कर्णालीमा ९ हजारभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

कर्णाली प्रदेशमा पहिलो चरणमा ९ हजारभन्दा बढी फ्रन्टलाइनरहरूले कोरोनाविरुद्धको खोप लगाएका छन् । माघ १४ गतेबाट लगाउन सुरु गरिएको खोप प्रदेशका १० वटै जिल्लाका ९ हजार ४२० जनाले लगाएका हुन् । जसमा सबैभन्दा बढी सुर्खेतमा र सबैभन्दा कम डोल्पामा लगाइएको छ । सुर्खेतका २ हजार ३४० जनाले खोप लगाएका छन् । 

दैलेखका १ हजार ४८३, जुम्लाका १ हजार ४०, सल्यानका १ हजार २, रुकुम पश्चिमका ८५०, कालिकोटका ८ सय, जाजरकोटका ६७३, हुम्लाका ४८५, मुगुका ४१७ र डोल्पाका ३३० जनाले खोप लगाएका छन् ।

तथ्याङ्क अनुसार कोभिशिल्ड लगाएका मध्ये १ जनामा गम्भीर खालको समस्या देखिएको थियो भने ३२ जनामा समान्य स्वास्थ्यमा समस्या देखिएको थियो । हाल भने सबैको अवस्थामा सामान्य रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ । 

पहिलो चरणमा ८२ दशमलव ३९ प्रतिशत मानिसमा खोप लगाउन सफल भएको निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले बताए । भारत सरकारबाट अनुदानमा उपलब्ध १० लाख डोज ‘कोभिसिल्ड’ खोप कर्णालीमा पहिलो चरणमा ११ हजार ७८१ जनामा लगाउने तयारी गरिए पनि झण्डै २ हजार कम मानिसमा खोप लगाइएको छ ।

पहिलो चरणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिने कर्मचारीहरू, एम्बुलेन्स चालक, अस्पतालका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका र सरसफाइमा संलग्न कर्मचारीहरू, वृद्धाश्रममा रहेका तथा मानव सेवा आश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई दिइएको छ । 

पहिलो चरणमा तोकिएका सम्पूर्ण मानिसहरूलाई खोप लगाउने तयारी गरे पनि केही महिला स्वयंसेविका, स्वास्थ्यकर्मीहरू छुटेको डा. खड्काले बताए । खोप लगाउने क्रममा स्वास्थ्यकर्मीहरू आफ्नो क्षेत्रभन्दा बाहिर गएको, अन्य स्वास्थ्य समस्या भएको, गर्भवती जस्ता स्वास्थ्यकर्मीहरू खोप लगाउनबाट छुटेको उनको भनाइ छ । उनीहरूलाई दोस्रो चरणमा समेटिने बताइएको छ ।



दोस्रो चरणको तयारी

पहिलो चरणको खोप सम्पन्न भएपछि कर्णालीमा दोस्रो चरणको कोरोनाविरुद्धको खोप लगाउने तयारी गरिएको छ । दोस्रो चरणका लागि तथ्याङ्क संकलन गर्ने काम भइरहेको स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले बताए । 



‘अहिले दोस्रो चरणमा यति जनालाई लगाउने भनेर हामीले तथ्याङ्क बनाएर केन्द्र सरकारलाई पठाउँदै छौँ,’ निमित्त निर्देशन डा. खड्काले भने, ‘पहिलो चरणको पनि केही खोप बचेको छ । तथ्याङ्क पठाएपछि सोहि अनुसार दोस्रो चरणको खोप आउनेछ ।’

कोरोनाको अन्त्य गर्न खोप अनिवार्य

विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट बच्नका लागि खोप अनिवार्य लगाउनुपर्ने स्वास्थ्यकर्मीहरूले बताएका छन् । प्रदेश अस्पताल सुर्खेतका कार्यरत डा. प्रदीप न्यौपानेले कोरोनाको अन्त्य गर्नका लागि खोप अनिवार्य भएको बताएका छन् । हाल नेपालमा प्रयोग भइरहेको कोभिशिल्ड लगाएर आजसम्म कसैको पनि मृत्यु नभएको भन्दै उनले केही सामान्य समस्या स्वास्थ्यमा देखिनु सामान्य भएको बताए । 

‘खोपलाई सबैले स्वीकार्नुपर्छ,’  डा. न्यौपानेले भने, ‘यो खोप लगाएका २० देखि २५ प्रतिशत मानिसमा केही सामान्य समस्या देखिने गरेको छ । तर त्यो एकदमै सामान्य समस्या हो । त्यसबाट डराउनुपर्ने अवस्था छैन ।’

  • प्रकाशित मिति : माघ २५, २०७७ आइतबार १७:४५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया