खानेतेलको मूल्य घटाउन उद्योगी सहमत
पहिलेकै अवस्थामा फर्किएला त मूल्य ?

लकडाउन सकिएलगत्तै निरन्तर उकालो लाग्दै अप्रत्यासित रुपमा बढेको खानेतेलको मूल्य घटाउन उद्योगी सहमत भएका छन् । दैनिक उपभोग्य वस्तु खानेतेलको मूल्य पछिल्लो ३ महिनाको अवधिमा प्रतिलिटर न्यूनतम २० देखि ६० रुपैयाँसम्म वृद्धि भएको छ । सो अवधिमा बढेको तेलको मूल्य घटाउन उद्योगी सहमत भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ । 

केही दिनअघि विभागमा भएको उद्योगीबीचको सहमतिअनुसार अहिले विस्तारै खानेतेलको मूल्य घटाउन थालेको विभागका महानिर्देशक नेत्रप्रसाद गौतमले बताए । ‘विगतमा खानेतेलको मूल्य अप्रत्याशित रुपमा बढेको गुनासो आएपछि हामी अनुगमनमा निस्केका थियौं,’ उनले भने, ‘अनुगमनको क्रममा तेलको मूल्य बढेको पाइयो ।’ उद्योगीसँग छलफल गरी तेलको मूल्य घटाउन सहमति गराएका उनको भनाइ छ । 

उद्योगीलाई नै कारबाहीको तयारी

विभागले विगतका दिनमा गुनासो आउनासाथ अनुगमन गरी खुद्रा व्यापारीलाई कारवाही गर्ने परम्परा पनि यस पटक तोडिएको छ । यसपटक विभागले उद्योगीलाई नै कारवाहीको दायरामा ल्याउने तयारी गरेकाले पनि उद्योगी मूल्य घटाउन सहमत भएको सुवेदी बताउँछन् । खानेतेलको मूल्य नियन्त्रणका लागि विभागले आधा दर्जन उद्योगमा अनुगमन गरेको थियो । 

वाणिज्य विभाग र उद्योगीबीच खानेतेलको मूल्य फिर्ता लिने सहमति भएको नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । अब खानेतेलमा पहिलेकै मूल्य कायम हुने श्रेष्ठको भनाइ छ । 

कति बढ्यो मूल्य ?



नेपाल खुद्रा व्यापार संघका अनुसार पछिल्लो तीन महिनाको अवधिमा खानेतेलको मूल्य प्रतिलिटर ६० रुपैयाँसम्मले बढेको छ । संघले दिएको जानकारी अनुसार तोरीको तेलको मूल्य सबैभन्दा बढी छ । 

बजारमा विभिन्न ब्राण्डका तोरीको तेल उपलब्ध छ । केही समय अगाडिसम्म प्रतिलिटर २ सय ३० रुपैयाँ पर्ने तोरीको तेलको मूल्य अहिले २ सय ९० रुपैयाँसम्म पुगेको छ । त्यस्तै, सूर्यमूखी तेलको मूल्य पनि उत्तिकै रुपमा बढेको छ । बजारमा उपलब्ध हुने ब्राण्डअनुसार तेलको मूल्य वृद्धि भएको संघको भनाइ छ । बजारमा सूर्यमूखी तेलको मूल्य प्रतिलिटर २५० देखि २८० रुपैयाँसम्म पुगेको छ । अहिलेको सबैभन्दा सस्तोमा पाइने भटमासको तेलको मूल्य पनि बढेर प्रतिलिटर २३० रुपैयाँसम्म पुगेको संघले बताएको हो । 



किन बढ्यो मूल्य ? 

खानेतेलको मूल्य नेपालमा मात्रै नभएर विश्व बजारमा नै बढेको उद्योगीको दाबी छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेका कारण खानेतेलको मूल्य वृद्धि भएको उनीहरूको तर्क छ । अझ विश्व बजारमा तेलको मूल्य बढे अनुरुप नेपालमा नबढेको उद्योगीहरूको दाबी छ । उद्योगीका अनुसार नेपालको तुलनामा भारतमा पछिल्लो समय खानेतेलको मूल्य निकै बढेको छ ।

नेपालले खानेतेलको कच्चा पदार्थ (सूर्यमुखी, तोरी र भटमास) दक्षिण अमेरिकी मुलुक अर्जेन्टिना र ब्राजिलबाट ल्याउने गरेको छ । नेपालका तेल उत्पादक उद्योगहरूले ती देशबाट ल्याएको कच्चा पदार्थ प्रशोधन गरेर तेल बनाउँदै आएका छन् । अन्तर्राष्ट्रिय बजारमा नै कच्चा पदार्थको मूल्य वृद्धि हुँदा नेपालमा तेलको मूल्य बढ्नु स्वाभाविक नै रहेको उनीहरू बताउँछन् । 

केही समय अघिसम्म सात सय डलर पर्ने कच्चा पदार्थको मूल्य अहिले बढेर एक हजार ४० डलर पुगेको उद्योगीहरू बताउँछन् । त्यस्तै, लकडाउनपछि खुलेको अन्तर्राष्ट्रिय सिपिङ कम्पनीहरूले अचानक ढुवानी मूल्य बढाएपछि तेलको मूल्य बढाउनु परेको उद्योगीहरू अर्को तर्क रहेको छ । 

त्यस्तै उद्योगीले विभागलाई दिएको जानकारी अनुसार बन्दरगाहमा काम गर्ने कामदारको ज्याला बढ्दा  कच्चा पदार्थको मूल्य बढेको कारण पछिल्लो समय उत्पादित तेलको लागत बढेको हो ।  

तर, पछिल्लो समय सिपिङ कम्पनीको ढुवानी भाडा र दक्षिण अमेरिकी मुलुकका बन्दरगाहका कामदारको ज्यालामा केही कमी आएकाले मूल्य घट्ने विभागको दाबी छ । विभागका प्रवक्ता शिवराज सुवेदीले अन्तर्राष्ट्रिय बजारमा ढुवानी र कामदारको मूल्य घट्दा नेपालका उद्योगहरूले पनि मूल्य घटाउन सहमत भएको बताएका छन् । 

विभागमा उद्योगीले जनाएको सहमतिअनुसार एक महिनाभित्रमा मूल्य घट्ने भएको छ । घटेको मूल्यमा ल्याएको कच्चा पदार्थबाट तेल उत्पादन गरेर बजारमा आइपुग्दा कम्तीमा एक महिना समय लाग्ने उद्योगीले बताएका छन् । 
 

  • प्रकाशित मिति : माघ २८, २०७७ बुधबार १७:१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया