माधव नेपालको व्यङ्ग्य : चोइटिएर गएकाले 'ओली बा' पार्टी खोले हुन्छ
सूर्य चिह्न आफ्नै समूहमा आउने दाबी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन गराउन नसक्ने बताएका छन्। अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद्को बैठकमा सोमबार बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले आगामी वैशाख १७ र २७ गते निर्वाचन गर्न नसक्ने बताएका हुन्।

उनले केपी शर्मा ओली नेतृत्वको नेकपाको माघ २३ गतेको जनसभामा तीन लाख मानिस उतार्ने भने पनि २०/२५ हजार मात्रै ल्याउन सकेको जिकिर गरे। नेपालले प्रधानमन्त्री ओलीले पञ्चको जस्तै रवैया देखाएको आरोप पनि लगाए।

नेपालले सूर्य चिन्ह आफ्नै समूहले पाउने पनि जिकिर गरे। ‘भ्रममा नपर्नुहोला , सूर्य चिह्न कहाँ जान्छ? जहाँ नेकपा छ त्यही ठाउँ, सूर्य चिह्न हाम्रै हुन्छ । यो पार्टीलाई माइनस गरेर चुनाव गराउने भ्रम केपी ओलीले नपाले हुन्छ', नेपालले भने, 'केपी ओलीले चुनाव गराउने पनि होइनन्। उनले देशलाई द्वन्द्वमा लाँदै छन् । उनको रवैया हामीले देखिसक्यौँ । पञ्चको रवैयामा उनले तीन लाख मान्छे किन ल्याइनस् भन्दै अरुलाई गाली गरिरहेका छन्।’

नेता नेपालले अहिले पनि तीन सयभन्दा बढी केन्द्रीय सदस्य आफ्नो समूहमा रहेको दाबी गरे। तर ओलीसँग एक सय भन्दा बढी केन्द्रीय सदस्य नरहेको जिकिर पनि उनको थियो। 'ओली नेतृत्वको नेकपा चोइटिएर गएको हो', उनले भने, 'नेकपा चोइटिएर सानो टुक्रो ओली समूहले चलाइरहेका छन्।'

अध्यक्ष नेपालले ओली पक्षसँग असल मानिस नरहेको पनि जिकिर गरे। 'ओलीसँग ‘बा’भन्‍न रुचाउने मान्छे मात्रै छन्', उनले थपे, 'त्यहाँ कुनै असल मानिस छैनन्।'

आफ्नो समूहमा असल मानिस रहेको उनको जिकिर गरे। 'केपी ओलीको पक्षमा ‘बा’ भन्‍ने मात्रै छन् । त्यहाँ क्रान्तिकारी, सहयोद्धा छैनन् । हामीसँग असल मानिस छन्,’ नेपालले भने, ‘केपी ओलीसँग जोडिएका मान्छे नौटंकी गर्न सिपालु छन्। उनीहरूले राजनीतिक कुरा गर्नु गफ मात्रै हो। ओली बा पार्टी खोल्दिए सबैभन्दा राम्रो, त्यो मन पराउने सबै उतै जान्छन्।’





  • प्रकाशित मिति : माघ २६, २०७७ साेमबार १५:२२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया