ओलीले ५ वर्ष सरकार चलाउने जनमत पाएका होइनन्, सांसद मात्रै भएका हुन् : नेता पुन

सत्तारुढ नेकपाको प्रचण्ड–माधव समूहका स्थायी समिति सदस्य वर्षमान पुनले केपी शर्मा ओलीलाई जनताले नभएर पार्टीले प्रधानमन्त्री बनाएको बताएका छन् । 

ओलीले आफू जनताबाट प्रधानमन्त्री चुनिएको र विशेषाधिकार रहेको झुठो दावी गरेको भन्दै पुनले ओली जनताबाट नभएर संसदबाट प्रधानमन्त्री चुनिएको बताए ।

देशभरका १ सय ६५ निर्वाचन क्षेत्रबाट एक÷एक र १ सय १० जना समानुपातिकबाट गरी २ सय ७५ सांसद मात्र जनताले छान्ने मन्त्री पुनको स्पष्टोक्ति छ । 

‘ओली जी प्रधानमन्त्रीको उम्मेदवार भएर देशभरका जनताले भोट हालेको होइन’, पार्टी सम्वद्ध युवा र विद्यार्थीको भेलालाई आइतबार स्याङ्जामा सम्बोधन गर्दै पुनले भने, ‘उहाँ झापाको एउटा क्षेत्रबाट निर्वाचित सांसद हो, देशभरबाट होइन । उहाँले जसरी १ सय ७५ जना सांसदले चुनाव जितेका छन् ।’ 

प्रधानमन्त्री ओलीले सार्वजनिक अभिव्यक्तिहरुमा आफू पाँच वर्षका लागि जनताबाट प्रधानमन्त्री निर्वाचित भएपनि पार्टीभित्रको अवरोधले काम गर्न नपाएकाले संसद विघटन गरेको दावी गर्दै आएका छन् । 

ओली सरकारमा तीन वर्ष ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री रहेका पुनले ओलीले पार्टीले पाँच वर्ष सरकार चलाउन दिएको जनमतमाथि घात गरेको टिप्पणी गरे । पार्टीले चुनावी घोषणापत्रमार्फत अघि सारेका समृद्धिको अभियानबाट ओली भागेको पुनले आरोप लगाए । 



‘ओली जनमतबाट, समृद्धिको अभियानबाट र कम्युनिष्ट आन्दोलनबाट भागेको भगौडा हो’, पुनले भने । ओलीले सत्ता प्राप्तिका लागि मात्र गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, सामाजिक न्यायका एजेण्डा स्वीकार गरेको पुनको भनाइ छ । 

तर, ती राजनीतिक एजेण्डामा ओलीको स्वामित्व नरहेको आरोप पुनले लगाए । यस्तै ओलीले सत्ता र शक्तिका प्राप्तिका लागि मात्र पार्टी एकता गरेको घटनाक्रमले पुष्टि भएको दावी पुनले गरे । 



ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन गरेको चर्चा गर्दै पुनले अदालतले संसद पुनःस्थापना गर्ने विश्वास व्यक्त गरे । ओली र उनका समर्थकले संविधानअनुसार संसद विघटन गरेको दावी पेस गर्न नसकेका कारण अन्तर्राष्ट्रिय अभ्यासको हवाला दिँदै हिँडेको बताए । 

केन्द्रीय समितिदेखि गाउँ कमिटीसम्म र संसदमा समेत आफूहरु बहुमतमा रहेकाले पार्टीको आधिकारिकता र चुनाव चिन्ह पनि आफूहरुले नै पाउने दावी पुनको छ । 

  • प्रकाशित मिति : माघ २६, २०७७ साेमबार ७:१४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया