लाखौं मूल्य बराबरको प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

नेपालमा प्रतिबन्धित लाखौं मूल्य बराबरको औषधीसहित विराटनगरबाट एकजना पक्राउ परेका छन् । विराटनगर ५ स्थित न्युरो अस्पताल नजिकबाट २६ वर्षीय विक्रम मण्डल पक्राउ परेका हुन् । स्थानीय रामप्रसाद साहको घरमा डेरा गरी बस्ने विकास मण्डलको कोठाबाट १० लाखभन्दा बढी मूल्यको प्रतिबन्धित र मिति गुज्रिएका औषधी सहित मण्डल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले सूचनाका आधारमा खानतलासी गर्दा प्रतिबन्धित औषधी सहित लेबल प्रिन्ट गर्ने प्रिन्टरलगायतका सामान बरामद गरेको जानकारी दिए । आइतबार बेलुका बरामद भएका औषधीसहित विक्रम मण्डललाई औषधी व्यवस्था विभागको जिम्मा लगाइएको छ ।

बरामद भएका करिब ८० ब्रान्डका औषधीमध्ये धेरै प्रतिबन्धित छन् । यस्तै मिति गुज्रिएका औषधीलाई नयाँ लेबल हालिएको समेत फेला परेको औषधी व्यवस्था विभाग विराटनगरले जनाएको छ । विभागका कार्यालय प्रमुख सन्जिव शर्मा कट्टेलका अनुसार पक्राउ परेका मण्डल माथि म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । 
कट्टेलका अनुशार बरामद औषधीमध्ये कतिपयको लेबल स्वीकृत नभएका, कतिपय दर्ता नभएका र धेरै प्रतिबन्धित औषधीहरू छन् । 

को हुन विक्रम मण्डल ? 

औषधी सहित पक्राउ परेका विक्रम विकास मण्डलका भाइ हुन् । विकास मण्डल न्युरो छेउमा हाम्रो फेन्सी फार्मेसी सञ्चालन गर्दै अवैध रूपमा औषधीको कारोबार गर्दै आएका थिए । विभागले यसअघि अनुगमनका क्रममा अवैध कारोबार गरेको फेला पारेपछि २०७६ चैतमा जिल्ला अदालतमा ५ वर्ष कैद र ५० हजार जरिवाना माग दाबी गर्दै मुद्दा चलाएको थियो । 

केही महिनाअघि मात्र ३ लाख धरौटीमा रिहा भएका विकास फेरि पनि कारोबारमा संलग्न पाइएको हो । विभागले उनको फार्मेसीको प्रमाणपत्र ६ महिनाको लागि निलम्बन समेत गरेको थियो । प्रहरीका अनुशार भाइ विक्रम पक्राउ परे पनि विकास भने फरार छन् । विभाग प्रमुख कट्टेलले पटक-पटक सोही कारोबारमा पाइएकाले हदैसम्मको कारबाहीको माग सहित मुद्दा चलाइने जानकारी दिए ।





  • प्रकाशित मिति : माघ २६, २०७७ साेमबार १८:४३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया