राप्रपाका अध्यक्षद्वय राणा र लाेहनी भन्छन् : राजसंस्था र हिन्दू राष्ट्र नल्याई सुखै छैन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शम्शेर जबराले प्रजातन्त्रलाई सबल बनाउन राजसंस्था र हिन्दू राष्ट्र नल्याई सुखै नरहेको बताएका छन् ।

‘स्थायित्व प्राप्त गर्न र प्रजातन्त्रलाई सुढृद तुल्याउन हिन्दुराष्ट्रको बलियो आधार र अभिभावकको रुपमा राजसंस्था अपरिहार्य बनेको छ,’ राप्रपा अध्यक्ष राणाले काठमाडौं जिल्लास्तरीय पार्टी भेलालाई सम्बोधन गर्दै मंगलबार भने, ‘देशमा विद्यमान संकट मोचन गर्ने आधार पनि यिनै हुन् ।’ 

झण्डै दुइतिहाईको जनादेश अवमूल्यन गर्ने साम्यवादी पार्टी वा प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न नसक्ने नेपाली कांग्रेसले देशलाई सही दिशा दिन नसक्ने राणाले दाबी गरे ।

‘देशलाई भरपर्दाे दिशा दिन सक्ने पार्टी भनेको राप्रपा नै हो,’ उनले भने, ‘प्रजातान्त्रिक क्षितिजमा उदाउने शक्ति भनेको राप्रपा हो, राप्रपा मात्र हो ।’

जिल्ला भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पुराना राजनीतिक शक्तिबाट वाक्कदिक्क भएर नेपाली जनताले नयाँ विकल्प खोजिरहेको बताए ।

‘यस अर्थमा राप्रपा अघि बढोस्, निर्णायक भूमिका निर्वाह गरोस् भन्ने जनताको अपेक्षा र शुभेच्छा छ,’ उनले भने ।



‘जनताले नयाँ राजनीतिक शक्ति खोजेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति जनताको सहानुभूति छ र त्यस्तो शक्ति बनाउन हामी सक्षम भयौँ भने जनताको साथ हामीले पाउनेछौँ,’ अध्यक्ष लोहनीले भने ।

यौ मौका छोप्न र जनताको अपेक्षा पूरा गर्न क्रियाशील बन्न कार्यकर्तालाई अध्यक्ष लोहनीले निर्देशन दिए । ​जनचाहनाबमोजिम राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको लक्ष्य हासिल गर्ने लोहनीले दाबी गरे ।



कार्यकर्तालाई सम्बोधन गदै उनले भने, ‘पार्टीभित्र, संगठनभित्र सबै कुरा लिखित हुँदैन । पार्टी सदस्यहरुबीच सम्बन्ध विस्तार गर्ने, एकता कायम राख्ने संस्कृति, मूल्य, मान्यता त्यस मानेमा महत्वपूर्ण हुन्छ ।’

  • प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार १७:३६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया