खेलाडीको प्रदर्शनमा र्‍याकेटले ठूलो महत्त्व राख्छ : रत्नजित तामाङ

रत्नजित तामाङ नेपाली ब्याडमिन्टको चर्चित नाम हो । लगातार ४ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका रत्नले फाइनल नखेलेका घरेलु प्रतियोगिता बिरलै हुन्छन् । नेपालको शीर्ष वरीयताका उनले राष्ट्रलाई विभिन्न अन्तर्राष्ट्रिय पदक पनि दिलाएका छन् । 

रत्नजितले सन् २०१६ को पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन प्रतियोगितामा  आफ्नै दिदी नङ्गशलादेवी तामाङसँग मिलेर मिक्स डबलमा नेपाललाई स्वर्ण दिलाएका थिए ।

उनले सन् २०१७ को यही प्रतियोगितामा नङ्गशलासँगै मिलेर मिक्स डबल तथा गत वर्ष दिपेश धामीसँग मिलेर मेन्स डबल्समा नेपललाई रजत पदक दिलाएका थिए ।

उनले ढाकामा सम्पन्न १० औं दक्षिण एसियाली खेलकुद (साग) मा मेन्स टिम इभेन्टमा तथा गत वर्ष नेपालमै सम्पन्न १३ औं सागमा मेन्स सिंगल र डबल्समा कास्य पदक जितेका थिए ।

रत्नजितका बुबा दिलबहादुर तामाङ पनि राष्ट्रिय ब्याडमिन्टन खेलाडी भएकाले  उनले सानै उमेरदेखि ब्याडमिन्टनको र्‍याकेटसँग खेल्ने अवसर पाए ।

‘मैले ५–६ वर्षको उमेरदेखि नै ब्याडमिन्टनको र्‍याकेट समाउने अवसर पाएँ’ रत्नले फरकधारसँगको कुराकानीमा सुनाए त्यतिबेला हामी बुबाको पुरानो र्‍याकेटले ब्याडमिन्टन सिक्थ्यौँ ।’



पुरानो र्‍याकेटले सिक्न थालेको केही वर्षपछि बुबाले रत्नलाई नयाँ र्‍याकेट किनिदिए त्यसदिन उनलाई निकै खुसी लागेको थियो ।

‘म त्यतिबेला ९–१० वर्षको थिएँ होला । बुबाले मलाई नयाँ ब्याडमिन्टन र्‍याकेट ल्याइदिनु भयो त्यो पंकज ब्रान्डको थियो’, रत्नले सुनाए, ‘त्यसदिन मेरो खुसीको सीमा थिएन ।’



रत्नले खासै र्‍याकेट किन्नु परेको छैन पहिला बुबाले किनदिन्थ्ये भने अहिले स्पोन्सर मिल्छ । उनले सानैमा ७–८ हजारमा किनेको र्‍याकेट नै सबैभन्दा महङ्गो हो । 

‘मैले खासै र्‍याकेट किन्नुपरेको छैन । मलाई मिति र ब्रान्ड त याद छैन तर सानैमा ८ हजार जतिमा एउटा र्‍याकेट किनेको थिएँ त्यो नै मैले किनेको सबैभन्दा महङ्गो र्‍याकेट हो’, रत्नले बताए ।

रत्नले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा लि–निङ्ग, भिक्टोर र योनेक्स ब्रान्डका र्‍याकेट प्रयोग गरेका छन् । हाल प्रयोग गरिरहेको योनेक्स ब्रान्ड उनलाई सबैभन्दा मनपर्छ ।

खेलाडीको प्रदर्शनमा र्‍याकेटको महत्त्व निकै ठूलो रहने रत्नको बुझाइ छ । ‘खेलाडीको प्रदर्शनमा र्‍याकेटले निकै महत्त्व राख्छ’, रत्नले भने ‘जति राम्रो र्‍याकेट भयो त्यति नै खेल्न सहज हुन्छ, सट पनि राम्रो जान्छ ।’ 

उनीसँग र्‍याकेटसम्बन्धी रमाइला किस्सा पनि छन् तीमध्ये एक किस्सालाई उनले यसरी सुनाए, ‘यो केही वर्ष अगाडिको कुरा हो । हामीले मदन भण्डारी ब्याडमिन्टन प्रतियोगिताको मेन्स डबल्समा प्रतिस्पर्धा गरिरहेका थियौं सट हान्ने बेला मेरो र्‍याकेट बाङ्गिएछ, तर मैले खेल सकिएपछि मात्र थाहा पाएँ ।’

  • प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार १४:४७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया