राष्ट्र बैंकको तथ्यांक : आयात ४ प्रतिशतले घट्दा बढ्यो निर्यात

चालु आर्थिक वर्ष २०७७\७८ को ६ महिनामा नेपालको समग्र निर्यात ६.१ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय तथ्याङ्कले साउनदेखि पुससम्मको ६ महिनाको अवधिमा ६० अर्ब ८० करोड रुपैयाँको निर्यात भई ६.१ प्रतिशतले निर्यात वृद्धि भएको देखाएको हो । 

समीक्षा अवधिमा भारततर्फ हुने निर्यात ८.४ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकतर्फ हुने निर्यात ४ प्रतिशतले बढेको छ । उक्त अवधिमा चीततर्फको निर्यात भने ५० प्रतिशतले कमी आएको राष्ट्र बैंककाे तथ्याङ्कले देखाएको छ ।

वस्तुगततर्फ अलैंची, धागो, जुटका वस्तु, पश्मिना, चाउचाउ लगायतको निर्यात वृद्धि भएको छ भने तेल, दाल, जस्तापाता, जुस, तार लगायतका वस्तुको निर्यात घटेको तथ्याङ्कमा उल्लेख छ । 

यस्तै उक्त  अवधिमा आयात भने खुम्चिएको छ । समीक्षा अवधिमा गतवर्षको सोही अवधिको तुलनामा आयात ४.८ प्रतिशतले घटेर ६ खर्ब ६१ अर्ब रुपैयाँमा सीमित भएको छ । आयाततर्फ पनि भारतबाट हुने आयात ३.५ प्रतिशतले बढ्दा चीततर्फको आयात १८.५ प्रतिशतले घटेको छ । त्यसैगरी, अन्य मुलुकबाट हुने आयातमा १७.४ प्रतिशतले कमी आएको तथ्यांकले देखाएको छ । 

वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, सुन, दूरसञ्चारका उपकरणलगायत वस्तुको आयात बढेको छ भने कच्चा पाम तेल, हवाइजहाजका पार्टपुर्जा, चाँदी, पेट्रोलियम पदार्थलगायतका वस्तुको आयातमा भने कमी आएको छ । 

६ महिनामा भित्रियो ५ खर्ब विप्रेषण



चालु आवको ६ महिनामा झण्डै ५ खर्ब बराबरको विप्रेषण भित्रिएको छ । राष्ट्र बैंकका अनुसार सो अवधिमा कुल ४ खर्ब ९५ अर्ब ३१ करोड बराबरको विप्रेषण मुलुकभित्र भित्रिएको छ ।   

राष्ट्र बैङ्कका अनुसार सो अवधिमा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.९ प्रतिशतले बढेको थियो ।   



समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ७७.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १७.७ प्रतिशतले बढेको थियो । त्यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६८.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ०.५ प्रतिशतले बढेको थियो ।

शोधनान्तर खाता बचतमा 

६ महिनाको अवधिमा मुलुकको शोधनान्तर स्थिति १ खर्ब २४ अर्ब ९२ करोडले बचतमा रहेको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २६ अर्ब ६५ करोडले बचतमा थियो । 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २३ करोड ५३ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५ करोडले बचतमा रहेको छ ।     
समीक्षा अवधिमा चालू खाता ४९ अर्ब ५३ करोड रुपैयाँले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ७९ अर्ब ६५ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ९४ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा ४२ करोड २७ लाखले घाटामा रहेको  तथ्याङ्कले देखाएको छ । 

  
 

  • प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार १३:२३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया