभरमा १ छक्का र २ चौका सहित २० रन खर्चिए । यो खेलमा मराठा अरेवियन्स ५ विकटेले विजयी भएको थियो ।

दिल्ली बुल्स विरुद्धको दोस्रो खेलमा मात्र १ ओभर बलिङ गर्न पाएका सोमपालले १ डट राख्दै ४ चौका सहित १७ रन खर्चिए । यो खेलमा दिल्ली ९ विकेटले विजयी भएको थियो ।  



बङ्ग्ला टाइगर्स विरुद्धको खेलमा १ ओभर बलिङ गरेका सोमापालले १ डट राख्दै समान १–१ चौका र छक्का सहित १३ रन खर्चिए । यो खेलमा बङ्ग्लाले ६ विकेटको जित हात पारेको थियो ।

कलन्दर्स विरुद्धको खेलमा सोमपाललाई टि–१० मा पहिलो सफलता मिल्यो । खेलको चौथो ओभर बलिङ गरेका उनले अन्तिम बलमा सोहेल अख्तरलाई एलबिडब्ल्युको सिकार बनाए ।

यो खेलमा १ ओभर बलिङ गरेका सोमपालले ३ छक्का सहित १९ रन खर्चिए । यो खेलमा मराठा ४ विकेटले पराजित भएको थियो ।

टिम अबुधाबी विरुद्धको खेल सोमपालका लागि सबैभन्दा खराब थियो । मात्र १ ओभर बलिङ गरेका उनले २७ रन खर्चिए ।

तेस्रो ओभरमा बलिङ गरेका उनलाई क्रिस गेलले ३ छक्का र २ चौका प्रहार गरेका थिए । यो खेल अबुधाबीले ९ विकेटले आफ्नो पक्षमा पारेको थियो ।

मराठाको अन्तिम खेलमा डेक्कन ग्याडियटर्सविरुद्ध सोमपालले टि–१० लिगकै सबैभन्दा उत्कृष्ट प्रदर्शन गरे । यो खेलमा उनले २ ओभर बलिङ गर्दै मात्र १२ रन खर्चिएर २ विकेट हात पारे ।

छैटौं ओभरमा आफ्नो पहिलो ओभर बलिङ गरेका उनले २ डट राख्दै २ रन  खर्चिएर २ विकेट हात पारे । उनले ओभरको चौथो बलमा प्रशान्त गुप्तालाई मोक्सदेख होसनीबाट तथा अन्तिम बलमा यासिर कलिमलाई आलिसान सारुफुबाट क्याच गराए । 

आठौं ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गरेका उनले २ डट राख्दै २ चौका सहित १० रन खर्चिए । सोमपालको उत्कृष्ट प्रदर्शनका बाबजुत यो खेल मराठाले  २९ रनले गुमाएको थियो ।

करण केसी

करणले पुणेका ६ खेलमध्ये ५ खेलमा बलिङ गर्ने अवसर पाए । उनले ५ ओभर बलिङ गर्दा ३ डट राख्दै ८० रन खिर्चएर १ विकेट हात पारे । जसमा ४ छक्का र १० चौका सामेल छ । 

डेक्कन ग्याडियटर्स विरुद्धको पहिलो खेलमा १ ओभर बलिङ गरेका करणले समान १–१ चौका र छक्का सहित १७ रन खर्चिए । यो खेल पुणेले ७ विकेटले आफ्नो पक्षमा पारेको थियो ।

कलन्दर्स विरुद्धको खेलमा १ ओभर बलिङ गरेका करणले १ चौका सहित ९ रन  खर्चिए । यो खेल कलन्दर्सले ९ विकेटले आफ्नो पक्षमा पारेको थियो । 
टिम अबुधाबीविरुद्ध करणलाई टि–१० को पहिलो तथा एक मात्र सफलता मिलेको थियो । खेलको  चौथो आभेरमा बलिङ गर्न आएका करणले पहिलो बलमै क्रिस गेललाई बोल्ड गरे ।

यो खेलमा १ ओभर मात्र बलिङ गर्न पाएका उनले ४ चौका सहित १८ रन खर्चिए । यो खेल अबुधाबीले ५ विकेटले जित्यो ।

बङ्ग्ला टाइगर्स विरुद्धको खेलमा पनि १ ओभर बलिङ गरेका करणले २ डट राख्दै २ छक्का र १ चौका सहित १७ रन खर्चिए । यो खेल पुणेले ८ विकेटले गुमाएको थियो ।

दिल्ली विरुद्धको खेलमा बलिङ गर्न नपाए पनि ब्याटिङमा आएका करण पहिलो बलमै आउट हुने पुगे । उनलाई ४.५ ओभरमा अली खानले रहमनउल्लाह गुर्वाजबाट क्याच गराए । यो खेल दिल्लीले ८ विकेटले आफ्नो पक्षमा पारेको थियो ।

पुणेको अन्तिम खेलमा नर्दन वारियर्सविरुद्ध १ ओभर बलिङ गरेका करणले १ डट राख्दै ३ चौका र १ छक्का सहित १९ रन खर्चिए । यो खेल पुणेले ८ विकेटले गुमाएको थियो ।

कुशल मल्ल 

कुशलले अबुधाबीका लागि कलन्दर्सविरुद्ध १ मात्र खेल खेल्ने अवसर प्राप्त गरे । जसमा १२ बलको सामना गरेका उनले १८ रन बनाए । ६.४ ओभरमा मोहम्मद जाहिदबाट बोल्ड भएका उनले समान १–१ चौका र छक्का प्रहार गरे । यो खेलमा २१ रनको जित हात पार्दै टिम अबुधाबीले तेस्रो स्थान हासिल गरेको थियो ।

  • प्रकाशित मिति : माघ २५, २०७७ आइतबार १६:१२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया