६८ वर्षीया वृद्धाको पिठिउँमा डोकाको भारी
डोकोमा बोकेर ल्याएको सुन्तला बेच्दै सुशीला (बायाँ) र धनसरा (दायाँ) । तस्बिर : वसन्त भण्डारी/फरकधार ।

वीरेन्द्रनगरकी धनसरा जैसी ६८ वर्षकी भइन् । उनको दैनिकी डोकोमा सुन्तला बोकेर बजार-बजार धाउनमै बितेको छ । उनी बिहान घरधन्दा सकेर दिनभर बजारमा डोकोमा सुन्तला बेच्छिन् ।

धनसराका श्रीमान् बितेको १० वर्ष भयो । उनका छोराछोरी छुट्टाछुट्टै बसेका छन् । उनलाई दैनिकी चलाउन मौसम अनुसारका फलफूल र तरकारी बेच्नै पर्ने बाध्यता छ । ‘सरकारले दिने एकल महिला भत्ताले त दैनिकी चलाउन कहाँ पुग्छ र त्यसैले त यो उमेरमा पनि डोको नबोकी सुखै पाइएन ।’

६८ वर्षको वृद्ध अवस्थामा पनि पिठ्युमा भारी बोकेर हिँडेकी धनसराले काम नगर्दा पेटमा चारो नपर्ने सुनाइन् ।

वीरेन्द्रनगर–१२ की सुशीला बुढाको दैनिकी पनि उस्तै छ । उनी पनि घरमा बिहानको कामकाज सकेर दिनभर बजारमा डोकोमा सुन्तला बेच्छिन् ।

घरपरिवारको गुजरा चलाउनकै लागि उनले बजारमा सिजन अनुसार विभिन्न फलफूल तरकारी बेच्दै आएकी छन् । शनिबार दिउँसो करिब १२ बजेतिर वीरेन्द्रनगर–६ स्थित खुलामञ्च भेटिएका धनसरा र सुशीलाले दिनभर भारी बोकेर बजार डुल्दा पनि सोचे अनुसारको व्यापार नहुने बताए ।

डोकोभरि सुन्तला बोकेर बजार–बजार चहार्दा पनि बिक्री नहुँदा कहिलेकाहीँ दिक्क लाग्ने गरेको सुशीला सुनाउँछिन् । ‘राम्रोसँग व्यापार भएको दिन खुसी लाग्छ,’ उनले भनिन्, ‘कहिलेकाहीँ दिनभर मरी–मरी भारी बोकेर बजार पुर्‍याउँदा बिक्री नहुँदा, भनेको मूल्यभन्दा कममा बेच्नुपर्दा दुःख लाग्छ ।’ राम्रो कमाइ भएको दिन ३ सयदेखि ४ सय रुपैयाँसम्म फाइदा हुने गरेको उनले सुनाइन् ।



४० वर्षीया सुशीलाका श्रीमान् २ वटा छोरा–छोरी छन् । श्रीमान् मजदुरी गर्छन् । छोरा–छोरीलाई विद्यालयमा चाहिने कापी–कलम, खाजा खर्च जुटाउनकै लागि भए पनि डोको बोकेर हिँड्नु पर्ने बाध्यता उनको छ । मंसिरयता उनी दैनिक फलफूल तथा तरकारी मन्डीबाट सुन्तला खरिद गरेर बजारमा बेच्ने लिने गरेकी छन् ।

आफूहरूले भारी बोकेर मानिसहरू जहाँ छन् त्यहीँ फलफूल पुर्‍याउँदा पनि भनेको मूल्य नदिँदा आफ्ना दुःख खेर गए जस्तो अनुभूति हुने धनसराको दुखेसो छ । उनी विगत ३० वर्षदेखि यस्तै सिजन अनुसारको व्यापार बजार क्षेत्रमा गर्दै आएको बताउँछिन् ।



सुशीला र धनसर वीरेन्द्रनगर बजार क्षेत्रका प्रतिनिधि पात्र मात्रै मात्रै हुन् । हिजो आज बजार क्षेत्रमा उनीजस्तै सयौं महिला तथा पुरुष डोको बोकेर बजार क्षेत्रमा विभिन्न वस्तुहरू बिक्री गर्न आउँछन् । जो मानिस जहाँ छ, त्यही आफ्नो सामान पुर्‍याउँदै आएका उनीहरूको सामान उचित मूल्यमा नकिन्दा दिनभरको मिहिनेत खेर गए सरह हुने गरेको उनीहरूको गुनासो छ ।

  • प्रकाशित मिति : माघ २५, २०७७ आइतबार १८:१४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया