रामकुमारीलाई प्रहरी हिरासतमा पुर्‍याउने गोरखाको त्यो भाषण (भिडियोसहित)
राष्ट्रपतिलाई भनेकी थिइन् : शीतल निवास छाडेर बालकोट गए हुन्छ

माघ १६ गते शुक्रबार अर्थात् सहिद दिवसको दिन। गोरखाको सिरान्चोक गाउँपालिकास्थित चित्रेपोखरी पुगेकी थिइन् दाहाल-नेपाल नेकपाकी नेतृ रामकुमारी झाँक्री। दाहाल-नेपाल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको गृहजिल्लास्थित चित्रेपोखरीमा पुस ५ मा भएको प्रतिनिधिसभा विघटनविरुद्धको जनसभाकी प्रमुख बक्ता थिइन् उनी। झाँक्रीसँगै पुगेका थिए प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि 

चित्रेपोखरीमा 'प्रतिनिधिसभा विघटनको प्रतिगामी कदविरुद्ध जनसभा' नामको विरोध कार्यक्रममा भेला भएका स्थानीयमाझ नारायणकाजीले पनि सम्बोधन गरे। तर त्यहाँ रामकुमारीले सम्बोधन गरेको करिब ४६ मिनेट लामो भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। 

यही भिडियोमा आधारित भएर फरकधारले माघ १७ गते 'रामकुमारीको टिप्पणी : विद्या भण्डारीलाई सेतो साडीमा चुनाव लडाउनु गल्ती थियो', शीर्षक भिडियोसहितको समाचार प्रकाशित भएको थियो। उक्त भिडियो खिचेकी थिइन् गोरखास्थित दाहाल-नेपाल नेकपाकी कार्यकर्ता रेखा तामाङ लोप्चनले। सम्बोधनका क्रममा अधिकांश समय आक्रोशित मुद्रा प्रस्तुत भएकी रामकुमारीको मुख्य निशाना त्यो दिन राष्ट्रपति विद्यादेवी भण्डारी बनेकी थिइन्।

आक्रोश नयाँ होइन 

तत्कालीन नेकपा एमालेमा हुँदा विद्या भण्डारी प्रधानमन्त्री केपी शर्मा ओली गुटकी प्रभावशाली नेतृ थिइन्। उता रामकुमारी माधवकुमार नेपालले नेतृत्व गरेको गुटबाट अघि बढ्दै थिइन्। रामकुमारीले गोरखामा गएर कडा कुरा गरे पनि उनी सांसद हुँदा पनि राष्ट्रपतिबारेमा खरो टिपप्पणी गरिरहेकी थिइन्। खासगरी एकीकरण नै पूरा नभइ फुटेको नेकपाभित्रको विवादमा शीतल निवासमै बसेर 'माइक्रो म्यानेजटमेन्ट'मा जुटेपछि रामकुमारीको आक्रोश बढ्दो थियो। 



नेकपामा ओली हाबी हुँदै गएर नेता नेपाल समूहलाई पूरै माइनस गर्न थालेदेखि रामकुमारीले आलोचनाको स्वर बढाएकी थिइन्। प्रदेशका मुख्यमन्त्री चयनमा ओलीले एकपक्षीय रुपमा पेलेर अघि बढेपछि रामकुमारीसहित नेपाल गुटका नेताहरु आक्रोशित थिए। एमाले त्यागिसकेर पनि पार्टीभित्रका नेताहरुविरुद्ध खेलिरहेपछि रामकुमारीले राष्ट्रपतिलाई पदीय मर्यादा राख्न भन्दै 'महारानी' का रुपमा प्रस्तुत नहुन पनि चेतावनी दिँदै आएकी थिइन्। उनले सामाजिक सञ्जालमा दिने अभिव्यक्तिको प्रमुख तारो पनि उनै राष्ट्रपति र प्रधानमन्त्री बनिरहेका थिए। 



गोरखाको त्यो भाषण 

माघ १६ गते गोरखाको चित्रेपोखरीमा पुगेर झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खड्ग महाराजको संज्ञा दिइन्। उनले त्यहीँ राष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गरेर व्यक्तिगत तहको टिप्पणी गरिन्

बालकोट जानू

सम्बोधनका क्रममा रामकुमारीले राष्ट्रपतिलाई प्रधानमन्त्रीको सहायक मात्रै भएको बताउँदै शीतल निवास छाडेर बालकोट (ओलीको निजी निवास) जान चेतावनी दिइन्। राष्ट्रपतिलाई बडामहारानीको संज्ञा दिँदै उनले टिप्पणी गर्नै लायक नभएको बताइन्। 

'राष्ट्रपतिका कुरा त के गर्नु र? बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शीतल निवासको कारगेट छाडेर कोटेश्वर फर्किए हुन्छ। चाबहिल हो कि कता  घर छ रे! त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ', उनले आक्रोशित मुद्रामा भनेकी थिइन्, 'नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो लड्नु, तर बडामहारानीका लागि म पनि भारी हुन सकौँला। बडामहारानीविरुद्ध यहीँकी रेखा लोप्चन (भाषणको भिडियो खिचिरहेकी स्थानीय नेतृ) लाई चुनाव लडाउँला।'

राष्ट्रपतिले प्रधानमन्त्री ओलीको सिफारिसलाई सोच्दै नसोची स्वीकारिदिएको भन्दै उनले आक्रोश पोखेकी थिइन्। 'जनताको अधिकारमाथि गिद्धे दृष्टि लगाएर शीतल निवासमा बडामहारानीको बास भएको छ। हामीले असंवैधानिक कदम किमार्थ स्वीकार नहोस भनेका थियौँ', उनले भनेकी थिइन्, 'नेकपा एमालेले २०५० सालमा गरेको निर्णय गम्भीर भूल थियो। मदन भण्डारी (विद्या भण्डारी पति) को हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरु गरेको थियो, जे गरेको थियो, त्यसको प्रत्युत्पदाक हो विद्या भण्डारी।'

सेतो साडीले बिगार्यो

झाँक्री यतिमै रोकिएकी थिइनन्, उनले सेतो साडीमा चुनाव लडाउने प्रवृत्तिले पार्टीलाई ठूलो घाटा भएको पनि टिप्पणी गरिन्। सेतो साडीको प्रसंगलाई लिएर राष्ट्रपति भण्डारी पुत्री उषाकिरणले झाँक्रीलाई कडा जवाफ दिएकी थिइन्। 

रामकुमारीलाई उषाकिरणको प्रश्न : मेरी आमाको रातो सारी र सिन्दूर फर्काइदिन सक्नु हुन्छ?

'यदि तपाईंलाई लाग्छ आफ्नो माया आफ्नो जीवनसाथी भन्दामाथि करिअर र महत्वकांक्षा हो भने ठाउँ साटौँ, तपाईं उहाँको सिन्दूर पोते रातो सारी, हाम्रो बुवा, हाम्रो बाल्यकाल फिर्ता ल्याइदिनुस्। अनि तपाईंलाई हामीसँग त्यस्तो नाफा भएको के छ जस्तो लाग्छ लिएर जानुस्', उषाकिरणले जवाफमा भनेकी थिइन्।

फेरि गोरखा नै फर्किऊँ। जहाँ झाँक्रीले विद्या भण्डारीबाट सुरु गरिएको सेतो साडी लगाएर चुनाव लडाउने प्रवृत्ति बेठीक रहेको पटक पटक दोहोर्‍याइन्। 'विद्या भण्डारीलाई जस्तै धरानमा पनि मेयर (तारा सुब्बा) की श्रीमतीलाई सेतो साडीमै उतार्न खोजिएको थियो', उनले भनेकी थिइन्, 'तर सेतो साडीको अभ्यास त्यहाँ हुन नसक्दा उप-निर्वाचनमा नेकपा पराजित भएर कांग्रेसले जित्यो। मेयरकी श्रीमतीलाई टिकट नदिँदा हार्यो भनियो।'

मदनको मृत्युपछि विद्यालाई सेतो साडीमा उतार्नुले पार्टीमा विचार सकिएको भनेर उनले व्याख्या गरेकी थिइन्। 'पार्टीमा विचार सिद्धिएपछि कपाल, नाक, लुगा, देखाएर राजनीति गर्दा कुरो बिग्रिन्छ', उनले भनेकी थिइन्, 'विद्यालाई दोस्रो पटक राष्ट्रपति नबनाऊँ भनेर हामीले नेताहरुको दैलो चाहर्‍यौँ तर हाम्रा कुरा कसैले सुनेनन्। आजको दुर्भाग्य त्यहीकारण हामीले भोग्नु परेको छ।'

ओलीमाथि प्रहार

झाँक्रीले चित्रे पोखरीमै प्रधानमन्त्री ओलीमाथि पनि पटक पटक आक्रमण गरेकी थिइन्। 'प्रधानमन्त्रीको स्तर हेर्ने हो भने उखान टुक्काले कता लैजान्छ, समाजलाई कता लैजान्छ? भनिरहनै पर्दैन। उहाँ रंगकर्मी मात्रै हो', उनले भनेकी थिइन्, 'राजनीतिमा एक प्रकारको डिरेल गर्ने कोसिस गर्नु हुँदैनथ्यो। उहाँको टोपी हेरेर र चुट्किला सुनेर समर्थन गर्नेहरुको कुनै काम छैन।' 

उनले हिजो ओलीलाई लगाम लगाउन नसक्दा अहिलेको संकट आएको बताएकी थिइन्। 'हिजो केपी ओलीलाई लगाम लगाउन नसकेकाले समस्या भयो। हिजो राजाका प्रेतात्माहरू केपी ओलीको रक्षामा जुटेका छन्', उनले अगाडि भनेकी थिइन्, 'हिजोका महामण्डलेहरुले किन साथ दिइरहेका छन्? उनको यो बाटो गलत छ। मतियारहरुले संघीयता विघटन र धर्मनिरपेक्षता हटाउने कुरा गरिरहेका छन्।'

उनले केपी ओलीको चमत्कारले एक्लै दुईतिहाइ ल्याउन सकिन्छ भनिरहेका प्रति पनि कटाक्ष गरेकी थिइन्। 'वडा सदस्य नजितेकाहरु मन्त्री भएका छन्', उनले थपेकी थिइन्, '२०६४ यताको १३ वर्षमा प्रचण्ड एकदमै नरम छन्। उनले समस्या झिकेकै होइनन्, समस्याको पोको त ओली नै हुन्।'

उषाकिरणको जवाफ 

झाँक्रीको टिप्पणीलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारी पुत्री उषाकिरणले माघ १९ मा कडा जवाफ फर्काइन्। नेतृ झाँक्रीले मदन भण्डारीको मृत्युपछि सेतो साडी ओढेर राजनीतिक फाइदा लिएको आक्षेप लगाएपछि गल्ती सेतो सारीमा नभएर दृष्टिकोणमा भएको बताएकी थिइन्। 'रामकुमारी झाँक्रीलाई आफ्नो युवा नेता मान्नेले सुनाइदिनु', उनले भनेकी थिइन्, 'गल्ती सेतो सारीमा होइन, गल्ती दृष्टिकोणमा छ।'

उषाले आफ्नी ममीले पति गुमाउँदाको अकल्पनीय घटना सामना गरेर शोकमा डुबिरहँदा कहिल्यै पनि प्रश्न नगरेको भन्दै रामकुमारीलाई सोधेकी थिइन्, 'तपाईं कम्युनिष्ट स्कुलिङको हो भने सांस्कृतिक आन्दोलन कति पेचिलो हुन्छ बुझ्नु पर्ने, मेरो ममी एउटा अकल्पनीय घटना सामना गर्दै हुनुहुन्थ्यो, तपाईं सेतो सारीको कुरा गर्नु हुन्छ, हाम्रो घरमा सेतो तन्ना, सेतो सोफा सेतै भित्ता थिए। उहाँले ड्याडीलाई मनपर्ने खाना-अचार बनाउन छोड्नुभयो। उहाँका स-साना छोरीहरू हामीले प्रश्न उठाएनौँ, तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो?'

उनले पीडाको सामना गर्ने बाटो हरेकको अलग अलग हुने उनले झाँक्रीलाई सम्झाएकी थिइन्। 'शोकसँग जुध्ने हरेकको आफ्नो आफ्नो बाटो हुन्छ। जुन बाटो स्वयम् त्यो व्यक्तिले पनि रहरले रोजेको होइन। हरेक कुरा नाफा र नोक्सानमा तुलना गर्न सकिँदैन', उनले भनेकी थिइन्।

झन् आक्रोशित रामकुमारी 

माघ १९ मै  झाँक्रीले उषाकिरणलाई तत्कालै जवाफ दिइन्। उषाकिरणलाई जवाफ फर्काउँदै झाँक्रीले झन् कडा शब्दसहित सामाजिक सञ्जालमा अभिव्यक्ति दिएकी थिइन्। 

'यो व्यवस्थाविरुद्ध संविधानको धज्जी उडाउने काम कसले गर्यो? त्यसविरुद्ध लड्नु हाम्रो कर्तब्य हो। प्रतिगामीको न लिंग हुन्छ, न लैंगिकता, न जात वा धर्म', उनले भनेकी छन्, 'लैंगिक संवेदनशीलता मलाई राम्रोसँग थाहा छ । शासकमा  लैंगिकता जोडी भावनाको कुरा गरेर नबहकिनु नै राम्रो हुन्छ। जब जात वा लिंगको सहारा लिएर सुरक्षित हुन खोजिन्छ नि, त्यो पनि डर लाग्दो अवसरवाद हो।'

फेरि खरो टिप्पणी

बुधबार नेकपा दाहाल-नेपाल नेकपाले गरेको विरोधसभामा रामकुमारी दबंग शैलीमा प्रस्तुत भइन्। झाँक्रीले बुधबार राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्रीको 'एसिस्टेन्ट'को संज्ञा दिइन्। 

'हामीलाई बोल्न पाइँदैन भन्ने कार्यकारी प्रधानमन्त्रीको कोठाको एउटा 'एसिस्टेन्ट' जस्तै भएकी छन् राष्ट्रपति। सरकारले सही गलत जे गरे पनि स्वीकार गरेर निरंकुशता लाद्नेविरुद्ध हामी बोलिरहन्छौँ', उनले भनेकी थिइन्, 'राष्ट्रपति पद हाम्रो बलिदानीले पाएको हो। त्यो संस्थानमा निर्वाचनबाट गएर निरंकुशताको साक्षी बन्छन् भने किन बोल्न पाइँदैन?'

राष्ट्रपतिलाई उनले एउटा खलपात्रको संज्ञा दिइन्। 'एउटा खलपत्रविरुद्ध बोल्दै गर्दा कसले महिला अस्मिता मिच्यो भन्छ?', उनले भनिन्, 'निर्मला पन्तहरु भागरथी भट्टहरु जस्तै बलात्कृत भएकाहरुबारेमा हामीले बोल्न पाइन्छ।' 

सन्की प्रधानमन्त्रीको समर्थन गर्ने राष्ट्रपतिविरुद्ध बोल्दा महिलाको अस्मितामाथि प्रश्न नउठ्ने उनले बताइन्। 'राष्ट्रपति पद एउटा संस्था हो। कुनै पदमा कोही पुग्दैमा उसबारे बोल्दा त्यहाँ लिङ्ग जोडिँदैन, त्यसैले बोल्न पाइन्छ', उनले भनेकी थिइन्, '१८ वर्षसम्म विद्या भण्डारीले प्राइभेट कम्पनी बनाएको अनेमसंघले मैले बोल्दा गृहमन्त्रीलाई गुहारेछ। उनीहरुले दिनदिनै बलात्कृत भइरहेका किशोरी र महिलाबारे बोलून्।'

अनेम संघ गृहमन्त्रालयमा 

झाँक्रीको टिप्पणीलाई लिएर केपी ओलीनिकट अनेमसंघ यही माघ २१ गते गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न सिंहदरबार पुग्यो। सत्तारुढ नेकपाको विवाद अब व्यक्तिगत चरित्र हत्याको तहमा झर्न थालेका बेला ओलीनिकट अखिल नेपाल महिला संघ (ओली समूह) ले झाँक्रीलाई पक्राउ गर्न गृहमन्त्री राम बहादुर थापा बादललाई माघ २१ मा ज्ञापन पत्र बुझायो।

अनेमसंघ संयोजक सीता पौडेलसहितले बुझाएको ज्ञापन पत्रमा यही माघ १६ गते गोरखाको एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति भण्डारीको चरित्र हत्या गरेको आरोप लगाइएको थियो। पत्रमा उनीहरुले झाँक्रीलाई पक्राउ गर्न समेत माग गरेका थिए।

राष्ट्रपति संस्था र त्यसमा आसिन भण्डारीको चरित्र हत्या गर्दै लाञ्छना र गाली बेइज्ज्ती गरेकाले पक्राउ गरी कारबाही गर्नुपर्ने माग गरिएको संघकी नेतृ सुजिता शाक्यले बताएकी थिइन्।

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री थापाले कानुन बाहिर गएर गरिने जुनसुकै काम कारबाहीको भागिदार हुने बताउँदै राष्ट्रपति संस्था र व्यक्तिमाथि अशोभनीय आरोप लगाउनेमाथि कारबाही हुने बताएका थिए।

अनि पक्राउ पुर्जी

सत्तारुढ अनेमसंघले दबाब बढाएपछि झाँक्रीको आपत्तिजनक टिप्पणीबारेको जानकारी प्रधानमन्त्री ओलीसमक्ष पनि पुगेको बताइएको छ। लुम्बिनीका मुख्यमन्त्री पत्नी सुजिता शाक्यसहितका नेतृहरुले लिखित ज्ञापनपत्र बुझाएपछि झाँक्रीमाथि अंकुश लाउन सरकारलाई दबाब बढेको थियो। 

नेकपा दाहाल-नेपालका नेताहरुले प्रधानमन्त्री ओलीकै दबाबमा झाँक्रीलाई पक्राउ गरिएको बताएका छन्। दाहाल-नेपाल समूहका नेता ठाकुर गैरेले शाही शासनकै शैलीमा झाँक्रीलाई प्रहरी लगाएर प्रधानमन्त्रीले पक्राउ गराएको आरोप लगाए।

महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाले राष्ट्रपतिविरुद्ध अशिष्ट टिप्पणीलाई लिएर गृह मन्त्रालयबाटै निर्दशन आएकाले पक्राउ गर्नुपरेको बताएका छन्। राष्ट्रपतिको व्यक्तिगत चरित्र र मर्यादामै आँच आउने गरी बोलेकाले झाँक्रीलाई पक्राउ गर्न गृहबाटै निर्देशन आएपछि उक्त कदम उठाउनुपरेको बताएका छन्। 

सजाय

बिहीबार मध्यान्ह झाँक्रीलाई प्रहरीले शंखमुलस्थित उनकै निवासबाट पक्राउ गरिसकेको छ।  प्रहरीले झाँक्रीलाई समात्न जारी गरेको पक्राउ पुर्जीमा राज्यविरुद्धको कसुर अन्तर्गत दफा ५८ को अभियोग लगाइएको छ । 

त्यो भनेको मुलुकी फौजदारी संहिता २०७४ मा भएको व्यवस्था हो। त्यो ऐनको दफा ५८ को उपदफा(१) मा राष्ट्रपति र संसदलाई कार्यसम्पादन गर्न अवरोध पुर्याउने, रोक लगाउने र धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन हुँदैन भन्ने उल्लेख छ। 

‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन हुँदैन’ दफा ५८ को उपदफा १ मा लेखिएको छ ।

उपदफा(१) अनुसार कसैले कसुर गरेको प्रमाणित भएमा ७ वर्षसम्म कैद वा ७० हजार रुपैँयासम्म जरिवाना वा दुवै  सजाय हुने व्यवस्था दफा ५८ को उपदफा २ मा व्यवस्था गरिएको छ।  

यो अभियोग प्रमाणित भएका नेतृ रामकुमारी झाँक्रीलाई ७ वर्ष कैद हुनसक्ने कानुनी व्यवस्था छ । साथै ७० हजार जरिवाना र दुवै सजाय पनि  हुनसक्ने व्यवस्था  मुलुकी फौजदारी संहिता २०७४ ले गरेको छ। 

हिरासतबाट के भनिन् ?

रामकुमारीले महानगरीय प्रहरी अपराध महाशाखाको हिरासतबाट सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै आफूलाई राज्यविरूद्धका कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको बताएकी छन्। 

'अपराध अनुसन्धान मिनभवनमा छु। सबै साथीहरूले धैर्य गर्नुहोला', उनले भनेकी छन्, 'यो अन्तिम लडाइँ हो।'

  • प्रकाशित मिति : माघ २९, २०७७ बिहीबार १५:३२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया