‘मेयरले जुलुस गर्न काठमाडौं जाऊँ भने, प्रतिगमन थाहा छैन !’
कार्यकर्तालाई राजधानीका पार्टी प्यालेसमा भात

नेकपा दाहाल–नेपाल समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ। यसअघि रत्नपार्क नजिकै विरोधसभा गरेको दाहाल–नेपाल समूहले आज भृकुटीमण्डप–टुडिखेल सडकखण्डलाई कार्यक्रमस्थल बनाएको छ।

पहिलो विरोधसभा शक्ति कम देखिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले व्यंग्य गरेका थिए। ओलीले माघ २३ गते आफ्नो पक्षको शक्ति प्रदर्शन गरेका थिए।

दरबारमार्गबाट भाषण गर्दा उनले भनेका थिए, ‘यो हो विशाल आमसभा, जहाँ यति नागरिकको सहभागिता छ । अरुले कार्यक्रम गर्दा मान्छे पुग्दैन, हामीले गर्दा ठाउँ पुग्दैन । यो कार्यक्रमस्थलको दाहिने साइडमा सञ्चय कोषसम्म, बायाँ साइडमा जय नेपाल हालसम्म र अगाडि रत्नपार्कसम्म मान्छे भरिभराउ छन् । तर पनि मान्छे अटेका छैनन्। यो उपस्थितिले पुष्टि गर्यो सूर्य कसको भन्ने?’   

त्यसलगत्तै दाहाल–नेपाल समूहले पनि राजधानी केन्द्रीत अर्को विरोध सभा गर्ने घोषणा गरेको थियो। यो शक्ति प्रदर्शनले रक्षात्मक भइसकेका ओलीले  घुँडा टेक्ने दाबी दाहाल–नेपालको थियो। यो समूहले शक्ति प्रदर्शनका लागि देशभरबाट बस रिजर्भ गरेर कार्यकर्ता ल्याएको छ। 

पार्टी प्यालेसमा भात

देशभरबाट राजधानीमा उतारिएका नेता कार्यकर्ताका लागि पार्टी प्यालेसमा भातको व्यवस्था गरिएको छ। राजधानीका फरक फरक पार्टी प्यालेस र होटलमा उनीहरुलाई राखिएको छ ।



तिनै पार्टी प्यालेसमध्ये मध्य बानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेसमा थिए प्रदेश २ को सर्लाहीबाट आएका दाहाल–नेपाल समूहका समर्थक र सर्वसाधारण । जहाँ उनीहरुलाई खानाको व्यवस्था गरिएको छ। बिहेको सिजन नभएकाले सुनसान रहेका पार्टी प्यालेस अहिले दाहाल–नेपालका कार्यकर्ताले भरिभराउ छन्। 

कृष्णभोग पार्टी प्यालेसमा सर्लाहीबासीसँग फरकधारले कुरा गरेको छ। हामीसँगको कुराकानीका क्रममा उनीहरुले  आफूहरु जुलुसमा मात्रै आएको तर अरु थाहा नभएको बताएका छन्। 



यो पार्टी प्यालेसमा बसेका अधिकांशले जुलुसमा आएको तर अरु केही थाहा नभएको जवाफ दिए। सर्लाहीको हरिपुर नगरपालिका, लक्ष्मीपुर निवासी करिब ५० वर्षीया सकिना खातुनले जुलुसमा मात्रै आएको बताइन् । उनले भनिन्, ‘हाम्रो मेयर साहेबले जुलुसमा हिँड्न भन्नुभयो, हामी आयौँ । के का लागि ल्याइयो केही थाहा छैन । हामी त सोझा मान्छे हौँ।’ 

स्थानीय नेकपा नेता तथा हरिपुर नगरपालिकाका मेयर जमरोदिन मन्सुरले उनीहरुलाई काठमाडौं ल्याएका हुन्। उनैले बस भाडा तिर्ने र खानासमेत खुवाउने भनेपछि आएको खातुनले बताइन्। 

त्यही नगरपालिकाकी अमरुल खातुनलाई पनि अरु थाहा छैन। उनले भनिन्, ‘मेयर सा’बले भने काठमाडौं जानुपर्छ भनेपछि हामी आयौं । हाम्रो अधिकार खोसिएकाले रक्षाका लागि आयौँ ।’

नेताले भनेपछि आयौँ

सर्लाहीको हरपुरवाका मिठु पण्डित र हृदेव साह पनि त्यही  कुरा बताउँछन्। दुवैजना नेकपाको जुलुसमा आएको बताउँछन् । मिठु पण्डितले भने, ‘हाम्रो स्थानीय नेताले भिड देखाउनु छ भन्नुभयो, हामी आयौँ । अरु केही थाहा छैन। खाना खाएर जुलुसमा जान्छौँ, अनि साँझ फेरि फर्किन्छौं, बस यति थाहा छ।’ उनका स्थानीय नेता हुन्, जगेसर राय । ‘उनको कुरा काट्न नसकेर आएका हौं,’ उनले भने ।  

घुम्न आयौँ

सर्लाहीकै संग्रामपुरका सञ्जय मण्डल काठमाडौं घुम्न आएको बताउँछन्। ‘मलाई प्रतिगमन केही थाहा छैन। जुलुसमा मात्र आएको हुँ’, उनले भने, ‘नेताले भनेपछि आएका हौं।’ स्थानीय नेता सुधीर झाले भनेपछि काठमाडौं आएको उनले बताए।

पहिलो पटक काठमाडौं

यही गाउँका गुलाम अन्सारी यसअघि कहिल्यै काठमाडौं आएका थिएनन्। त्यहीकारण काठमाडौं हेर्ने रहर पूरा गर्न उनले यो मौकालाई सदुपयोग गरे। 

‘म कहिल्यै काठमाडौं आएको थिइनँ, त्यसैले घुम्न आएको हुँ’, उनले भने, ‘गाडी भाडा नतिरी सित्तैमा खाना समेत मिल्ने भएपछि जुलुसको बहानामा काठमाडौं हेर्न आएँ।’
अहिले दाहाल–नेपाल समूहले विरोध प्रदर्शन गरिरहेको छ । यो समूहले तराई–मधेससहित देशका अधिकांश भागबाट कार्यकर्ता र सर्वसाधारणलाई बस रिजर्भ गरेर ओसारेको छ। तर काठमाडौं आइपुगेकाहरु किन ल्याइयो भन्ने थाहा नभएको बताउँछन्। 

  • प्रकाशित मिति : माघ २८, २०७७ बुधबार १४:३१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया