टीकापुर घटनाका दोषी रेशम चौधरी होइनन् : उद्योगमन्त्री भट्ट

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले टीकापुर घटनाको दोषी रेशम चौधरी नभएको बताएका छन् । धनगढीमा प्रेस संगठन नेपाल सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधनमा यस्तो बताएका हुन् ।

‘रेशम चौधरीलाई थुनिएको छ तर दोषी बाहिर छन्’, उनले भने, ‘हामीलाई शंका छ ।’ 

मन्त्री भट्टले नेपालमा ठूला–ठूला घटनाको प्रतिवेदन बाहिर नआउने भएकाले टीकापुर घटनाका दोषी पनि बाहिर रहेको जिकिर गरे ।

कार्यक्रममा उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विक्षिप्त बन्दै गएको आरोप लगाए । संस्कारविहीन बन्दै गएपछि प्रचण्डले जे मन लाग्यो त्यही बोल्ने गरेको मन्त्री भट्टको तर्क छ । 

‘प्रचण्डले मञ्चमा गएर केपी शर्मा ओलीको बच्चा नहुनु मेरो दोष हो त भन्दै हिँडेका छन् । त्यो लेबलको मान्छेले यस्तो भनेको सुहाउन्न’ मन्त्री भट्टले भने, ‘धनगढी सभामा उनले नाम प्रधानमन्त्रीको लिए पनि बच्चा नहुने कुरो मलाई नै इंगित गरेर भनेका हुन् । तर, त्यहाँ मेरो नाम लिएको भए जनताले ढुंगा हिर्काउँथे ।’

मन्त्री भट्टले आफूलाई दलाल भनेको कुरो प्रति कुनै गुनासो नरहेको बताए । ‘प्रचण्डसँग जे छ त्यही भन्नुभयो । मलाई अनौठो लागेको छैन ।’ उनले भने, ‘धनगढी आएर मेरो आमालाई सम्झनु भएछ, मेरो परिवारको चिन्ता गर्नु भएकोमा धन्यवाद छ उहाँलाई ।’



साथै उनले प्रचण्डले दुनियाँ ढाट्न सक्ने तर आफूलाई नसक्ने बताए । मन्त्री भट्टले आफू प्रचण्डको कार्यकर्ता नभई सहयोद्धा भएको बताए । ‘के प्रचण्डले मलाई न्युरोडको फुटपाथबाट उठाएर हुर्काएका हुन् ?’ उनले प्रश्न गर्दै भने, ‘मोहन वैद्य हुन मलाई राजनीतिमा ल्याउने ।’



  • प्रकाशित मिति : माघ २६, २०७७ साेमबार १८:४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया