आजदेखि सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन, तीन नयाँ विधेयक दर्ता

सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । संवैधानिक प्रावधानअनुसार प्रदेशसभाको एउटा अधिवेशनको अन्त्य र अर्को अधिवेशन सञ्चालन बीचको समयावधि छ महिनाभन्दा बढी हुनु हुँदैन ।

सुदूरपश्चिम प्रदेशसभाको छैटौँ अधिवेशन गत जेठ १३ गते सुरु भएर भदौ ३१ गते अन्त्य भएको थियो । संवैधानिक प्रावधानअनुसार पछिल्लो अधिवेशन अन्त्य भएको छ महिना पुग्नै लाग्दा पाँच दिनअघि सातौँ अधिवेशनको आह्वान गरिएको छ ।

गत माघ १८ गते बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम आज १ बजेदेखि सुरु हुने गरी अधिवेशनको आह्वान गर्ने गरी प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

सुदूरपश्चिम प्रदेश सभा आज आह्वान गरिएको भएपनि प्रदेश सरकारले संसदका लागि अझैं पर्याप्त बिजनेस तय गर्न नसकेको बताइएको छ । प्रदेश सभाको छैटौं अधिवेशन अन्त्य हुँदा प्रदेश सभामा दुईवटा विधेयक प्रक्रियामा रहेका थिए । 

संसदमा सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश बालबालिका सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७६ प्रक्रियामा रहेका छन् ।

सामान्यतया संसदको हिउँदे अधिवेशनलाई कानुन अधिवेशन पनि भन्ने गरिन्छ । प्रदेश सरकारले यो अवधिमा हालसम्म तीन वटा विधेयक प्रदेशसभामा दर्ता गराएको छ ।



सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तयार गरेको तीन वटा विधेयक प्रदेश सभामा दर्ता गराएको जानकारी दिए ।

सूचना अधिकारी जोशीका अनुसार मन्त्रालयले तयार गरेको ‘सुदूरपश्चिम प्रदेशको पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘सुदूरपश्चिम प्रदेशको बीउबिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘सुदूरपश्चिम प्रदेशको दुग्ध विकास बोर्ड स्थापना र व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभा सचिवालयमा दर्ता भएका छन् ।



  • प्रकाशित मिति : माघ २६, २०७७ साेमबार ८:२१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया