नेकपामा साइबर वार : फेक आइडी, फेक न्युज हतियार

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भए र बने, प्रचण्ड–माधव र ओली खेमा । यी दुई समूह अहिले व्यक्तिगत आरोप–प्रत्यारोपमा मात्र सीमित छैनन्, पार्टीको आधिकारिकता र चुनाव चिह्नका लागि पनि युद्धमैदानमा छन् । नेकपाको दुई खेमाबीचको लडाइँ उत्कर्षमा पुगेको छ । दुई समूहबीचको युद्धलाई हेर्दा, महाभारतकै झझल्को आउँछ ।

नेकपाका दुवै खेमा यतिबेला देशका विभिन्न स्थानमा आमसभा र र्याली गरेर शक्ति प्रदर्शन गरिरहेका छन् । एक दिन एक समूहले शक्ति प्रदर्शन गर्छ, त्यसलाई चुनौती दिँदै अर्को दिन अर्को समूहले जवाफी सभा गर्छ । दुवैका सभामा दर्शकको यथेष्ठ उपस्थिति पनि देखिन्छ । 

एकथरीको प्रदर्शनमा सुनिन्छ, केपी ओली आई लभ यू !

अनि अर्को दिन फेरि सुनिन्छ– अघि बढ प्रचण्ड साथ दिन तयार छौँ !

दुवै पक्षका कार्यकर्ताहरु आफ्नो समूहले गरेको आमसभालाई बृहत् देखाउन र जनसहभागितालाई नै सफलताको प्रतीक मानेर आत्मप्रशंसामा रमाउन तल्लीन छन्, सामाजिक सञ्जालदेखि सडकसम्म । त्यसका लागि दुवै समूहले फेक न्युज र फेक आइडीको सहारा लिइरहेका छन् । 

प्रचण्ड–माधव समूहले माघ ९ गते काठमाडौंको भृकुटीमण्डपमा संसद विघटनको विरोध गर्न आमसभा गर्यो । बेलुकीपख केही तस्बिर भाइरल भए, दिउँसोको सभाका तस्बिर भन्दै । तर, वास्तवमा ती तस्बिर ९ गतेको आमसभाको नभएर गत वर्ष माइतीघर मण्डलामा गुठी विधेयकलाई लिएर भएको विरोधको तस्बिर थियो । आफ्नो समूहको सभामा व्यापक मानिसको उपस्थिति थियो भन्ने देखाउन प्रचण्ड–माधव समूहले गरेको प्रोपोगाण्डा थियो, त्यो । 



त्यस्तै, गत बुधबार प्रधानमन्त्रीको अग्रसरतामा विभिन्न संवैधानिक निकायहरुमा नियुक्ति गरियो । काम चलाउ प्रधानमन्त्रीलाई संवैधानिक निकायमा नियुक्ति गर्ने अधिकार नभएको भन्दै प्रचण्ड–माधव समूहले त्यसको विरोधमा आकस्मिक रुपमा पत्रकार सम्मेलन गरेर गत बिहीबारका लागि ‘नेपाल बन्द’को आह्वान गर्यो । 

बन्दका दिन देशका विभिन्न स्थानमा सवारीसाधनमा तोडफोड र तोडफोडमा संलग्नलाई प्रहरीले पक्राउ गरेका समाचार आउन थाले । प्रचण्ड–माधव समूहले आह्वान गरेको नेपाल बन्दका कारण धेरै क्षति भएको देखाउन ओली समूहका ‘साइबर सेना’ दिनभर सक्रिय भए । बिहानैदेखि सामाजिक सञ्जालमा थरी–थरी तस्बिर सार्वजनिक भए, अझ भाइरल नै पारिए । जसमध्ये चारवटाले सबैको ध्यान आकृष्ट गर्यो । 



चार तस्बिरमध्ये एउटा मात्र सत्य थियो । बाटोमा तरकारी यत्रतत्र फालिएको, एम्बुलेन्स तोडफोड गरिएको र ट्याक्सी जलाइएपछि बिलौना गरिरहेका व्यक्तिको तस्बिर पुराना हुन् । तर, सामाजिक सञ्जालमा चारवटै तस्बिरलाई त्यही दिनको भन्दै प्रचार गरियो । त्यस दिनको वास्तविक तस्बिरसँगै अवास्तविक तस्बिर पनि भाइरल भए । ओली पक्षका ‘साइबर सेना’ले सेयर गरेका पुराना र असम्बन्धित तस्बिरलाई आधार मानेर सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रचण्ड–माधवलाई गाली गर्दै व्यापक रुपमा ती तस्बिर सेयर गरे । सामाजिक सञ्जाल मात्र होइन, कतिपय सञ्चारमाध्यमले नै ती तस्बिरसहितका समाचार  बिहानैदेखि प्रकाशन र प्रसारण गरे । भाइरल बनाए । समाचार बिकाउने होडमा केही मिडिया नराम्रोसँग चुके । 

नेपाल बन्दकै दिन एउटा अर्को समाचार पनि बाहिर आयो, त्यस दिन काठमाडौंको गोंगबुमा एकाबिहानै जलाइएको ट्याक्सी र जलाउनमा संलग्न व्यक्तिबारे । सामाजिक सञ्जाल र समाचारमा ट्याक्सी जलाउनमा ओलीनिकट अनेरास्ववियुकै एक नेताको संलग्नता रहेको र उनलाई प्रहरीले पक्राउ गरेको भनेर आयो । तर, यो खबर पनि सही थिएन । सो प्रकरणमा आफ्नो संलग्नता निराधार रहेको र आफूलाई प्रहरीले पनि नपक्रेको भन्दै नाम जोडिएका व्यक्तिले एउटा भिडियो नै बनाएर सेयर गरेका थिए । 

नेपाल बन्दको भोलिपल्ट अर्थात् माघ २३ गते ओली समूहले आमसभा आयोजना गर्यो, दरबारमार्गमा । तर, अघिल्लै दिन प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाको नामबाट आमसभा स्थगित भएको जानकारी दिइयो । यो पनि फेक आइडीकै कमाल थियो,  आमसभालाई विफल पार्ने हेतुले प्रचण्ड–माधव समूहका केही व्यक्तिले सूर्य थापाका धेरैभन्दा धेरै फेक आइडी बनाएर स्थगित भएको सूचना जारी गरे । 

सूर्य थापाको फेक आइडीमार्फत आमसभाबारे लेखिएको थियो– भोलि काठमाडौंमा हुने भनिएको बृहत् आमसभा सुरक्षासहित विविध कारणले स्थगित भएको जानकारी गराउँछु । 
भोलिपल्ट आमसभा भयो । आमसभा सकिएलगत्तै ओली पक्षका नेता महेश बस्नेतको फेक आइडी बनाएर प्रचण्ड–माधव पक्षका साइबर सेनाले भ्रामक तस्बिर भाइरल गराए । बस्नेतको नामबाट खोलिएको आइडीबाट प्रकाशित ‘आज भएको आमसभाको तस्बिर’ सो दिनको नभएर अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको आमसभाको तस्बिर थियो । 

यी केही प्रतिनिधि घटना र दृष्टान्त मात्र हुन् । पछिल्लो समय प्रचण्ड–माधव र ओली समूहबीच दिनानुदिन तिक्तता बढ्दै जाँदा दुवै पक्षका साइबर सेना पनि उत्तिकै सक्रिय छन्, कसरी अर्को पक्षलाई खुइल्याउन सकिन्छ भनेर । अहिले सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा विभिन्न नेताका फेक आइडी छ्यापछ्याप्ती भेटिन्छन् । 

एउटा समूहले कुनै कार्यक्रम गर्न लाग्यो कि अर्को समूह एकाएक सामाजिक सञ्जालमा विरोधका निम्ति उर्लिहाल्छ । दुवै समूह विपक्षीको बेइज्जत गर्न अनेकन् हत्कण्डा र प्रोपागाण्डा अपनाइरहेका छन् । विपक्षी समूहको बदनामी र आफ्नो समूहको बचाउका दुवै समूहले फेक आइडी र न्युजलाई हतियार बनाइरहेका छन् । भलै, असत्य पर्दाफासपछि आफैँ नांगिनु किन नपरोस् । 

  • प्रकाशित मिति : माघ २६, २०७७ साेमबार ७:३१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया