भागरथी हत्या प्रकरण : आँसुमा डलरको खेती गर्न युट्युबरको ओइरो

बैतडीको डोगडाकेदार गाउँपालिका ७ चडेपानीकी द्रोपतीको भोक निद्रा हराएको आठ दिन भयो । गत बिहीबार बलात्कारपछि हत्या गरिएकी भागरथीकी आमा द्रोपतीको बोली फुट्न सकेको छैन ।

पति वियोगको पीडा नथामिँदै छोरी गुमाएकी उनी घरी–घरी छोरीलाई नै बोलाउँदै भक्कानिन्छिन् । 

लाउँलाउँ खाउँखाउँ भन्ने उमेरकी छोरी सधैंका लागि गुमाएकी उनको बोलीसमेत फुट्न सकेको छैन । 

छोरीको हत्या कसरी भयो उनलाई केही पनि थाह छैन । तर, संघीय राजधानी लगायत विभिन्न ठाउँबाट बैतडी पुगेका युट्युबरका नानाथरि प्रश्नले झनै पीडा थपिएको छ ।

उनलाई भेट्न युट्युबर मात्र नभएर मानवअधिकार आयोग, राज्यका विभिन्न निकाय, सांसदहरूको लाइन छ । उनलाई भने बोल्न फिट्टिक्कै मन छैन ।

भागरथीका बुबाको मृत्यु भएको दुई महिना पनि भएको छैन । भारतमा मजदुरी गरेर परिवारको खर्च टार्दै आएका बुबाको मृत्युपछि भागरथीका दाइ हालै मात्र मजुदरी गर्न भारत गएका थिए । गाउँका अरू महिलाहरूले द्रोपतीलाई सम्हाल्ने कोसिस गरिरहेका छन् । रोजगारीका सिलसिलामा भारतको दिल्लीमा रहेका जेठा छोरा फर्किसकेका छन् । घर खर्च चलाउन र बहिनीको पढाइ खर्च जुटाउन समस्या भएपछि कक्षा १० मा पढ्दापढ्दै उनी भारत पसेका थिए ।



बुवाको किरियामा बसेकी आमालाई भागरथीले नै घरको सबै काममा सघाउने गरेकी थिइन् । उनको खुसीमाथि कुन पापीले आँखा लगायो । बलात्कारपछि उनको हत्या गर्ने दानव को थियो ? स्थानीयले गुनासो गरे ।

भागरथीको बलात्कारपछि हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहे पनि न्याय पाउनेमा पीडित पक्ष विश्वस्त हुन सकेका छैनन् । उनीहरूले भागरथीको बलात्कारपछि हत्या गर्ने जो कोहीलाई पनि दण्डित गर्नुपर्ने माग राखेका छन् ।



दुई दिदीको बिहे भइसकेकाले घरमा उनी मात्र आमाकी साथी थिइन् । द्रोपतीलाई सहयोग पुगेका जो कोही पनि अपराधीलाई कारबाहीको माग गर्छन् । ‘राहतभन्दा पनि छोरीका हत्यारालाई खोजेर कारबाही गरिदिनुहोस,’ घरमा राहत दिन पुगेकाहरूलाई आँशु झार्दै द्रोपती भन्छिन्, ‘मेरी किशोरी छोरीलाई लुछेर निर्मम हत्या गर्ने व्यक्तिलाई कारबाही भए मलाई अरुथोक केही चाहिँदैन ।’

भारतबाट घर पुगेका छोरा केशवले हाल आमालाई सम्झाइरहेका छन् । तर, बहिनीका हत्यारालाई कारबाही हुने कुरामा स्वयम् केशव पनि विश्वस्त हुन सकिरहेका छैनन् । 

‘कञ्चनपुरकी निर्मला पन्तको जघन्य हत्या भएको घटना लामो समयदेखि ओझेलमा छ । सरकारले छानबिन गरेर दोषी पत्ता लगाउँदै न्याय दिन्छ भन्ने आशा पटक्कै छैन’, केशवले भने र उनले बहिनीको हत्यारालाई कारबाही नभएसम्म गाउँमा सन्त्रास कायमै रहने बताए ।

चडेपानी र आसपासका बस्तीमा किशोरीहरूलाई एक्लै विद्यालय पठाउन, मेलापात र पानी पँधेरोमा पठाउन नसकिने अवस्था सिर्जना भएको स्थानीयको भनाइ छ । भागरथीको शव अझै अस्पतालमै छ । शनिबार शव परीक्षणको काम सम्पन्न भएको भए पनि आफन्तले शव बुझ्न मानेका छैनन् ।

घटनाको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी, एसएसपी जनकराज पाण्डेय सहित केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी पञ्चकुमार बाँखुसहितको टोलीले घटनास्थलमै पुगेर अनुसन्धान गरिरहेकाले केही आशा बढेको भए पनि सर्वत्र सन्त्रास कायमै रहेको स्थानीय घनश्याम भट्टले बताए ।

घटनास्थलदेखि तीन किलोमिटर टाढा रहेको खोचलेकस्थित प्रहरी चौकीमा बसेर उच्च पदस्थ प्रहरी अधिकारीको टोलीले अनुसन्धान गरिरहेको छ । बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले शंकास्पदहरूको ‘क्लोज रिङ’ बनाएको जनाएको छ । प्रहरीका अनुसार विभिन्न तथ्य र सूचनाका आधारमा शंकास्पदहरूको ‘क्लोज रिङ’ बनाइएको छ । घटनामा नजिककै व्यक्तिको संलग्नता हुनसक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी सुवेदीले सूक्ष्म रुपमा घटनाको अनुसन्धान अघि बढिरहेको बताउदै ढिलोचाँडो अनुसन्धान सफल हुने विश्वास व्यक्त गरे । ‘क्लुहरू भेटिएका छन् । छिटै अपराधीसम्म पुग्छौं । विभिन्न कोणबाट अनुसन्धान जारी छ । मृतक किशोरीको ‘भेजाइनल स्वाब’ र केही सामग्री अनुसन्धानका लागि विधि विज्ञान प्रयोगशालामा पठाएका छौं’, उनले भने ।

प्रहरीका अनुसार कम्तीमा पनि ३ दिन भित्र भागरथीको बलात्कारपछि हत्या प्रकरणमा संलग्नको पहिचान हुने सम्भावना प्रबल छ ।

घटनामा संलग्नको पहिचान गरी शिघ्र कारबाहीको दायरामा ल्याउन बैतडीसहित विभिन्न ठाउँमा दैनिकजसो प्रदर्शन भइरहेका छन् ।

दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भट्ट गत बुधबार विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी थिइन् । भोलिपल्ट साँझ स्थानीय लबलेक सामुदायिक वनमा बलात्कारपछि हत्या गरेको अवस्थामा उनी मृत फेला परेकी थिइन् । 

तस्बिर : सामाजिक सञ्जाल ।

  • प्रकाशित मिति : माघ २८, २०७७ बुधबार १८:१०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया