आगामी २० वर्षभित्र व्यवस्थित सहर सहितको राजधानी बनाउने योजनाका साथ पूर्वाधार विकास प्राधिकरणले काम थालेको छ । गत असोज २० गतेको प्रदेश सभाले राप्ती उपत्यकाको देउखुरीलाई स्थायी राजधानी बनाउने निर्णय गरेसँगै यो प्रक्रियाको थालनी भएको हो ।
प्राधिकरणको योजना अनुसार लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको क्षेत्र राप्ती गाउँपालिका, गढवा गाउँपालिकाको वडा नं. १, २ र ३, अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ८ र ९ को जग्गा बिक्री–वितरणमा रोक लगाइएको छ ।
प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयाँका अनुसार अहिले मास्टर प्लान बनाउने कन्सल्टेन्सी छनोटको काम चलिरहेको छ । कन्सल्टेन्सी छनोटको प्रक्रिया पूरा गर्न दुई महिना लाग्ने उनले बताए । त्यसपछि बाँकी ६ महिना मास्टर प्लान बनाउन लाग्ने जानकारी पनि उनले दिए ।
‘राजधानी कस्तो बनाउने ? कहाँ केकस्ता भवन र पूर्वाधार निर्माण गरिने भन्ने काम अबको ८ महिनामा सकिने छ’, मजगैयाँले भने, ‘त्यसपछि ल्यान्डपुलिङको प्रक्रिया सुरु हुनेछ ।’ राजधानीको मास्टर प्लान र डिपिआरको काम प्राधिकरणले गरिसकेको उनले जानकारी दिए । जसका लागि देउखुरीको बिजौरीमा प्राधिकरणकोे कार्यालय स्थापना गरी काम अघि बढाउनेको उनको भनाइ छ । जसका लागि सरकारले एक करोड बजेट विनियोजन गरेको छ ।
प्रत्येक वर्ष नयाँ–नयाँ पूर्वाधार
प्रदेश राजधानीको गुरुयोजना काम सकिए लगत्तै प्राधिकरणले पूर्वाधार विकासलाई थप गर्दै लैजाने योजना बनाएको छ । देउखुरीलाई आगामी २० वर्षभित्र व्यवस्थित सहर सहितको राजधानी बनाउने लक्ष्य सरकारले राखेको छ । जसका लागि आवश्यक बजेट व्यवस्थापन र दातृ राष्ट्रको सहयोग खोजी गरिरहेको मजगैयाँको भनाइ छ ।
‘स्रोत जुटाउने जिम्मेवारी प्रदेश सरकारको हो । सरकारले बनाउन सक्ने पूर्वाधार आफ्नै लगानीमा बनाउनेछ’, उनले भने, ‘हरेक वर्ष पूर्वाधार थप्दै जाने भएकाले स्रोतको अभाव हुने छैन । जसका लागि सरकारले दातृ निकायसँग समन्वयको प्रयास गरिरहेको छ ।’
नदी किनारमा सहर
लुम्बिनी प्रदेशको स्थायी राजधानी नदी सभ्यतामा आधारित सहर र राजधानीका रूपमा विकास गर्ने लक्ष्य प्रदेश सरकारको छ । विकसित मुलुकमा पनि सहर तथा राजधानी नदी सभ्यतामा आधारित रहेकाले लुम्बिनी प्रदेशको स्थायी राजधानीलाई नमुना योग्य सहरका रूपमा विकास गर्न राप्ती नदीको किनारमा ल्याइएको मजगैयाँले बताए ।
राप्ती नदीको दुवै किनारलाई व्यवस्थित तटबन्ध गरेर सडक र हरियाली क्षेत्र बनाइने छ । राप्ती नदीमा कलात्मक सिक्नेचरसहितका पक्की पुल निर्माण गरिने छ । राप्ती नदीको बहाबलाई निरन्तरता दिन दाङ र प्यूठानको सिमानामा राप्ती नदीमा जलाशय बनाइने मजगैयाँले बताए । राप्ती नदीको डुबान क्षेत्रलाई निकास क्षेत्रका रूपमा विकास गर्दै खुला र फराकिलो सडक, व्यवस्थित ढल निकास र नदी किनारमा सुन्दर सहर बन्ने लगायतका योजना उनले सुनाए ।
लुम्बिनी प्रदेश भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले ल्यान्डपुलिङ्गको अवधारणाबाट राजधानी निर्माण गरिने जानकारी दिए । ‘ल्यान्डपुलिङ्गबाट राजधानीको संरचना बनाउने हो । चाँदीबाट सुरुवात गर्दै छौं, हिरा बनाएर हस्तान्तरण गर्छाैं’, उनले भने, ‘प्रदेश राजधानी बनेपछि पहिला पूर्वाधार विकास प्राधिकरणको कार्यालय स्थानान्तरण भएको छ । अब बिस्तारै संसद भवन, मन्त्रालय, अन्य कार्यालय आउनेछन् ।’
प्राविधिक शिक्षालयमा प्रदेश सभा
राप्ती प्राविधिक शिक्षालयलाई गोवरडिहा माविमा स्थानान्तरण गरी प्रदेश सभाका लागि शिक्षालयको भवन प्रयोगमा ल्याइनेछ । शिक्षालय स्थानान्तरणको काम तिव्रताका साथ अघि बढेको छ । सभा हल बनाउन ६ करोड बजेट विनियोजन भएको मजगैयाँले जानकारी दिए । शिक्षालयको हाताभित्र ठूलो सभा हल बनाउने र त्यहाँ प्रदेश सभाको बैठक सञ्चालन गरिनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।