सन् १९९२ देखि लगातार आठ वर्षसम्म भारतीय हाँस्य कलाकार जानी लिवर हरेक फिल्ममा देखिन्थे । उनी फिल्ममा जानी लिवरको नामले चिनिए पनि खास नाम जानी प्रकाश हो । फिल्ममा हिट हुनुअघि उनले निकै दुःख गरेका थिए । गरिबीका कारण ७ कक्षामै उनले पढाइ छोड्नु पर्यो । तर, उनमा भएको अभिनय र कमेडी गर्ने क्षमताले अहिले सफलताको उचाईमा पुगेका छन् ।
गरिबीका कारण पढाइ छोडेपछि जानी गाउँ-गाउँ घुमेर कलम बेच्थे । त्यसपछि बुबासँगै हिन्दुस्तान लिवरमा काम गर्न थाले । त्यहाँ उनले अभिनय र हाँस्य प्रस्तुती निरन्तर गरिरहे । त्यहीबाट उनको नाम जानी प्रकाशबाट नाम परिवर्तन भएर जानी लिवरमा भयो ।
आन्ध्र प्रदेशमा जन्मेका उनलाई हिन्दी आउँदैन थियो । उनका बुबा प्रकाश राव हिन्दुस्तान लिवरमा काम गर्थे । फिल्मका कलाकारको क्यारिकेचर गर्न माहिर उनले स्टेज शोमा धेरै अवसर पाउँथे । स्टेज शोमा उनले गरेको प्रस्तुती भारतका चर्चित अभिनेता सुनिल दत्तले हेरेपछि उनलाई फिल्ममा काम गर्ने अवसर जुर्याे । दत्तले उनलाई ‘दर्दका रिश्ता’मा ब्रेक दिए । उनले पहिलो ब्रेकपछि पाएको सफलता आजसम्म निरन्तर छ । दर्शकले उनी अभिनित फिल्मको हिरोको भूमिकाभन्दा उनको कमेडी बढी मन पराए ।
सन् २००० मा मात्र उनको २५ वटा फिल्म रिलिज भयो । करिब ३ सय ५० फिल्ममा काम गरिसकेका उनले १३ पटक फिल्मफेयर अवार्ड पाइसकेका छन् । उनले एक इन्टरभ्यूमा भनेका छन्, ‘एउटा स्टेज शोमा अभिताभ बच्चन पनि हुनुहुन्थ्यो, मेरो कमेडी निकै राम्रो भयो, पूरै हलमा वान्स मोरको स्वर घन्कियो ।’ भोलिपल्ट पत्रिकामा उनको र अमिताभ बच्चनको फोटो छापिएपछि उनको खुशीको सीमा रहेन् । ‘त्यो मेरो जीवनको सबैभन्दा खुशीको क्षण थियो,’ उनले अन्तर्वार्तामा भनेका छन् । एजेन्सी
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।