नेकपा आधिकारिकताबारे प्रधानमन्त्रीले निर्वाचन आयोगमा कुरा गरेनन्
सल्लाहकार थापा भन्छन् : वैशाखको निर्वाचन तयारीबारे छलफल भयो

काठमाडौं : पुस ५ गतेको प्रतिनिधिसभा विघटनसँगै दुई समूहमा विभाजित सत्तारुढ नेकपाको आधिकारिकतालाई लिएर चर्किएको विवाद अहिले निर्वाचन आयोगमा पुगेको छ। नेकपा दाहाल-नेपाल समूहले गत माघ २० गते राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिकता दाबी गरेसँगै कानुनी प्रक्रिया अघि बढेको हो।

निर्वाचन आयोगले त्यसअघि नेकपा अझै पनि एक रहेको भन्दै ओली र प्रचण्ड-माधव समूहले छुट्टाछुट्टै निर्णय गरेर बुझाएको विवरण अध्यावधिक गर्न अस्वीकार गरेको थियो। त्यसपछि प्रचण्ड-माधव समूहले १९ पृष्ठको पत्र बुझाउँदै आधिकारिकता माग गरेको थियो।

आफ्नो पक्षमा बहुमत रहेको अडान दाहाल-नेपालले राखिरहेका बेला  प्रधानमन्त्री केपी  शर्मा ओली आफ्नो समूह र सरकारका सहयोगीसहित मंगलबार कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगे। सुरुमा उनी नेकपाको आधिकारिकतालाई लिएर आयोगमा पुगेको अनुमान धेरैको थियो।

तर प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली आफ्ना सहयोगीसहित आयोगले गरेको निर्वाचन तयारीबारे बुझ्न आएको जानकारी दिए। ओलीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितसँग सामूहिक छलफल गर्दै निर्वाचन तयारीका कुनै पनि कसर बाँकी नराखी काम गर्न आग्रह गरेको थापाले बताए।

आधिकारिकताबारे कुरा भएन 



प्रेस सल्लाहकार थापाले आज प्रधानमन्त्री आयोग जानुको उद्देश्य आधिकारिक विवादभन्दा निर्वाचन तयारीबारे छलफल भएको स्पष्टीकरण दिए। 'नेकपाको विवादबारेमा छलफल गर्न प्रधानमन्त्री निर्वाचन आयोग जानु भएको होइन', उनले भने, 'आयोगले त्यसबारे काम गरिरहेकै होला। दफा ४४ अनुसार आधिकारिकता विवादलाई लिएर निवेदनमा पनि परेको छ। तर त्यो विषयमा आज प्रधानमन्त्रीले आयोगसँग कुनै छलफल गर्नु भएन।'



पार्टीको नेताहरु भन्दा पनि सकारको टोलीसहित प्रधानमन्त्री आयोगमा गएको उनले बताए। 'पार्टीका नेताहरु भन्दा पनि सरकारको टोली आयोगमा पुगेको हो। प्रधानमन्त्री आयोगमा पुग्नु भएको हो, पार्टी आएको होइन', उनले भने, 'प्रधानमन्त्रीले आयोगलाई सबै प्रकारका सहयोग गर्ने बताउनुभयो। साधन स्रोत जुटाउन कमी हुन नदिने जानकारी दिँदै प्रमले अहिलेसम्मका कामहरु सन्तोषजनक रहेको उल्लेख गर्नु भयो।

सरकारले सोमबार मात्रै २०७८ वैशाख १७ र २७ गते सातवटा प्रदेशमा दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ। पहिलो चरणमा वैशाख १७ गते ४० जिल्लामा निर्वाचन गर्ने तयारी सरकारले गरेको हो। २७ गते देशका ३७ वटा जिल्लामा निर्वाचन हुने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए। 

वैशाख १७ गते प्रदेश नम्बर २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा निर्वाचन हुनेछ। दोस्रो चरण अर्थात् वैशाख २७ गते प्रदेश १, बागमती र कर्णालीमा निर्वाचन हुने गुरुङले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय गरेका थिए।

  • प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार १३:५४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया