यही फागुन १ गते तुलसीपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा अध्यक्ष पदका लागि तीन जना चुनावी मैदानमा छन् । प्रजातान्त्रिक प्यानलबाट टेकनप्रसाद बस्नेत (हिमाल) र नेकपाका तर्फबाट साझा उम्मेदवार रामप्रसाद चालिसे निर्वाचन होमिएका छन् । हिमाल २०५२ सालदेखि व्यापारिक यात्रामा प्रवेश गरेका हुन् । उनी संघको एक कार्यकाल अध्यक्ष भइसकेका छन् । चालिसे २०६४ सालदेखि तुलसीपुरमा व्यावसाय यात्रा सुरु गरेका हुन् । उनी संघको वर्तमान कार्य समितिको वरिष्ठ उपाध्यक्ष हुन् । यी दुई प्रत्यासीसँग फरकधारका लागि गिरिराज नेपालीले आसन्न चुनाव सम्बन्धमा गरेको कुराकानीको सम्पादित अंश :
यही फागुन १ गते संघको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । प्रजातान्त्रिक प्यानलका तर्फ तपाई निर्वाचन होमिँदै हुनुहुन्छ । निर्वाचन तयारी कस्तो छ ?
निर्वाचनको शतप्रतिशत तयारी पूरा गरेर नै हामीले निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका हौं । पूर्ण रूपले तयारीका साथ अघि बढेका छौं । उम्मेदवारी दर्तापछि हामीले चुनावी प्रचारप्रसार तिव्र रूपमा गरिरहेका छौं ।
तपाईंका चुनावी एजेन्डा के–के छन् ?
विगतमा म एक कार्यकाल अध्यक्ष भइसकेको छु । जतिबेला म नेतृत्वमा थिएँ त्यतिबेला व्यावसायिक तथा औद्योगिक विकास र व्यावसायिक एकताका सवालमा थुप्रै योजना अघि सारेको थिएँ । जे–जति योजना थिए, ती कार्यान्वयनका लागि चुस्त दुरुस्त बनाउँदै हामी अघि बढेका थियौं । मेरो नेतृत्वपछि अन्य धेरै साथीहरूले काम गर्नुभयो ।
उहाँहरूले केही काम त गर्नुभयो तर व्यवसायीको सवालमा अझै केही काम बाँकी छन् । त्यो के हो भने, व्यावसायिक एकता । अहिले व्यवसायी व्यवसायी बीचको दूरी फाटेको छ । जसका कारण व्यवसायीहरू हक अधिकारका सवालमा एउटै स्वरमा त छन् । तर भावनात्मक एकता अझै भएको छैन । व्यावसायिक एकता नै अहिले मेरो प्राथमिकता हो । व्यावसायिक एकताको मालामा बाँध्दै, स्थानीय विकास र व्यावसायिक सुशासन मजबुत बनाउँदै व्यावसायिक एकता मेरो पहिलो काम हो ।
यी कामले तपाईंको अघिल्लो कार्यकालमा प्रमुखता पाएनन् । तपाईंले अघि सारेको अबको एजेन्डाले पनि पूरा हुने विश्वास व्यवसायीहरू गर्लान् त ?
विगतको जिम्मेवारीमा पनि मैले यी कामलाई प्राथमिकता भित्र राखेको थिएँ । तर जतिबेला अहिलेको जस्तो राजनीतिक स्थिरता, व्यावसायिक विकास र समृद्धिले प्राथमिकता पाएको थिएन । जतिबेला म नेतृत्वको जिम्मेवारी रहँदा सशस्त्र द्वन्द्व चरम उत्कर्षमा पुगेको थियो । सबै नागरिक शान्ति सुरक्षाको खोजीमा थिए । हामीले पनि व्यावसायी सुरक्षा र विकासका सवालमा काम गरिरहेका थियौं ।
हामीले सोचे अनुरुपको व्यावसायिक क्षेत्रमा काम गर्न नसकेको निश्चित हो । मेरो नेतृत्वमा मैले सोचेको व्यावसायिक हक अधिकार र एकताका सवालमा बाँकी रहेको ती कामलाई पूरा गर्न नै म अहिले पुनः संघको नेतृत्वमा अघि सरेको हुँ । त्यो विश्वास अधुरा रहेका बाँकी कामलाई पूरा गर्ने दृढताका साथ अघि बढेकाले व्यवसायीहरू ढुक्कका साथ म सहित मेरो प्यानललाई विजयी गराउनु हुने म विश्वस्त छ । मैले काम गर्न र नेतृत्व समाल्न सक्छु भन्ने कुराको बोध व्यवसायीहरूमा पनि छ ।
व्यवसायीहरूको एकतालाई मजबुत बनाउँदै व्यावसायिक अधिकार स्थापित गर्न, व्यावसायिक शान्ति सुरक्षा र सुदृढीकरणका लागि हामी नयाँ योजना र लक्ष्यका साथ अघि बढेका छौं । यी काम अबको मेरो नेतृत्वले पूरा गर्ने छ भन्ने विश्वास व्यवसायीमा छ ।
तपाईं व्यावसायिक हक अधिकारका कुरा गर्नुहुन्छ । तर, तुलसीपुर क्षेत्रमा व्यावसायिक असुरक्षाका गुनासा त पुरानै हुन् नि होइन ?
हो तपाईंले भनेको कुरा ठिकै हो । यो तुलसीपुर क्षेत्रका व्यवसायीहरूको पुरानै रोग हो । व्यवसायीहरूले शान्ति सुरक्षाको प्रत्याभूति गर्न पाएका छैनन् । यसमा दुई मत छैन । हामीले विगतदेखि व्यवसायीहरूको सुरक्षाको माग र त्यसलाई सफल बनाउन के गर्नुपर्छ भन्ने स्थानीय प्रहरी प्रशासनसँगको छलफल तथा आन्तरिक गृहकार्य समेत संघले विगतदेखि नै गर्दै आइरहेको छ ।
अब हामीले व्यावसायिक विकासका सवालमा कुरा उठाउँदै गर्दा व्यावसायिक सुरक्षाको ग्यारेन्टी भएमा मात्रै व्यावसायिक सार्थकता पाउने छ । जसका लागि हामीले भयरहित वातावरणमा व्यवसाय सञ्चालनको वातावरण निर्माण गर्न सकिन्छ । जसले तुलसीपुरको औद्योगिक तथा व्यावसायिक विकास फड्को मार्नेछ ।
तुलसीपुरमा औद्योगिक तथा व्यावसायिक विकासमा ठूला लगानी कर्ताको नजर त्यत्ति पुग्न सकेन भन्छन् । जसको कारण व्यावसायिक असुरक्षा हो कि ? अन्य कुनै कारण होला ?
तुलसीपुर क्षेत्रको व्यावसायिक विकास लागि टरिगाउँ विमान स्थलको स्तरोन्नति अति आवश्यक छ । स्थानीय सरकारसँगको समन्वयमा विमान स्थल सुचारु गर्न उद्योग वाणिज्य संघले ठूलो भूमिका निर्वाह गरेको छ । अब नयाँ नेतृत्वले यसको स्तरोन्नतिका लागि स्थानीय सरकारसँग समन्वय गर्नेछ । तुलसीपुर लुम्बिनी र कर्णाली प्रदेशको पहाडी जिल्लाको व्यापारिक केन्द्र पनि हो । तुलसीपुर क्षेत्रको औद्योगिक तथा व्यावसायिक विकास सम्भव पनि छ । जसका लागि विमानस्थलको स्तरोन्नतिको काम बाँकी छ । तुलसीपुर क्षेत्रमा ठूला लगानी कर्ताको नजर नपुगेको पनि होइन । यहाँ देशकै ठूलो सिमेन्ट उद्योग मध्येको एक उद्योग सञ्चालित छ । तर, अब यहाँको व्यावसायिक सुरक्षालाई बलियो बनाउन आवश्यक छ । त्यो हाम्रो पहल निरन्तर हुनेछ । लगानी कर्ता भित्र्याउन पनि हामीले पहल गर्ने छौं । गरिरहेका पनि छौं । यो कुरा सबैले बुझ्न जरुरी छ कि तुलसीपुरको औद्योगिक तथा व्यावसायिक विकासका लागि उपयुक्त स्थान हो । जसको नयाँ गन्तव्य हामीले कोरिरहेका छौं ।
चुनावी सरगर्मी बढेको छ । नेकपाका तर्फ साझा उम्मेदवार का रूपमा उभिनु भएको छ । तयारी कस्तो छ ?
मैले आजभन्दा आठ/नौ महिनाअघि नै उम्मेदवारीको घोषणा गरिसकेको थिएँ । वर्तमान कार्य समितिको वरिष्ठ उपाध्यक्षको नाताले अबको अध्यक्षको पालो मेरो नै हो । हामीले निर्वाचनका लागि भरपुर तयारी गरेका छौं । चुनावी प्रचारप्रसारसँगै व्यावसायी मतदातासँग भेटघाट भइरहेको छ । म नेतृत्व समाल्छु भन्दा साथीहरूले स्वीकार गरेको नाताले म उभिएको हुँ ।
तपाईंको चुनावी एजेन्डाहरू के–के छन् ? के ती एजेन्डाहरूले सार्थकता पाउलान् ?
मैले कोभिडका मारमा परेका व्यवसायीको लगत संकलन गरी उनीहरूको समस्या समाधानका लागि संघले गर्न सक्ने कामलाई प्राथामिकतामा राखेको छु । कोभिडका कारण अधिकांश व्यवसायीहरू पीडित हुनुहुन्छ । कोभिडको मारमा परेको व्यवसायीको व्यावसायिक विकासका लागि वित्तीय संघसंस्थाको सहकार्यमा सहुलियत कर्जादेखि लगानी प्रवर्द्धनका योजना मैले अघि सारेको छु ।
न्यूनतम व्याजदरमा लगानी उपलब्ध गराउने छु । त्यो मात्रै होइन हामीले अहिले एक हजार क्षमताको सभा हल निर्माण गरेको छौं । त्यो हाम्रा लागि सफलताको कुरा हो । अबको काम भनेको स्थानीय उत्पादन वस्तु प्रदर्शनीका लागि प्रदर्शनी हल निर्माणको सोच अघि सारेको छु । जसले स्थानीय औद्योगिक तथा कृषि उपजलाई प्राथमिकतामा राख्नेछ ।
तुलसीपुरको औद्योगिक तथा व्यावसायी विकासमा ठूलो टेवा पुर्याउनेछ । जसले निश्चित रूपमा सार्थकता पाउनेछ । किनकि आजसम्म मैले व्यापारीहरूकै पक्षमा काम गर्दै आइरहेको छु । यी मेरा स्वविवेकका कामहरू होइनन् । यी काम मैले सबैको सुझाव सल्लाह बमोजिम नै अघि सारेको हुँ । यी कामलाई सार्थकता दिन सबैले सहयोग गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु ।
व्यवसायीहरूका समस्या के–के छन् ? ती समस्या समाधानका लागि तपाईंका योजना के छन् ?
मैले अघि पनि भनिसकेको छु । तत्कालको समस्या भनेको कोभिडका कारण आर्थिक व्ययभार खेप्नु परेको समस्या हो । अब रह्यो कुरा व्यावसायिक विकासका लागि हाम्रो नयाँ योजना । नयाँ योजना के छन् भने तुलसीपुर व्यावसायिक विकास लागि लगानीमैत्री वातावरणको सिर्जना कसरी गर्न सकिन्छ भन्ने नै हो । तुलसीपुरले व्यावसायिक विकासका लागि जति फड्को मार्नु पर्ने हो त्यो फड्को अझै मार्न सकिएको छैन । जसका लागि केही राज्यका नीतिमा समस्या, कतै भाडाका समस्या छन् ।
कति व्यावसायी क्षेत्रका समस्या छन् । राज्यको नीतिमा हामीले भोग्दै आइरहेको कुरा कर कै छ अर्थात् राजस्व । कर रहरको कसरी बनाउन सकिन्छ । भन्ने हामीले विभिन्न योजना तय गरेका छौं ।
अझ व्यवसायीको ठूलो समस्या नै व्यावसायिक असुरक्षाको हो । तुलसीपुर सुरक्षाको दृष्टिकोणले अति कमजोर मानिँदै आइरहेको छ । विगतका केही घटना त्यो त्रास व्यापारीमा देखिन्छ । तुलसीपुर क्षेत्रलाई शान्ति सुरक्षामैत्री व्यापार व्यावसायी सञ्चालनमा अग्रसर बनाउन हामीले विभिन्न काम गर्ने तय गरिरहेको छौं । जस्तै : रात्रिकालीन समयमा बजार सञ्चालन कसरी गर्न सकिन्छ । लगानी जोखिम न्यूनीकरणका लागि के के गर्न सकिन्छ । त्यो हामीले गर्ने छौं ।
तपाईंको नेतृत्वदेखि तुलसीपुर क्षेत्रका व्यवसायीहरू शान्ति सुरक्षामैत्री वातावरणमा निर्वाध रूपमा व्यावसाय सञ्चालन गर्न पाउने आशा पूरा हुन्छ ?
हाम्रो चाहना तुलसीपुर क्षेत्रको व्यावसायिक विकासका लागि के के गर्न सकिन्छ भन्ने हो । एउटा लगानी सुरक्षा र अर्काे व्यावसायिक सुरक्षा । हामीले यो कामका लागि निरन्तर संघर्ष गर्दै आइरहेको छौं । यी काम पूरा गर्न हामीले थुप्रै कामहरू गर्दै आइरहेका छौं । मेरो नेतृत्वको कार्य समितिले यी कामलाई प्राथमिकतामा राख्दै व्यावसायिक विकासलाई मजबुत बनाउनेछ ।
अब तुलसीपुरको औद्योगिक तथा व्यावसायिक विकास कस्तो होला ?
तुलसीपुरको औद्योगिक तथा व्यावसायिक विकास क्रमिक रूपमा फेरिँदै आइरहेको छ । जहाँ ठूला लगानी कर्ताको चहल–पहल पनि बढिरहेको छ । तुलसीपुर मुलुकको एउटा व्यापारिक केन्द्र तथा व्यवस्थित सहर मध्येको एक क्षेत्र पनि हो । जसलाई हामीले अन्य व्यापारिक सहरभन्दा पनि फरक तरिकाले विकसित बनाउन खोजिरहेका छौं । जसका लागि पूर्वाधार विकास पहिलो आवश्यकता हो ।
तुलसीपुर क्षेत्रको औद्योगिक तथा व्यावसायिक विकासका लागि हामीले राज्य पुनःसंरचनासँगै स्थापना भएको तीनतहका सरकारसँग आपसी छलफल गर्दै आइरहेको छौं ।
हामीले तुलसीपुरलाई नमुना सहरका रूपमा विकास गर्ने लक्ष्यका साथ व्यावसायिक सुशासन कायम गर्दै औद्योगिक तथा व्यावसायिका विकास समन्वय र सहकार्यको काम पनि अघि सार्ने कामलाई अघि सारेको छौं । जसले तुलसीपुरको औद्योगिक तथा व्यावसायिक विकासलाई अपेक्षाकृत लक्ष्यका सार्थकता पाउने विश्वासका साथ व्यवसायीहरू एकताबद्ध अघि बढ्ने छौं । जसले तुलसीपुरलाई औद्योगिक तथा व्यावसायी रहरको सहर बनाउने छ ।
तुलसीपुर क्षेत्रको औद्योगिक तथा व्यावसायिक विकासका लागि राज्यले बेवास्ता गरेकै हो ?
त्यो होइन, राज्यले तुलसीपुरको विकासका लागि पूर्वाधारमा गर्नुपर्ने आवश्यक लगानी गरेको छ तर कुरा के हो भने औद्योगिक तथा व्यावसायिक विकासमा जति पूर्वाधार विकासको आवश्यकता छ त्यति हुन नसकेको मात्रै हो । किनकि तुलसीपुरमा ठूला लगानीकर्ताको अझै अभाव छ । ठूला होटेल, उद्योगहरू स्थापना हुन सकेको छैनन् ।
ठूला उद्योग नहुँदा पूर्वाधार विकासको आवश्यकता नै पर्दैन । एउटा विमानस्थल छ त्यो पनि सानै छ । लगानी भित्र्याउने, पर्यटक भित्र्याउने ठाउँ नै विमानस्थल हो । हामीले टरिगाउँ विमान स्थल सञ्चालनमा ल्याएका छौं । तर यसको स्तरोन्नति गर्न सकिएको छैन ।
विमानस्थलको स्तरोन्नतिसँगै तुलसीपुरमा पर्यटक भित्रने र स्थानीय उत्पादनका वस्तुले ग्राहक पाउने, पर्यटकहरूको चहल–पहल बढ्नेछ । हाम्रा एउटा काम र ध्यान विमानस्थलको स्तरोन्नती पनि रहनेछ । जसको अभाव व्यवसायीहरूले झेल्नु परिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।